धनगढी । दार्चुलामा शुक्रबार रातिदेखि आएको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण जिल्ला विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको छ ।
जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा हालसम्म ५ जनाको शव फेला परेको र १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक जगत गाहमगरले जानकारी दिए ।
मृतक जिल्लाको नौगाड गाउँपालिका–१, सल्ला की ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना, वडा नम्बर–२ का ६८ वर्षीय मोहनराम पार्की र महाकाली नगरपालिका–३ डुङ्रीकी ३५ वर्षीया मानमती कार्की, वडा नं. २ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बाढीपहिरोमा परी ८ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको नौगाड गाउँपालिका–१ सल्ला बस्ने बिरे ठगुन्ना, रम्भा ठगुन्ना, फागुनी ठुगुन्ना, जयबहादुर ठगुन्ना, महाकाली नगरपालिका–२ मैखोलीका ६४ वर्षीय हर्कसिंह शाहु वडा नं. ४ का अमरसिंह पार्की, मुसि पार्की र नौगाड– ६ का वर्ष ३० का राम टमाटा रहेको प्रहरीले जनाएको छ ।
घाइतेको उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । त्यसैगरी बेपत्ता हुनेमा महाकाली नगरपालिका–३ डुङ्ग्रिका धनसिंह कार्की, निजकै छोराहरु दीपक कार्की र दिनेश कार्की, वडा नं. २ कि मानमती शाहु, दुहुँ गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–१ लास्कु पारी डेरा गरी बस्ने बर्ष ३२ कि मञ्जु लुहार, वर्ष २७ का दिनेश लुहार, वर्ष ३ कि डल्ली लुहार,बर्ष २५ को साजन लुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
त्यसैगरी बाढीपहिरोबाट महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा २ सय ६३ चौपाय क्षति, ४२ घर पूर्ण क्षति , ९ मा आंशिक क्षति र ४० घर जोखिममा रहेका प्रहरीले जनाएको छ ।
१ विद्यालय पूर्ण क्षति, १ आंशिक र १ जोखिम, १ विद्युत पावर हाउस पूर्ण क्षति, २ झोलुङ्गे पुल,१ मोटरेवल पुल पूर्ण क्षति भएको, ६ जिप, १ कार १ ट्याक्टर बाढीमा वेपत्ता भएको जनाइएको छ ।
कैलाली
प्रतिक्रिया