नवौँ राष्ट्रिय खेलकुदको तयारी घनिभूत

पोखरा । मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले जानकारी दिए । उनले भने, ‘हामी नवौँ राष्ट्रिय खेलकुदको नजिक आइपुगिसकेका छौँ । प्रतियोगिता सुरु हुन अब २० दिन मात्र बाँकी छ । अब बाँकी तयारीलाई घनिभूत रूपमा पूर्णता दिने, कहीँकतै कमी–कमजोरी देखिए सुधार गर्दै समन्वय र सहकार्यलाई बलियो तुल्याइनेछ ।’

प्रतियोगिताका सन्दर्भमा गठन भएका समिति र उपसमितिले आ–आफ्नो कार्य जिम्मेवारीलाई तीव्र तुल्याएको जानकारी दिइएको छ । मन्त्रालयले पनि सरोकारवाला र निजी क्षेत्रसँग छलफल गरी प्रतियोगिताका लागि प्रायोजन गर्ने वातावरण बनाएको छ । राष्ट्रपतिलाई प्रतियोगिता उद्घाटन तथा प्रधानमन्त्रीलाई समारोहमा सरिक हुन मन्त्रालयले केही दिनभित्रै औपचारिकरूपमा अनुरोध गर्नेछ ।

यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकाम पुर्याएर देखाउने काम भइरहेको छ । उक्त ट्रफी केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिकीकरण गरेका थिए ।
सचिव डा रेग्मी भन्छन्, ‘खेलाडीको नाम दर्ता गराउने प्रक्रिया भइसकेको छ, वास्तविक सङ्ख्या परिषद्बाट केही दिनमै सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि आवश्यक सामग्री सार्वजनिक खरिद प्रक्रियाअनुसार नै अघि बढिसकेको छ ।’

खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथिसहित करिब १० हजारको सङ्ख्यामा सहभागी हुने व्यक्तिलाई आवास व्यवस्थापनको चुनौतीलाई सहज तुल्याउँदै मन्त्रालयले प्रतियोगितालाई खेल उत्सवका रूपमा व्यवस्थित र ऐतिहासिक तुल्याउने ढङ्गबाट तयारी गरिरहेको छ । पहिलोपटक प्रदेशिक आधारमा हुन लागेको प्रतियोगितामा सहभागी ११ वटै टोलीका खेलाडीको सहभागिता बढाएर पदकमाथि प्रभुत्व जमाउने हिसाबले अन्तिम तयारीमा जुटिरहेका छन् ।


प्रतियोगितामा सात प्रदेशका सात, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को टिमबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका प्रतियोगितामा पदकमाथि विभागीय टोलीले कब्जा जमाउँदै आएको थियो । यसपटक भने विभागीय टोलीलाई प्रदेश टोलीले चुनौती खडा गर्ने अनुमान गरिएको छ ।

प्रतियोगिता सञ्चालनका क्रममा प्रस्तुत हुने झाँकीले प्रदेशको पहिचान उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन योगदान पुर्याउनेछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणीन्द्र पौडेलले जानकारी दिए ।

नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।

प्रतिक्रिया