नेपालीले खान्छन् साढे ७५ अर्बको मासु

दसैँमा मासुको अर्थतन्त्र

काठमाडौं । नेपालीको आँगनमा दसैँको आगमन भइसकेको छ । यो पर्वको मुख्य आकर्षण भनेको मासु, रंगीचंगी लुगाफाटो र आफूभन्दा ठुलोबाट आशिष लिने हो । अधिकांश नेपालीले दसैँमा अनिवार्य रूपमा मासु खान्छन् । त्यसमा पनि खसीबोकाको मासु नभए नेपालीले यो पर्वलाई खल्लो मान्छन् । उसो त शाकाहारी समुदायले पनि दसैँ उल्लासमय वातावरणमै मनाउने गर्छन् । तर दसैँ र मासु भनेको एकअर्काको पर्यायवाची शब्द हुन् ।

उच्च वर्गदेखि दैनिक ज्यालादारीमा काम गर्ने समूहले पनि सकेसम्म मासुको जोहो गरी दसैँ मनाउने चलन छ । चाहे त्यो खसी÷बोकाको मासु होस् वा कुखुराको । नेपालमा सबैभन्दा बढी मासुको खपत दसैँको सात दिनको अवधिमा हुन्छ । पशु सेवा विभागका अनुसार दसैँको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढी हुने गरेको छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर २ सय १२ ग्रामसम्म पुग्छ ।

विभागका अनुसार दसैँको अवधिमा उपत्यकासहित देशभरगरी राँगा, माछा, खसी÷बोका र च्याङ्ग्राको ९ करोड १९ लाख ६ हजार किलो मासुको खपत हुन्छ । यसको बजार मूल्य ७५ अर्ब ५६ करोड २० लाख ८० हजार रुपैयाँ हुन आउँछ । अण्डा, कुखुरा, हाँस, बंगुरलगायतका मासुको लेखाजोखा यसमा छैन । अर्थात दसैँको अवधिमा नेपालीले यो मूल्य बराबरको मासु सेवन गर्दै आएका छन् । दसैँमा देवी दुर्गालाई बलि दिने र घरमै मार हानेर मासु खाने चलन पनि रहेकाले उपत्यकासहित देशभर साढे ७५ अर्ब रुपैयाँको मासु नेपालमा उपभोग हुने गरेको छ ।

यो वर्ष भने मासुको उपभोग दर अझै बढ्न सक्ने सरोकारवाला विज्ञहरूको भनाइ छ । यो वर्ष कोभिड–१९ को महामारी नियन्त्रित रूपमा रहेको, सरकारी कर्मचारीको तलब पनि वृद्धि भएको तथा मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण पनि मासुको खपत बढ्न सक्ने अनुमान गरिएको छ ।

अधिकांश नेता मत माग्दै दसैँमा गाउँ झर्ने र यहि बेला कार्यकर्तालाई रिझाउने उद्देश्यले खसी÷बोका ढालेर भोज भतेर गर्ने अवस्था पनि सिर्जना भएको छ । यसले गर्दा यसपटकको दसैँमा मासुको खपत अत्यधिक बढ्न सक्ने चौपाया खरिद बिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापा बताउँछन् ।

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता चन्द्र ढकालका अनुसार दसैँको अवधिमा उपत्यकामा ५० हजार खसी÷बोकाको माग हुन्छ । उपत्यका बाहेकको क्षेत्रमा पनि ३० लाख गोटा खसी÷बोकाको माग हुन्छ । ‘सामान्य दिनभन्दा दसैँको समयमा दैनिक खपत करिब दोब्बर परिमाणले बढ्छ,’ ढकालले भने ।

यसैगरी यो समयमा पाँच हजार गोटाको संख्यामा च्याङ्ग्रा पनि खपत हुन्छ । यही अवधिमा १ हजार ५ सय गोटा राँगा पाडा पनि खपत हुन्छ । दसैँको सात दिनको अवधिमा ४९ हजार गोटा हाँस, १ हजार २ सय ९५ गोटा बंगुर र ९१ हजार किलो माछाको पनि माग हुन्छ ।

सामान्य दिनमा उपत्यकामा दैनिक १ हजार १ सयदेखि १ हजार २ सयको संख्यामा खसी/बोका खपत भए पनि दसैँ सुरु हुनासाथ उपत्यकामा खसी/बोकाको माग वृद्धि भएर दैनिक ७ हजार १ सय ४२ गोटासम्म पुग्छ । गत वर्ष कोभिड महामारीको तीव्र संक्रमण फैलिएका कारण सर्वसाधारणले चाहेर पनि रमाइलो गरी दसैँ मनाउन पाएका थिएनन् । यो वर्ष अधिकांश नेपालीले कोभिडविरुद्धको खोप लगाएको र कोभिडको संक्रमण दर पनि निकै घट्दो अवस्थामा रहेकाले दसैँ मान्न सर्वसाधारण निकै हौंसिएका छन् । यसले गर्दा मासुजन्य बस्तुको बजार निकै तातिएको छ ।

