बाँकेका १७ कैदीबन्दीलाई आममाफी

बाँके । बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाएका छन् । संविधान दिवसको अवसरमा बाँके कारागारमा विभिन्न कसूरमा कैद भुक्तान गरिरहेका १७ जना कैदीबन्दीले आममाफी पाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनेक्रममा बाँकेका कैदीबन्दीले पनि माफी पाएको बाँके कारागारका जेलर रामप्रसाद सोनकरले बताए ।

उनका अनुसार आममाफी पाउने कैदबन्दीहरू कर्तव्य ज्यान मुद्दा, चोरी र बहुविवाहमा दोषी ठहर भइ कैद भुक्तानी गरिरहेका थिए । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिपरिषद्को भदौ ३१ को निर्णयअनुसार संविधान दिवसको दिनदेखि लागू हुने गरी आममाफी दिएकी हुन् ।

नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइने गरिन्छ । प्रत्येक वर्ष संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिहरूले आममाफी पाउने गरेका छन् ।

प्रतिक्रिया