बाख्रापालनमा सघाउँदै स्मार्ट कृषि कार्यक्रम

पाल्पा । बाख्रापालन व्यावसायलाई दीगोरूपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न बालीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित छ । बाख्रापालनलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमबाट उत्पादन वृद्धि गर्नुका साथै कृषकको जीवनस्तर उकास्ने र संस्थागत विकास हुने भएकाले कार्यक्रम प्रभावकारी देखिएको भेटरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा चन्द्रबहादुर रानाले बताए ।

उनले भने, ‘बजारमा खसी बोकाको माग बढ्दो छ, यसबाट कृषकले राम्रो आयस्रोत लिन सक्ने भएकाले स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत बाख्रापालनमा कृषकले जोड दिएका छन्, जिल्लामा उत्पादकत्व वृद्धि भइरहेको छ ।’ उनका अनुसार यस आर्थिक वर्षमा चार पालिकामा सञ्चालन भइरहेको सो कार्यक्रमका लागि कार्यालयले एक करोड १४ लाख रुपैयाँ विनियोजन गरेको छ । यसभन्दा अघि तानसेन नगरपालिकाको अर्गलीमा चार वर्षसम्म चलेको बाख्रापालन कार्यक्रम अहिले सहकारीकरण गरी कार्यालयले हस्तान्तरण गरेको छ । यहाँ राम्रै हँुदै गएपछि कार्यालयले अन्य पालिकामा पनि बाख्रापालनका कार्यक्रम अघि सारेको छ ।

पूर्वखोला गाउँपालिका–२ स्थित जल्पा र बगनासकाली गाउँपालिका–१ र २ मा चौथो वर्षमा स्मार्ट कृषि गाउँ कार्यक्रम चलिरहेको छ भने निस्दी र रैनादेवी छहरामा तेस्रो वर्षमा कार्यक्रम अगाडि बढेको छ । यो कार्यक्रम सम्झौता भएपछि चार वर्षसम्म कार्यालयको सहयोगमा चल्नेछ । पाँचौँ वर्षमा सहकारीकरण गरी हस्तान्तरण गरिनेछ ।

कार्यक्रम सुरु भएको पहिलो वर्ष कार्यालयले ८० प्रतिशत र सम्बन्धित समूह तथा संस्थाले २० प्रतिशत, दोस्रो वर्ष कार्यालयबाट ७० प्रतिशत र सम्बन्धित समूह, संस्थाले ३० प्रतिशत, तेस्रो वर्षमा कार्यालयले ६० र समूह, संस्थाले ४० प्रतिशत र चौथो वर्षमा कार्यालय र सम्बन्धित समूह र संस्थाले ५०÷५० प्रतिशत रकम लगानी गरेर कार्यक्रम सञ्चालन गरिनेछ । सम्बन्धित समूह तथा संस्थाले स्थानीय सरकारसँग या संस्था आफँैले रकम व्यवस्थापन गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान छ ।

बाख्रापालनको हकमा प्रत्येक कृषकले कम्तीमा १० माउ बाख्रा पालेको हुनुपर्नेछ भने तरकारी तथा खाद्यान्न बालीमा (कार्यक्रममा आवद्ध सबै कृषकको गरी एकमुष्ठ) कम्तीमा पाँच हेक्टर क्षेत्रफलमा खेती गरेको हुनुपर्ने जनाइएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत निस्दी गाउँपालिका–३ को झिरुवास, मौरीया, धार्केसिङ, ढाब्रा र डुनडाँडा क्षेत्रमा गरी ६० घरपरिवारका कृषकले १ हजार ४ सय ७५ बाख्रापालन गरेका छन् । कार्यक्रम सुरु भएपछि हालसम्म यहाँ प्रतिकृषक एक÷एक वटा बाख्रा माउ बाख्रा वितरण गरिएको छ ।

संस्थाका लागि २४ उन्नत बोयर बोका, सात वटा चापकटर मेसिन, सात वटा ग्रेन्डर मेसिन, ६ वटा फाइवरको डिटिंङ ट्यांक, सबै घरधुरीमा उन्नत घाँसको बिउ वितरण तथा गाउँमा एक वटा घाँसको नर्सरी स्थापना गरिएको निस्दीका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्रांगीले बताए । बाख्रापालनसम्बन्धी चेतनामूलक चार वटा तालिम, औषधि वितरण कार्य भएको छ ।