६४ अर्ब ५ करोड रुपैयाँको खसी/बोका

सरकारको आधिकारिक तथ्यांकअनुसार दसैँमा उपत्यकासहित देशभर ३० लाख ५० हजार गोटा खसीबोका खपत हुन्छ । विभागका अनुसार औषत ३० किलोको एउटा खसीको औषत मूल्य प्रतिकिलो सात सय रुपैयाँ मान्दा ३० लाख ५० हजार गोटा खसीबोकाको मूूल्य ६४ अर्ब ५ करोड रुपैयाँ पर्न आउँछ । अर्थात, दसैँको समयमा औषत ६४ अर्ब ५ करोड रुपैयाँ बराबरको खसी/बोकाको कारोबार हुन्छ । यसलाई टुक्राउँदा उपत्यकामा मात्रै १ अर्ब ५ करोड रुपैयाँ बराबरको ५० हजार गोटा खसीबोका बिक्री हुन्छ । ६३ अर्ब रुपैयाँ बराबरको ३० लाख गोटा उपत्यकाबाहेक देशभरको क्षेत्रमा बिक्री हुन्छ ।

११ अर्ब २५ करोडको राँगा

दसैँको अवधिमा खसी/बोकापछि राँगा/पाडाको मासु अत्यधिक खपत हुन्छ । खासगरी नेवार समुदायमा राँगाको छोइला, कचिला, भुटन, कबाब, ममलगायतका परिकार बनाएर खाने चलन अत्यधिक भएकाले यो बेला राँगा÷पाडाको मासुको उपभोग दर पनि निकै बढ्छ ।

दसैँको समयमा १ हजार ५ सय गोटा राँगाको माग हुन्छ । राँगा व्यवसायी बुद्ध साहीका अनुसार बजारमा तीन प्रकारको राँगा÷पाडाको बजारीकरण हुन्छ । ५० देखि ९० किलो, ९० देखि १ सय ७० किलो र दुई सयदेखि २ सय ५० किलो गरी तीन प्रकारको राँगा, पाडा र भैँसीको बजारीकरण हुन्छ ।

यसमध्ये बजारमा सबैभन्दा बढी १ सय ७० किलो तौलको बढी बिक्री हुन्छ । उनका अनुसार एक सय किलो औषत तौल भएको १ हजार ५ सय राँगा, पाडा र भैंसीलाई जनही ७५ हजार रुपैयाँका दरले हिसाब गर्दा ११ अर्ब २५ करोड रुपैयाँ बराबरको दसैँको अवधिमा यसको कारोबार हुन्छ ।

२२ करोड ७५ लाखको च्याङ्ग्रा

दसैँको अवधिमा मुख्यगरी काठमाडौं र पोखरामा च्याङ्ग्राको कारोबार हुन्छ । सरकारी तथ्यांकअनुसार उपत्यकामा दुई हजार र पोखरामा ३ हजार २ सयको संख्यामा च्याङ्ग्राको बिक्री हुन्छ । तर पाँच हजार गोटाकै हिसाब गर्दा पनि औषत ३५ किलोको जिउँदो च्याङ्ग्रालाई प्रतिकिलो औषत मूल्य १ हजार ३ सयका दरले २२ करोड ७५ लाख रुपैयाँ बराबरको दसैँको अवधिमा यसको कारोबार हुन्छ ।

साढे तीन करोडको माछा

पशु सेवा विभागकाअनुसार दसैँको अवधिमा ९१ हजार किलो माछा पनि खपत हुन्छ । ३ करोड ४५ लाख रुपैयाँ बराबरको जिउँदो र आयातित माछा पनि नेपालमा खपत हुन्छ । औषत मूल्य ३ सय ८० रुपैयाँका दरले ३ करोड ४५ लाख रुपैयाँ बराबरको ९१ हजार किलो जिउँदो र आयातित माछाको बजारीकरण दसैँको समयमा हुन्छ ।

