पदोन्नतिका लागि लेखिएका लेख समालोचनाका समस्या हुन्

स्रष्टा संवाद

समालोचक तथा संस्कृतिकर्मी डा. कृष्णराज अधिकारी

समालोचक तथा संस्कृतिकर्मी डा. कृष्णराज अधिकारी नेपाली साहित्यमा परिचित नाम हो । कथा, कविता, नियात्रा, समालोचना तथा संस्कृतिका क्षेत्रमा कलम चलाउँदै आएका डा. अधिकारीका आधा दर्जन बढी कृति प्रकाशित छन् । नेपाली वाङ्मयलाई समृद्ध बनाउन गहन लेखनको खाँचो रहेको उनी बताउँछन् । उनले विश्वविद्यालयमा पढाउँदाका नोटहरुलाई नै सामान्य हेरफेर गरी समालोचनाका नाउँमा छपाउने र पदोन्नतिका लागि निर्धारित ढाँचामा लेखिएका समालोचनात्मक लेख लेख्नेहरु नै प्रायः समालोचकका रूपमा देखिएको जिकिर गरे । यही कारण समालोचनाका क्षेत्रमा समस्या देखापरेको बताउने डा. अधिकारीसँग समालोचना र नेपाली साहित्यका विविध पक्षमा केन्द्रित रही सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संवादः

० आजकल के मा व्यस्त हुनुहुन्छ ?

अहिले लेखनमा भन्दा अध्ययनतिर अलि बढी समय दिने गरेको छु । आफूसँग भएर पनि समयाभावले पढ्न नभ्याएका र नसकेका तर पढ्नुपर्ने लागेका कतिपय पुस्तकहरुको अध्ययनमा लागेको छु । कतिपय धेरै पहिले पढेका महत्वपूर्ण पुस्तकहरू दोहो¥याएर पढ्न थालेको छु जसमा समाजशास्त्र, मानवशास्त्र, इतिहास र दर्शन रहेका छन् । केही समय सिर्जनात्मक र समालोचनात्मक लेखनतिर पनि जान्छ । विभिन्न साहित्यिक–सांस्कृतिक सङ्घ–संस्थामा आबद्ध भएकाले तिनका बैठक र कार्यक्रममा पनि जानुपर्ने हुन्छ । विभिन्न पारिवारिक र सामाजिक दायित्वका कामहरु त हुने नै भए । चाहेर पनि लेखनलाई व्यवस्थित बनाउन सकेको छैन ।

० नेपाली साहित्यमा समालोचनाको अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ ?

नेपाली साहित्यमा हेर्दा जसरी सिर्जनात्मक लेखनको विकास र विस्तार भइरहेको छ सो अनुरूप समालोचनात्मक लेखनको विकास हुन सकेको देखिँदैन । पठन–संस्कृति र अझ गम्भीर कृतिहरूको लेखन र पठनमा आएको ह्रासको प्रभाव समालोचनामा पनि पर्नु स्वाभाविक हो । गम्भीर प्रकृतिको अध्ययन र लेखनभन्दा सतही र प्रचारमुखी अध्ययन–लेखनले प्रश्रय पाउनु, समालोचकलाई दोस्रो श्रेणीको साहित्यकारका रूपमा हेरिनु, समालोचनालाई प्राध्यापकीय कर्म ठानिनु र समालोचनाका नाममा लेखिने अधिकांश रचनाहरु वास्तविक समालोचनाभन्दा प्राध्यापकीय नोट वा कृति परिचयका रूपमा देखिनु पनि नेपाली समालोचनाका समस्या हुन् ।

विश्वविद्यालयमा पढाउँदाका नोटहरुलाई नै सामान्य हेरफेर गरी समालोचनाका नाउँमा छपाउने र पदोन्नतिका लागि निर्धारित ढाँचामा लेखिएका समालोचनात्मक लेख लेख्नेहरु नै प्रायः समालोचकका रूपमा देखिएका छन् । त्यस्ता समालोचनाले कृतिको गहिराइमा पसेर राम्रा–नराम्रा पक्ष उजागर गर्नुभन्दा पाठ्यक्रमले तोकेबमोजिम कृतिका निश्चित पक्षको वर्णनमा केन्द्रित रहेका हुन्छन् । कृतिको वैचारिक पक्षमा तिनको ध्यान गएको हुँदैन, त्यसैले तिनमा आलोचनात्मक पक्ष कम अनि प्रशंसा र विशेषता बढी पाइन्छ । पाठ्यपुस्तकमा नपरेका कृतिहरु त्यस्ता समालोचनाको दायरामा पर्न सकेका हुँदैनन् । तर, कृतिको सूक्ष्म अवलोकन गरी तिनका शिल्प र वैचारिक पक्षका कमजोरीमाथि निर्भिक प्रश्न उठाउने समालोचना पनि लेखिएका छन् । यस्तै सीमित समालोचनाले नै नेपाली समालोचनाको शाखलाई जोगाएका छन् ।

