पर्यटकीय पूर्वाधारमा फड्को मार्दै रूपन्देही

default

भैरहवा । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्वीको केन्द्रविन्दु हो । लुम्बिनीलाई केन्द्र बनाएर रूपन्देही जिल्लामा पर्यटकीय गन्तव्यको विकास भएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीबाहेक रूपन्देही जिल्लामा घुम्न अन्य बौद्ध सम्पदास्थलमा बुद्धमावली देवदह र बुद्ध युगको पुरातात्विकस्थल सैनामैना पर्छन् ।

रूपन्देहीमा बौद्ध धर्मसँग सम्बन्धित मात्र नभई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिकस्थल पनि उल्लेख्य रूपमा छन् । थारू संस्कृति र विरहा गीत, बुटवलको जितगढी किल्ला, सैनामैनाको पर्रोहा धाम, सिद्धबाबाजस्ता धार्मिकस्थल छन् । प्राकृतिक सम्पदामा गैडहवा ताल, गजेडी ताल, दानो खोला, तेलार खोला लगायतका सुन्दर सिमसार क्षेत्र रूपन्देहीमा छन् । नुवाकोट दरबार शिवालिक क्षेत्रमा हल्का हावापानी भएका अन्य रमणीयस्थल पनि छन् । मणिमुकुन्द सेन उद्यानसहित शैक्षिक पार्कहरू यहाँ छन् । यति मात्र होइन रूपन्देही तानसेन, पोखरा र मुस्ताङजस्ता लोकप्रिय हिमाली पर्यटकीय गन्तव्यको प्रवेशद्वारको रूपमा पनि रूपन्देहीलाई मानिन्छ ।

प्राकृतिक रूपले पूर्ण रहेको नेपालमा भारतको गर्मी छल्न प्रायः पर्यटक आउने गरेका छन् । पर्यटकको स्वागत, सस्तो मूल्य, वैधानिक जुवाघर (क्यासिनो), स्तरीय होटल, मनोरञ्जनात्मक गतिविधिको कारण पर्यटक भैरहवा तथा यस आसपासमा आकर्षित हुने गरेका छन् । प्राकृतिक, धार्मिक एवं सास्ंकृतिक रूपमा धनी रहेको रूपन्देहीमा पछिल्लोसमय पर्यटकीय पूर्वाधारहरूको विकासले फड्को मारेको छ । सरकारी क्षेत्रबाट मात्र नभई यहाँका निजी क्षेत्रको पर्यटकीय पूर्वाधारमा लगानी बढेको छ । जसका कारण यस क्षेत्रको पर्यटकीय सम्भावना अझै बढेर गएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पर्यटकीय पूर्वाधारमा लगानी बढेको हो ।

बेलहियामा अध्यागमन कार्यालय, पर्यटक सूचना केन्द्र, फराकिलो बाटो, स्तरीय यातायातका साधन, स्तरीय होटलको घुइँचो, पर्यटक भुलाउने स्थल यस क्षेत्रको पहिचान बनेका छन् । पछिल्लो समय भारतीय पर्यटकलाई लक्षित गरी रूपन्देहीमा फनपार्क, क्यासिनो, रात्रीकालीन बजार सञ्चालनको क्रम बढेको छ ।

रुपन्देहीमा ८९ वटा पर्यटकस्तरीय होटेल छन् । यस्तै १ सय ५० भन्दा बढी अन्य होटल पनि छन् । सिद्धार्थनगर होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार रूपन्देही एकै पटकमा ६ हजार बढी पर्यटकलाई धान्न सक्ने क्षमता राख्छ । ‘अहिले यस क्षेत्रको बजार, पर्यटन भारतीय पर्यटकले धानिरहेका छन्,’ उनले भने, ‘भैरहवा र बुटवल धेरै व्यापार, पर्यटन र मनोरञ्जन गतिविधि गर्ने मुख्य दुई सहर भइसकेका छन् ।’

भैरहवा आसपासका ६ वटा क्यासिनो सञ्चालनमा रहेका छ । भैरहवामै दुई वटा वाटरपार्कमा गर्मी मौसममा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको लुम्बिनी एम्युजमेन्ट पार्कमा एकैदिन २ हजार ५ सय बढीलाई सेवा दिएको छ । भैरहवाकै होटल बोधी रेडसनमा रहेको वाटर पार्कले पनि भारतीयलाई लोभ्याउने गरेको छ ।

लुम्बिनी विकास कोषका सूचना शाखाको तथ्यांकअनुसार लुम्बिनीमा अगस्त महिनामा ११ हजार ३ सय ४२ जनाले मायादेवी मन्दिर अवलोकन गरेका छन् । अंग्रेजी वर्षको आठ महिनामा मात्रै लुम्बिनीमा १ लाख १७ हजार ७ सय ४८ जनाले अवलोकन गरेको विकास कोषका सूचना अधिकारी हरिध्वज राईले जानकारी दिए ।

निजी क्षेत्र मात्र होइन, सरकारीस्तरबाट पनि पर्यटन पूर्वाधारमा लगानी बढाइएको छ । पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माणलगायत कार्यले प्राथमिकता पाइरहेका छन् । पर्यटन डिभिजन कार्यालय रूपन्देहीले आव ०७८÷७९ मा रूपन्देहीमा २७ करोड ८९ लाखमा कुल २ सय १७ पर्यटन पूर्वाधारको योजना बनाएको थियो । निर्वाचन लगायतको कारण १६ करोड ६३ लाख रुपैयाँ बराबरको १ सय ७० योजना मात्र सम्पन्न गर्न सकिएको कार्यालका सूचना अधिकारी विनोद पौडेलले जानकारी दिए । यसमा विशेष गरी यस क्षेत्रका धार्मिक एवं पर्यटकीय पूर्वाधारको विकास गरिएको उनले सुनाए ।

पर्यटन डिभिजन कार्यालय रूपन्देहीले साविक लुम्बिनी अञ्चलका ६ जिल्लामा काम अगाडि बढाएको छ । सूचना अधिकारी पौडेलले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा पनि रूपन्देहीमा मात्र ९ करोड ८५ लाख रुपैयाँ बराबरको ७१ योजनालाई अगाडि बढाइँदै छ । पर्यटज डिभिजन कार्यालयले रूपन्देहीका महिलवारमा ‘बहुसास्ंकृतिक’ सांस्कृतिक ग्रामको अवधारण अगाडि बढाएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको मोतीनगरलाई र पश्चिम नवलपरासी सुनवल नगरपालिकाको केरवानीलाई संयुक्त रूपमा अवध सांस्कृतिक ग्रामको रूपमा अगाडि बढाइएको पौडेलले जानकारी दिए । पहाडी जिल्ला गुल्मीको रिडी क्षेत्र र रुरु क्षेत्र तथा अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा खस–आर्य सांस्कृतिक ग्राम निर्माणको काम अघि बढेका छन् । पाल्पाको जन्तीलुङ मरामकोटमा मगर सांस्कृतिक ग्रामको अवधारणा अगाडि बढाइएको उनले बताए । यसबाहेक बुटवलमा रहेको जिपलाइन, निर्माणाधीन अवस्थामा रहेको केबलकारले पनि पर्यटकलाई आकर्षित गर्नेछ । रूपन्देहीको पर्यटकीय पूर्वाधारमा सरकारी साथै निजी क्षेत्रले गरेको लगानीको कारण कोभिडका कारण थला परेको पर्यटकीय चहलपहल बढाएको छ ।

प्रतिक्रिया