माग पूरा गर्न यसरी हुँदै छ आपूर्ति

विभागका प्रवक्ता ढकालका अनुसार उपत्यका र देशभरकै मासुजन्य बस्तुको माग पूरा गर्न आपूर्ति गर्ने प्रणालीलाई कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ । ‘स्वदेशी बजारमा मासुजन्य वस्तुको जे जति माग छ, त्यसलाई पूरा गर्न आन्तरिक रूपमा कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याएका छौँ’, प्रवक्ता ढकालले भने, ‘खसी÷बोकाको देशभर कुल मागमध्ये अहिले करिब ९५ प्रतिशत स्वदेशी उत्पादनबाट पूरा हुँदै आएको छ ।’ बाहिरबाट सबै प्रक्रिया पूरा गरी करिब पाँच प्रतिशतको हाराहारीमा मात्रै खसी÷बोका आयात भइरहेको विभागको दाबी छ ।

आर्थिक वर्ष ०७८/७९ मा ४ करोड ६२ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका तयारी मासु आयात भएको थियो । चालु आर्थिक वर्षको साउनमा मात्रै ३२ लाख रुपैयाँ मूल्य बराबरको तयारी मासु आयात भएको थियो । ०७७ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मासुजन्य पदार्थमा मुलुक आत्मनिर्भर भएको भनेर घोषणा गरेका थिए ।

यो वर्ष दसैँको लागि भनेर सरकारी, निजी क्षेत्र, सहकारीमार्फत करिब ५५ हजार खसी÷बोका उपत्यकाको बजारमा भित्रँदै छ । यसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई हजार, चौपाया खरिद बिक्री सेवा संघले ४० हजार र किसानसम्बद्ध विभिन्न सहकारीले १३ हजार गोटा खसी/बोका बजारमा भित्राउन सुरु गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुलभ मूल्यमा च्याङ्ग्रा उपलब्ध हुन नसकेमा थप एक हजार गोटा खसी÷बोका बजारमा ल्याउने गृहकार्य भइरहेको जानकारी कम्पनीका नायब महाप्रवन्धक श्रीमणि खनालले दिए ।

यसबाहेक असंगठित रूपमा थप करिब १० हजारको संख्यामा खसी÷बोका पनि उपत्यकाको बजारमा भित्रिने चौपाया खरिद बिक्री सेवा संघका पूर्वअध्यक्ष थापाले जानकारी दिए । बाटोघाटो र ढुवानीको अभावका कारण बजारमा भित्रिने कुल खसी÷बोकामध्ये झण्डै १० प्रतिशतको हाराहारीमा आयातित खसीबोका हुन सक्ने औँल्याइएको छ ।

यसैगरी सीमा नाका नजिक भएका जिल्लाहरूमा भन्सार छलेर भारतबाट भित्रिने खसी/बोकालाई नेपाली उत्पादन भएको भन्दै पशु चिकित्सकले प्रमाणित गरेर नेपालमा ठुलो संख्यामा भित्रिने गरेको थापाले बताएका छन् ।

चाडपर्वकै मुखमा जिउँदो खसीबोकाको मूल्य बढ्न सक्ने निजी क्षेत्रका व्यवसायीहरूले बताएका छन् । चौपाया खरिद बिक्री सेवा संघले दसैँको समयमा स्वदेशी र भारतबाट आयातित जिउँदो खसी÷बोकाको प्रतिकिलोमा १ सय ५० रुपैयाँसम्म बृद्धि हुन सक्ने जनाएको छ । व्यवसायीले अहिले स्वदेशी जिउँदो खसी÷बोका प्रतिकिलो ६ सय ५० र भारतबाट आयातित खसी÷बोका प्रतिकिलो ७ सय १५ रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

स्वदेशमै एक खर्बको खसी/बोका उत्पादन

विभागका अनुसार नेपालमा बाख्राजात (बाख्रा, खसी/बोका, पाठा/पाठी) कुल संख्या १ करोड ३५ लाख रहेको छ । यसबाट वैज्ञानिक हिसाबअनुसार ३६ प्रतिशतका दरले वार्षिक ४८ लाख ६० हजारको संख्यामा खसी/बोका उत्पादन हुन्छ ।

कुल ४८ लाख ६० हजार खसी/बोकामध्ये करिब २५ प्रतिशतका दरले १२ लाख गोटा औपचारिक रूपमा ठुला सहरी÷बजारमा र बाँकी स्थानीय र नजिकैको बजारमा खपत हुन्छ । ढकालका अनुसार ३० किलो मानेर औषत मूल्य सात सयको दरले १ खर्ब २ अर्ब ६ करोड रुपैयाँ बराबरको ४८ लाख ६० हजार खसी÷बोका स्वदेशमै उत्पादन भइरहेको छ ।

प्रतिक्रिया