विश्वविद्यालयमा पढाउँदाका नोटहरुलाई नै सामान्य हेरफेर गरी समालोचनाका नाउँमा छपाउने र पदोन्नतिका लागि निर्धारित ढाँचामा लेखिएका समालोचनात्मक लेख लेख्नेहरु नै प्रायः समालोचकका रूपमा देखिएका छन् । त्यस्ता समालोचनाले कृतिको गहिराइमा पसेर राम्रा–नराम्रा पक्ष उजागर गर्नुभन्दा पाठ्यक्रमले तोके बमोजिम कृतिका निश्चित पक्षको वर्णनमा केन्द्रित रहेका हुन्छन् । कृतिको वैचारिक पक्षमा तिनको ध्यान गएको हुँदैन, त्यसैले तिनमा आलोचनात्मक पक्ष कम अनि प्रशंसा र विशेषता बढी पाइन्छ

० नेपालमा अझै पनि सही ढंगले समालोचना हुन सकेको छैन भनिन्छ नि ?

पछिल्लो समयमा नेपाली समालोचनाको अपेक्षित विकास हुन नसक्नुमा स्वस्थ र सही समालोचना हुन नसक्नु पनि हो । समालोचकमा कृतिको पिंधसम्म पुगेर मर्मबोध गर्नसक्ने क्षमता, गम्भीर अध्ययन, आलोचनात्मक चेत र विवेक अपेक्षित हुन्छ । गम्भीर अध्ययन र आलोचनात्मक विवेकको अभाव अहिलेका समालोचकको मुख्य समस्या हो । अहिलेका कतिपय समालोचनाहरु कृतिको बखान गर्ने वा तिनको विशेषता औंल्याउनुमै केन्द्रित भएको पाइन्छ । लेखकको अनुरोधमा वा प्रकाशकले दिने पारिश्रमिकका आधारमा लेखिने समालोचनामा कृतिगत कमजोरीपट्टि आँखा चिम्लँदै सबै राम्रो पक्ष मात्रै औंल्याइएको हुन्छ । मित्रको आग्रह र प्रकाशकले दिने पारिश्रमिकले समालोचकको विवेकलाई थिचेको हुन्छ । यसैले उसले त्यहाँ अलिकति पनि आलोचनात्मक दृष्टि पु¥याउने आँट गर्न सक्तैन । यसले लेखकलाई क्षणिक तुष्टि त दिन्छ तर कृतिभित्रका कमजोर पक्ष उजागर नहुँदा पछिल्ला कृतिहरु समेत उन्नत र परिष्कृत हुन पाउँदैनन् । यस्ता समालोचनाले नेपाली साहित्यलाई उचाइतिर पु¥याउन मद्दत गर्दैनन् । तर, सबै समालोचना त्यस्ताचाहिँ छैनन् ।

० समालोचकमा इमान्दारिता रहेन भने त त्यो सही हुन सक्दैन नि !

समालोचकको मुख्य गुण भनेकै नीर–क्षीर विवेक हो । ऊ कुनै पनि आग्रहबाट मुक्त भएको हुनुपर्दछ । सैद्धान्तिक कसीबाट वा वस्तुपरक कोणबाट कृतिलाई हेरियो भने मात्र त्यो यथार्थपरक समालोचना हुन पुग्छ । सम्बद्ध लेखक वा प्रकाशकको आग्रहमा लेखिने समालोचनामा तिनलाई सन्तुष्ट पार्नु नै मुख्य उद्देश्य हुने भएकाले त्यो यथार्थ वा वस्तुपरक समालोचना बन्न सक्तैन । अर्कातिर विश्वविद्यालयले निर्दिष्ट गरेको ढाँचा र उद्देश्यमा लेखिने समालोचना पनि प्रायः स्वतन्त्र प्रकृतिको हुन सक्तैन । कसैको आग्रह र अनुरोधमा लेखिने समालोचनाले कृतिप्रति न्याय गर्न सक्तैन । यथार्थ समालोचना सिर्जनात्मक पनि हुन्छ । कृतिले अभिव्यक्त गर्न खोजेका तर नसकेका कतिपय पक्षलाई समालोचनाले औंल्याइदिएको हुन्छ । कृतिको प्राप्ति र सीमाको निर्धारणसमेत गरिदिने भएकाले कवि–लेखक हिँडेको ठाउँ र अझ त्योभन्दा अघि नपुगीे सही अवलोकन गर्न सकिँदैन । यसैले समालोचक गम्भीर अध्येता हुनुका साथै उसमा आलोचनात्मक चेत, इमानदारी र निर्भिकता पनि हुनुपर्छ ।

