बालविवाह र हिंसाविरुद्धमा किशोरी

रुकुमपूर्व । हाम्रो समाजमा बालबालिकाको कुरालाई सजिलै सबैले पत्याउँदैनन् । बालबालिकाले राम्रै कुरा गरे पनि उनीहरूका कुरालाई सामान्य रूपमा हेर्ने चलन यो समाजमा रहेकामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका बालबालिकाले नमुनायोग्य काम गर्दै आएका छन् । बालविवाह व्याप्त रहेको उक्त गाउँपालिकामा पालिकास्तरीय बाल क्लब सञ्जाल, किशोरी र आमा समूह सञ्जाल तथा वडास्तरीय बाल क्लब, किशोरी समूह, आमा समूहले बाल विवाह न्यूनीकरणका लागि विभिन्न अभियान चलाउँदै आएका छन् । बाल विवाह न्यूनीकरणका लागि थालिएको अभियानले समाजमा प्रभाव पनि पार्न थालेको छ ।

उक्त गाउँपालिका–१० की १६ वर्षीया शिरिमाया पुन अहिले कक्षा १० मा पढिन्छन् । यो उमेरमै बाल विवाह न्यूनीकरण अभियानमा सक्रिय भएर लागेकी उनी वडास्तरीय गेमी मेलमिलाप किशोरी समूहको अध्यक्ष भएर वाल विवाह न्यूनीकरण अभियानको नेतृत्व गरेकी छन् । वडामा हुने बालविवाह, बालबालिकामाथि हुने हिंसा र सबै प्रकारका घरेलु हिंसाको विरुद्धमा उनले आवाज उठाउँदै आएकी छन् । सोही आवाजले अहिले उक्त वडामा २० वर्ष नपुुगी विवाह गराउन अभिभावक पछि हट्न थालेका छन् भने उमेर नपुगी विवाह गर्दा प्रहरीकहाँ पुगिन्छ कि भनेर स्वयं केटाकेटी पनि सचेत भएका पाइन्छ ।

पुथा–१० कै संस्कृति पुन पनि वडास्तरीय बाल क्लबको अध्यक्ष छिन् । उनको भूमिका पनि बालविवाह न्यूनीकरणको अभियानमा शिरीमायाको भन्दा फरक छैन । गाउँमा कतै बालविवाह हुन लागेको खबर पाउने बित्तिकै विवाह रोक्नका लागि विवाह भइरहेको घरमा पुग्ने, अभिभावकलाई सम्झाउने र नमानेमा स्थानीय सररकार र प्रहरीलाई खबर गर्न दौडधूप गर्छिन् अध्यक्ष पुन । सबैसँगको समन्वय र सहयोगमा बालविवाह रोक्न पनि सफल भएको उनी बताउँछिन् ।

गाउँपालिकास्तरमा भएका बालक्लब सञ्जाल, किशोरी सञ्जाल, आमा समूह सञ्जाल र वडास्तरमा भएका बालक्लब, किशोरी समूह, आमा समूहले गाउँपालिकाको विभिन्न क्षेत्रमा हुने बालविवाह, बालबालिकामाथि हुने हिंसा र घरेलु हिंसाको विरुद्धमा काम गरिररहेका छन् । उनीहरूले मासिक बैठक बसेर कार्ययोजना निर्माण गर्ने, लेबी उठाएर आवश्यक सानातिना समस्या टार्नेदेखि लिएर बालविवाह न्यूनीकरणसम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम गरिरहेका छन् ।

बालविवाहको विरुद्धमा काम गर्न बाल बहस किताबले आफूहरूलाई झन सजिलो बनाएको किशोरीहरूले बताएका छन् । आफूहरूको यस अभियानले पछिल्लो समयमा समाजमा खुलेआम बालविवाह गर्ने तथा गराउनेहरू सचेत भएको देख्दा खुसी लाग्ने गरेको वडा–१० की वडास्तरीय बालक्लबको पूर्वअध्यक्ष सुरपी पुन बताउँछन् । अहिले क्बल, सञ्जाल तथा समूहमा आवद्ध भइसकेपछि सबै बालबालिकाले खुलेर आफ्ना कुराहरू प्रस्तुत गर्ने, समस्याहरू उत्थान गर्नेदेखि लिएर बालबालिकामा हुने हिंसा तथा दुव्र्यवहारको विरुद्धमा पहल गर्ने र समाज तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउनेतर्फ अब्बल हुदै आएको उनी जानकारी गराउँछन् ।

बालबालिकामाथि हुने हिंसा विरुद्धको अभियान चलाउँदै आए पनि यसमा थुप्रै चुनौतीहरू रहेको समूह तथा क्बल, सञ्जालमा आबद्ध किशोरकिशोरीहरूले बताउँछन् । समाजमा गुपचुपरूपमा बालविवाह गर्ने गराउने, बालविवाह रोकेको खण्डमा समाजले तगारोको रूपमा हेर्ने, बालविवाह रोके पनि पछि फेरी भागेर विवाह गर्नेलगायत समस्याको सामना आफूहरूले गर्नुपरेको किशोरीहरूले सुनाएका छन् । यसमा आफूहरूलाई स्थानीय सरकार, प्रहरी, प्रशासन र समाजका अगुवाको साथ र सहयोगको आवश्यक रहेको उनीहरूको भनाइ छ । अहिले बालविवाह र बालबालिकामाथि हुने हिंसाको विरुद्धमा किशोरकिशोरीले चलाएको अभियानमा स्थानीय सरकार र प्रहरीले साथ दिइरहेको उनीहरूले बताएका छन् ।

किशोरकिशोरीको अभियानमा स्थानीय सरकार र प्रहरी पनि साथ हुँदा समाजमा हुने बालविवाह तथा बालबालिकामाथि हुने हिंसा पहिलेको तुलनामा अहिले कम हुँदै गएको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्ती बताउँछन् । बालविवाह व्याप्त रहेको यस गाउँपालिकामा पछिल्लो एक÷दुई वर्षयता किशोरकिशोरीहरू आफैँ सक्रिय हुँदा सकारात्मक परिवर्तन हुँदै गएको उनको भनाइ छ । गाउँपालिकाको विभिन्न क्षेत्रमा बालविवाह र बालबालिकामाथि हुने जुनसुकै खालको हिंसा र दुव्र्यवहारको किशोरकिशोरीले प्रतिकार गर्ने गरेको र त्यसमा समस्या आए गाउँपालिकाको न्यायिक समिति र प्रहरीकहाँ पुग्ने गरेको अध्यक्ष घर्ती बताउँछन् । यस अभियानमा गाउँपालिका सधैँ किशोरकिशोरीको साथमा रहेको पनि उनी उल्लेख गर्छन् ।
गाउँपालिकाको सात वटा वडामा युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलस्टरले सक्षम परियोजनामार्फत बालबालिकाको क्षेत्रमा काम गर्दै आएकोे छ । यसै परियोजनामार्फत स्थानीय सरकारसँगको समन्वयमा पालिकास्तरीय र वडास्तरीय बाल क्लब, किशोरी समूह तथा आमा समूह सञ्जाल निर्माण गरिएको छ भने वडास्तरमा बाल क्लब, किशोरी समूह र आमा समूह निर्माण गरिएको छ । यिनै सञ्जाल, समूह र क्लबलाई सक्रिय गराउदै बालबालिकाको क्षेत्रमा काम गरिरहेको र त्यसबाट सकारात्मक परिवर्तनहरू पनि हुँदै गएको सक्षम परियोजनाका व्यवस्थापक हेमन्त राई बताउँछन् ।

प्रतिक्रिया