राइफलको सट्टा इँटाले गर्दैछन् सुटिङको तयारी

दाङ । दाङ तुलसीपुर–६ का अर्नभ घिमिरे सुटिङका गोल्ड मेडलिष्ट हुन् । आठौं र सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका उनी नवौंमा पनि स्वर्ण जितेर ह्याट्रिक गर्ने लक्ष्यमा छन् । तर उनी लक्ष्य पूरा हुनेमा विश्वस्त छैनन् । एशियाली खेलकुद सागमा समेत सहभागिता जनाइसकेका राष्ट्रिय च्याम्पियन यसपालि स्वर्णको लक्ष्यमा विश्वस्त हुन नसक्नुको कारण हो– कमजोर तयारी । गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका उनको हातमा अहिले बन्दुक छैन, उनी बन्दुकको सट्टा इँटाले अभ्यास गरिरहेका छन् ।


दाङमा सुटिङका लागि भएका दुई वटा राइफल पनि बिग्रिएका छन् । ‘निशाना लगाउन र सुट गर्न राइफल चाहिन्छ’, उनले भने, ‘तर हामीसँग चल्ने राइफल छैन । इँटा उठाएर होल्डिङको अभ्यास मात्र गरिरहेका छौं ।’

निशाना नै लगाउन नपाएका उनले आफ्नो स्तर बुझ्न सकेका छैनन् । ‘सुट गर्न पाएको भए कमजोरी कहाँ छ भन्ने थाहा पाउन सकिन्थ्यो’, घिमिरेले भने, ‘आफ्नो तयारी कस्तो भइरहेको छ भन्ने बुझ्न बन्दुक नचलाई हुँदैन ।’ राष्ट्रिय खेल प्रतियोगिताका लागि होल्डिङको अभ्यासले मात्र नपुग्ने उनी बताउँछन् ।

सुटिङको पेस्तोलतर्फ तयारी गरिरहेकी अर्की खेलाडी हुन्, दाङ तुलसीपुर उपमहानगरपालिका–६ कै जानकी रोका । उनी पनि पेस्तोलविनै नवौ राष्ट्रिय खेल प्रतियोगितको सुटिङको अभ्यास गरिरहेकी छन् । प्रतियोगिताको तयारीका लागि चल्ने पेस्तोल नै नभएपछि उनी पनि कहिले इँटा त कहिले बिग्रिएको पेस्तोल उचाल्ने गरेकी छन् ।

सातौं र आठौं राष्ट्रिय खेलमा पनि सहभागिता जनाएकी उनले त्यतिबेला पनि बिग्रिएकै पेस्तोलबाट अभ्यास गरेकी थिइन् । गतिलो अभ्यास नभएकै कारण पदक जित्न नसकेको बताउने उनी भन्छिन्, ‘पहिला पनि बन्दुक चलाउन नपाई प्रतियोगिता सहभागी भएँ, यो पटक पनि यस्तै भयो । यसरी त के जित आउला र खै ?’

निशाना लगाउनै नपाई अभ्यास गर्दा उनी पनि आफ्नो खेल राम्रो होला भन्नेमा विश्वस्त हुन सकिरहेकी छैनन् । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुटिङ खेलको प्रदेशस्तरीय छनोट असोज ९ र १० गते नेपालगञ्जमा हुँदैछ । त्यसका लागि दाङबाट ६ जना महिला र ६ जना पुरुष गरी १२ जना छनोट भएका छन् ।


सुटिङ खेलका लागि राम्रा खेलाडी भए पनि आवश्यक राइफल र पेस्तोल लगायतका सामग्री नहुँदा खेलाडीले अभ्यास गर्न नपाएको जिल्ला सुटिङ संघ दाङका अध्यक्ष केशव चौधरीले बताए । ‘जिल्लामा दुईवटा मात्र राइफल छन्, ती पनि चल्दैनन्’, उनले भने, ‘बिग्रिएको बन्दुक उचालेर होल्डिङ गर्नै मात्र काम भएको छ ।’ उनले बन्दुक नहुँदा खेलाडीले निशाना लगाउने अभ्यास गर्न नपाएको बताए । उनले धेरै खेलाडीलाई अभ्यास गराउन सामग्री नभएपछि बन्दुकै नाप अनुसारको इँटाबाट समेत अभ्यास गराउनुपरेको सुनाए ।

प्रतिक्रिया