० साहित्यमा परम्परागत कृतिहरुभन्दा नवीनतम कृतिमा के कस्ता फरकपन देखापरेका छन् ?

इन्टरनेट र डिजिटल प्रविधिको विकास तथा बिग डाटाको प्रयोगले साहित्यको क्षेत्रमा पनि ठूलो प्रभाव पारेको छ । अहिले डिजिटल युगको सत्ता बहुराष्ट्रिय निगमहरुमा केन्द्रित हुन पुगेको छ । तिनले जनताको आत्मनिर्णयमाथि नराम्ररी प्रभाव पार्दै बजार अनुरुप पुस्तकको प्रबद्र्धन र प्रचार गर्दछन् । कतिपय परम्परागत राम्रा कृतिहरुले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दथे भने अहिलेका कृतिहरु प्रायः बजार निर्देशित भएर लेखिएका हुन्छन् । आफ्ना कृतिले समाजमा के कस्तो असर पु¥याउँछ र समाजको सकारात्मक परिवर्तनमा तिनको कस्तो योगदान रहन्छ भनेर सोच्नुभन्दा पुस्तकले के कस्तो बजार लिन्छ र कति चर्चा पाउँछ भनेर लेख्ने र छापिने प्रवृत्ति बढ्दै गएको छ ।

नेपाली साहित्यको पछिल्लो अवस्थालाई हेर्दा कतिपय लेखकहरु विश्वसाहित्यबाट प्रेरित र प्रभावित हुँदै लेखनका विभिन्न शैली र प्रयोगलाई अपनाएको पाइन्छ । कृतिले दिने सन्देशलाई भन्दा त्यसको शैली र विषयलाई नवीन र फरक बनाउनतिर लागेको देखिन्छ । अर्काथरि लेखकहरु गम्भीर अध्ययन र साधनाविनै छोटो समयमै चर्चित हुन सामाजिक सञ्जालको प्रयाग गर्ने र पुरस्कृत हुन राजनीतिक तथा साहित्यिक शक्ति–केन्द्र धाउने गरेको देखिन्छ । परम्परागत कृतिहरुमा शैलीगत नवीनता र विषयगत विविधता त्यति नभेटिए पनि सामाजिक रुपान्तरण अनि व्यङ्ग्य र विद्रोहको स्वर अलि प्रखर पाइन्छ भने नयाँ कृतिहरुमा शैलीगत नवीनता, विषयगत विविधता, बाह्य प्रभाव र नयाँ प्रयोग भेटिए पनि सामाजिक रूपान्तरण र विद्रोह चेत प्रखर रूपमा आउन सकेको पाइँदैन । सीमान्तिकृत आवाज भने पछिल्ला कृतिहरुमा नै बढी मुखर हुने गरेको पाइन्छ ।

० नेपाली प्रगतिशील/प्रगतिवादी समालोचना कस्तो अवस्थाबाट गुज्रिरहेको छ ?

प्रगतिवादी धारा नेपाली साहित्यको प्रमुख साहित्यिक धारा रहेको कुरामा कुनै विवाद देखिँदैन । विधागत दृष्टिले हेर्ने हो भने त नेपाली समालोचनाको नेतृत्व नै प्रगतिवादी धाराले गरेको पाइन्छ । समालोचनापछि कवितालाई प्रगतिशील÷प्रगतिवादी विधाको सर्वाधिक उर्वर र विकसित विधा मान्न सकिन्छ । यसबाहेक पछिल्लो समयमा आउँदा निबन्ध÷नियात्रा साहित्यमा पनि प्रगतिशील धाराले श्रेष्ठता हासिल गरेको देखिन्छ । अन्य विधाहरुमा भने त्यस्तो स्थिति देखिँदैन । प्रगतिवादी समालोचना समग्र समालोचना विधाकै नेतृत्वदायी स्थानमा रहनुमा प्रगतिवादी समालोचनाको स्थिति उन्नत र विकसित भएर नभई समानान्तर धारामा समालोचनाको अवस्था कमजोर भएर हो ।