‘गाउँमा यस कार्यक्रमले बाख्रापालनमा कृषकको आकर्षण बढ्दै गएको छ, अहिले उत्पादन वृद्धि हुँदै जाँदा उत्पादित खसीबोका बजारीकरण सम्बन्धमा छलफल चलिरहेको छ,’ उनले भने, ‘यहाँ सञ्चालन भएको कार्यक्रममा आवद्ध कृषकले कम्तिमा १४ देखि बढीमा ५५ सम्म माउ बाख्रापालन गरेका छन् भने सबैका घरमा आधुनिक खोर बनेका छन् ।’ बगनासकाली गाउँपालिका–१ र २ मा बाख्रापालनमा इच्छुक कृषकलाई लक्षित गरी माडी चक्रपथ स्मार्ट कृषि गाउँ कार्यक्रम तेस्रो वर्षमा अगाडि बढेको छ । यहाँ ५० घरपरिवार आवद्धमध्ये ४५ घरमा बाख्रापालन र पाँच घरमा माछापालन गरिएको समितिका अध्यक्ष मथुरा ढकालले बताए । उनका अनुसार ६१ बाख्राबाट सुरु भएको कार्यक्रम अहिले ४ सय ८२ माउ, खसी, बोका, पाठापाठी छन् । समितिले ४ सय ५० माउ बाख्रा पु¥याउने लक्ष्य छ ।

‘यस कार्यक्रमले बाख्रापालन व्यावसायमा कृषकलाई आकर्षण गरेको छ, थोरै बाख्रापालन गर्नेले अहिले संख्या बढाउँदै जानुभएको छ, विभिन्न सेवा सुविधा पाइदो रहेछ,’ उनले भने । गतवर्ष बगनासकाली गाउँपालिकाबाट आठ लाख रकम सहयोग भएको थियो । यसवर्ष भने समिति आफैँले रकम व्यवस्थापन गरेर कार्यक्रम गर्ने अध्यक्ष ढकालले बताए । यस समितिले कार्यक्रम सुरु भएपछि ७९ वटा खसीबोका बिक्री गरेर ८ लाख ११ हजार बराबरको आम्दानी गरिसकेको छ ।

भेटरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको लागि ७ करोड ६ लाख ५३ हजार रुपैयाँ बराबरको कार्यक्रम गर्नेछ । जसअन्तर्गत चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ हजार, पशुपक्षी पर्यटन प्रवद्र्धनमार्फत आयआर्जन सहयोगमा दुई लाख, बंगुरपालन कार्यक्रमको लागि १० लाख, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ३० लाख, ग्रामीण क्षेत्रमा कुखुरापालनमा १० लाख, डेरी तथा मासु पसल सुधारमा आठ लाख, अनुगमन मूल्यांकनमा ७५ हजार, स्मार्ट कृषि कार्यक्रममा १ करोड १४ लाख रकम विनियोजन गरेको छ ।

यस्तै मत्स्य विकास कार्यक्रमको लागि ५ लाख ९५ हजार, कृषि तथा पशुपक्षी स्रोत तथा प्रविधि सेवा टेवा कार्यक्रमको लागि १ करोड ८६ लाख २ हजार, पशुपक्षी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमको लागि ३३ लाख ८० हजार र गाईका व्यवसायिक उत्पादन केन्द्र ब्लक कार्यक्रम संघीय सरकारमार्फत ३३ लाख बराबरको बजेट रहेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा कृषकसँग कृषि मन्त्री कार्यक्रमको लागि ७ लाख ५० हजार, तिनाउ गाउँपालिकामा बंगुर श्रोत केन्द्र स्थापनाको लागि, चार लाख, तानसेन र माथागढीमा बाख्रा र बंगुरको ब्रिडर हर्ड स्थापनाको लागि आठ लाख, मागमा आधारित व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रमको लागि ३० लाख, पशु बाँझोपन निवारण सेवाको लागि ६ लाख, पशुस्वास्थ्य तथा उपचार खोप सेवाको लागि ६ लाख, प्रयोगशाला सेवाको लागि चार लाख, पशु स्वास्थ्य शिविरको लागि २ लाख ५० हजार, सामुदायिक प्रजनन् केन्द्र स्थापनातर्फ पाँच लाख वजेट रहेको कार्यालले जनाएको छ ।

प्रतिक्रिया