चितवन । भदौ २६ गते दिउँसो करिब १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका–४ फनपार्क नजिक रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र छोटो कपाल, आकाशे निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट र मुखमा कालो माक्स लगाएका अपरिचित व्यक्ति प्रवेश गरे ।
बोराभित्र धारिलो हतियार दाउ जस्तो देखिने फलामको हतियार बोकेका ती व्यक्तिले मनि ट्रान्सफरमा छिरी काउन्टरमा बसिरहेकी स्टाफलाई मार्ने धम्की दिए ।
त्यसपछि उनले मनि ट्रान्सफरको काउन्टरमा रहेको नगद दुई लाख चार हजार २५० रुपैयाँ जबरजस्ती डाँका गरेर फरार भए । उक्त घटनाको उजुरीपछि चितवन प्रहरीले सिसिटीभी फुटेजलगायतका प्रमाण संकलन गर्यो ।
उक्त व्यक्तिको खोजतलास गर्ने क्रममा बागमती प्रदेश ०३–००१ ह १२६३ नम्बरको अटो चालक नवलपरासी बर्दघाट सुस्ता पूर्व घर भई हाल भरतपुर–१६ मा डेरा गरी बस्ने वर्ष ४२ को मिनमान सुनारलाई प्रहरीले भदौ २७ गते दिउँसो करिब साढे १ बजे भरतपुरको चौबिसकोठीबाट अटोसहित पक्राउ गरेको छ ।
निजमाथि प्रारम्भिक रुपमा सोधपुछ गर्दा निजले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको र निजको शरीरमा चेकजाँच गर्दा साथमा १३ हजार ६०५ रुपैयाँ फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । निजको कोठा चेकजाँच गर्दा एक लाख ६७ हजार रुपैयाँ नगद र धारिलो हतियार दाउ दुई वटा बरामद गरिएको उनले बताए ।
निजले घटना घटाउँदा लगाएको कपडा भरतपुर–२६ सिसैस्थित घोलभित्र लुकाई छिपाई राखेको अवस्थामा भेटिएको उनको भनाइ छ । निज व्यक्तिमाथि डाँका चोरी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए ।
त्यसैगरी, वैदेशिक रोजगारीको लोभ देखाएर महिलालाई बेच्न लागेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कुवेतमा ५० हजार रुपैयाँ तलब आउने रोजगारी लगाइदिन्छु भनि महिलालाई फकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले नारायणगढ पुलचोकबाट काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने वर्ष ४८ को खेमप्रसाद भट्टराईलाई भदौ २७ गते पक्राउ गरेको छ ।
म्याग्दीको वेनी नगरपालिका–१० स्थायी घर भई हाल भरतपुरमा परीवारसँग बस्दै आएकी एक महिलालाई भट्टराईले भारत हुँदै कुवेत लगरेर बिक्री गर्ने मनसाय राखेको प्रहरीले जनाएको छ ।
भारतको बाटो हुँदै कुवेत जाने विषयमा कसैलाई नभन्नु भनि सिकाई ललाई फकाई भारततर्फ लैजादै गर्दा साना हात नामक संस्थाको सहयोगमा भट्टराईलाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भईरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।
प्रतिक्रिया