मकवानपुर । बागमती प्रदेशको ‘सिंहदरबार’ हेटौँडा (१६ हटियामा निर्माण गर्ने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै प्रदेशको ‘सिंहदरबार’ हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा निर्माण गरिने जानकारी दिए । उनले भने, ‘हेटौँडा–१६ मा ५४ बिघा क्षेत्रफलमा प्रदेशको सिंहदरबार बन्छ । हामीले जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि पठाइसकेका छौँ ।’
उनले प्रादेशिक संरचना निर्माण प्रयोजनार्थ जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको भन्दै केही दिनभित्रै अनुमति प्राप्त हुने जानकारी दिए । उनले संरचनाको डिजाइन र निर्माण दुवै काम गर्ने गरी टेण्डर आह्वान गर्ने समेत बताए ।
प्रादेशिक संरचना निर्माणका लागि चालु आर्थिक वर्ष २०७९–८० मा १ अर्ब ५ करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
उनका अनुसार हटियामा मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरू, प्रदेशसभा भवन, प्रदेश लोकसेवा आयोग, सांसददेखि मन्त्रीका क्वाटर, विभागहरू, प्रहरी विटसहितको संरचना निर्माण हुनेछन् ।
हेटौँडाको मुख्य बजारबाट हटिया करिब १० देखि १५ किलोमिटर दूरीमा छ ।
मकवानपुर
प्रतिक्रिया