राम्दीको पुलसँगै जोडिएको महँगी

वालिङ । गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रूपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । भारत सरकारले झण्डै ५१ वर्षअघि स्याङ्जा र पाल्पाको संजामस्थल राम्दी (रामनदीधाम)मा निर्माण गरेको यो पुल सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गमा पर्दछ ।

भारत सरकारको सहयोगमा ०२२ सालदेखि सिद्धार्थ राजमार्गको निर्माणकार्य सुरु भएर ०२८ सालमा निर्माण सम्पन्न भएको थियो । पहाड र तराईलाई जोडेसँगै आवातजावत र व्यापार व्यवसायका लागि कोसेढुंगा सावित भएको यस पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले १० टन क्षमताभन्दा बढी भारवहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ ।

डुंगाको सहारामा जोखिम मोलेर वारपार गर्नेहरूलाई पुल निर्माण भएँसगै सहजता भए पनि भारवहन क्षमताका सवारी साधन चल्न रोक लगाउँदा ढुवानीको खर्च बढ्न गई उपभोग्य वस्तुको लागत महँगोे पर्न गएको व्यवसायी तथा उपभोक्ता बताउछन् । निर्माण सामग्रीहरू बुटवलतिरबाट राम्दीको पुल हुँदै वालिङ आउने हुँदा पुलमा बढीमा १० टन मात्रै सामन बोकेका मालबाहक गाडीहरू आउनसक्ने भएकाले ढुवानीमा समस्या भएको वालिङ–८ जैसीपधेँरामा हार्डवेयर ब्यावसाय गर्दै आएका गह«ौं कालिका डुम्रे हार्डवयरका सञ्चालक शिवलाल डुम्रे बताउनुहुन्छ । डुम्रेले भने, ‘पुलमा आएर रोकिनभन्दा कि त कम्पनीबाट नै थोरै सामान लिएर आउनुप¥यो कि त वैकल्पिक बाटो खोज्नुपर्ने बाध्यता रहेको छ ।’मालबाहक गाडीले समान कम ल्याए पनि भाडा दर एउटै हुने भएकाले थोरै सामान ल्याएर धेरै मूल्य ढुवानीमा खर्च हुँदा सामन महंगो पर्न जाने गरेको व्यवसायी डुम्रेले बताए ।

बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै सामान ल्याउँदा पुल कमजोर भएकाले रोक लगाइन्छ भने नारायणगढ–पोखरा हुँदै वालिङ ल्याउँदा मूल्य धेरै पर्न जान्छ । ‘पहिला–पहिला वालिङमा सामान सस्तो पाइन्थ्यो, यहीँबाट स्याङ्जासहित दक्षिण पर्वतका विभिन्न ठाउँमा सामानहरू जान्थ्यो,’ उनले भने, ‘अहिले एकातिर पुलकै कारण पनि ढुवानी बढ्यो भने अर्कोतिर नयाँ निर्माण गरिएका सडकहरूले यहाँको व्यापार व्यवसाय ओरालो लाग्दै गएको छ ।’
‘धेरै भारवहन क्षमताको मालवाहक साधनमा ढुवानी गर्दा मूल्य कम पर्न जान्छ,’ उनले भने, ‘एकैपटक आउने सामग्रीलाई दुईपटक गर्नुपर्दा ढुवानीमा लागत बढ्न गई उपभोक्तामा मार पर्न गएको छ ।’ छ चक्के मालवाहक साधनभन्दा अरुलाई पुलमा रोक लगाउँदा दैनिक उपभोग्य वस्तुदेखि निर्माणजन्य सामग्रीको ढुवानी मूल्य बढ्न गई महंगी बढेको उनले सुनाए ।

हाल सञ्चालनमा रहेको पुल मर्मत गरी भारवहन क्षमता बृद्धि गर्न सकिने भए अध्ययन गर्न र नहुने भए विकल्पको रूपमा अर्को पुल निर्माणका लागि तीन वर्षअघि जिल्लास्थित विभिन्न उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका थिए । गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्यालले भने, ‘स्थानीय उपभोक्ता तथा व्यवसायीहरूले दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीहरूको ढुवानीमा पुलका कारण महंगोे पर्न गएको गुनासो बढ्न थालेपछि सम्बन्धित निकायसम्म दबाब दिनका लागि सबै वाणिज्य संघ एकमत भई ज्ञापनपत्र बुझाएका हौंंँ ।’
पुल जीर्ण हुँदा बुटवलबाट तानसेन, राम्दी हुँदै स्याङ्जा जिल्ला प्रवेश गर्ने १० टनभन्दामाथि भारवहन क्षमता भएका सवारी साधनहरू आउनमा रोक लगाइएकाले विशेषगरी स्याङ्जा जिल्लाका उपभोक्ता तथा व्यवसायी बढी प्रभावित भएको वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताए । ‘पुलका कारण निर्माणजन्य सामग्रीहरूको ढुवानीमा असर गरेको छ भने दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ढुवानीमा समस्या भएको छ,’ उनले भने, ‘समस्या समाधानका लागि निरन्तररूपमा पहल ग¥यौं । ढिलै भएपनि निर्माण कार्य थालनीको प्रक्रिया अगाडि बढेको छ ।’

निर्माण प्रक्रिया अगाडि बढेपछि उपभोक्ता तथा व्यापारी व्यवसायी वर्ग आशावादी देखिएका छन् । पुल निर्माण भई सञ्चालनमा आएपछि ढुवानी मुल्य घट्न गई सस्तो र सहजरूपमा सामग्रीहरू पाइने विश्वास खनालको छ । सामग्री सस्तो भएसँगै ब्यापार व्यवसाय फेरि फस्टाउनुका साथै यहाँ उत्पादन भएका सामग्रीहरूको निर्यात र उद्योग तथा कलकारखाना खोल्नका लागि पनि सहजता हुनसक्ने उनले सुनाए ।

कतिपय १०÷१२ चक्के सवारी साधनले पनि भारवहन क्षमताभन्दा कम सामग्री ल्याउन सक्ने भएपनि चक्काकै आधारमा कहिलेकाहीँ प्रहरी प्रशासनले दुःख दिने गरेको सवारी चालकहरूको गुनासो छ । सवारी साधनमा कति भार रहेको छ त्यो नभई सवारी साधनको चक्का हेरेकै आधारमा पनि रोकेर दुःख दिने गरिएको छ । धेरै भार बोक्न सक्ने सवारी साधनमा पनि अड्कलेर थोरै सामग्री ढुवानी गर्दा भाडा स्वभाविक धेरै पर्ने स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका स्थानीयबासी शिवहरि अमात्यले बताए । पुलमा १० टनभन्दा धेरै सामन बोकेको सवारी साधन चल्न नदिने हो भने यसको सुक्ष्म ढंगबाट अनुगमन तथा निरीक्षण गर्नु आवश्यक रहेको उनले सुनाए ।

गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि हाल रहेको पुल जीर्ण हुँदै गएकाले नयाँ पुल बनाउन लागिएको हो । ०२८ सालमा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधनहरू आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जिनियर नवराज बास्तोलाले बताए ।

हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच÷सात मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरेर ठेक्का सम्झौता गरिसकेको सिनियर डिभिजनल इञ्जिनियर बास्तोलाले जानकारी दिए । उनका अनुसार बोलपत्र आह्वान गरी ०७९ असार ३० गते हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणका लागि सम्झौता भएको हो । ‘०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ,’ उनले भने, ‘कुल २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।’ १ सय ८ मिटर लम्बाइ, ११ मिटर चौडाइको हुने सो पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने उनले बताए ।

प्रतिक्रिया