पठन–संस्कृतिमा आएको ह्रास र गम्भीर अध्येताको अभाव हुँदै आएको यो स्थितिमा समालोचना लेख्ने र प्रकाशन गर्ने काम जोखिमपूर्ण रहेको छ । साहित्यलाई बजारको माल जस्तो ठान्ने प्रकाशकहरु समालोचनाका पुस्तकलाई ‘नबिक्ने माल’ सम्झिन पुग्छन् । यसैले पनि वास्तविक समालोचनाले फस्टाउने अवसर पाएको छैन । यस्तो प्रतिकूलताका बीच पनि कतिपय लेखकहरू विश्वविद्यालय बाहिर र भित्रै रहेर पनि समालोचनालाई नै प्रमुख विधा बनाएर लेख्ने गरेको पाइन्छ । पछिल्लो समयमा आउँदा प्रगतिवादी नेपाली समालोचनाभित्र पनि वैचारिक अस्पष्टता देखिन थालेको पाइन्छ ।

० प्रगतिवादी साहित्यले अंगीकार गरेको डोरेटो कसरी अगाडि बढिरहेको पाउनु हुन्छ ?

नेपालमा प्रगतिशील साहित्यको अवस्था झट्ट हेर्दा निकै उन्नत र विकसित देखिए पनि पछिल्लो समयमा आउँदा यो खस्कँदो अवस्थामा देखिन्छ । देशको राजनीतिको प्रतिच्छाया समाजका विभिन्न अवयवहरुमा पर्ने भएकाले साहित्यमा पनि राजनीतिको प्रतिच्छाया पर्नु स्वाभाविक हो । देशको राजनीति विशेषतः वामपन्थी राजनीति र अझ सत्तामा गएका वाम पार्टीहरुमा आएको वैचारिक स्खलन, विकृति र विसङ्गतिले यहाँको प्रगतिशील–प्रगतिवादी साहित्यलाई असर पारेको छ । एकथरि प्रगतिशील भनिने लेखकहरुका रचना हेर्दा तिनका रचना र कथित बुर्जुवा भनिने लेखकका रचनामा कुनै भिन्नता पाइँदैन । व्यक्ति आफूलाई प्रगतिशील भन्छ र कम्युनिस्ट पार्टीको सदस्य पनि भएको हुन्छ तर उसका रचना पूरै प्रतिक्रियावादी चरित्रका पाइन्छन् भने अर्काथरि लेखकका रचनामा क्रान्ति र परिवर्तनका कुरा त आएका हुन्छन् तर तिनमा कलात्मक मूल्यको अभावले गर्दा साहित्यिक मूल्यका दृष्टिले कमजोर देखिन्छन् । यी दुईथरि प्रवृत्तिभन्दा बाहेक लेखिएका निकै कम साहित्यमा मात्र विचार र कलाको उचित संयोजन भएको पाइन्छ । यसैले प्रगतिशील साहित्य सङ्ख्यात्मक दृष्टिले विकास हुँदै गएको देखिए पनि गुणात्मक दृष्टिले कमजोर हुन थालेको पाइन्छ । अध्ययन र साधनाको अभाव आजको प्रगतिशील साहित्यको मुख्य समस्या रहेको छ ।

अहिले डिजिटल युगको सत्ता बहुराष्ट्रिय निगमहरुमा केन्द्रित हुन पुगेको छ । तिनले जनताको आत्मनिर्णयमाथि नराम्ररी प्रभाव पार्दै बजार अनुरुप पुस्तकको प्रबद्र्धन र प्रचार गर्दछन् । कतिपय परम्परागत राम्रा कृतिहरुले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दथे भने अहिलेका कृतिहरु प्रायः बजार निर्देशित भएर लेखिएका हुन्छन्

० नेपाली साहित्यको पठनले संस्कृति र इतिहास बोधमा कस्तो प्रभाव पारेको छ ?

साहित्यले समाजबाट कच्चा पदार्थ लिएर त्यसलाई परिष्कार (तयार) गरी पुनः समाजलाई दिने हो । यसैले विगतमा घटेका ऐतिहासिक घटना होऊन् वा वर्तमानको यथार्थ अवस्था होस् तिनका हरेक क्रियाकलाप, जीवन–शैली र संस्कृतिका गाथाहरु साहित्यमा अभिव्यक्त भएको हुन्छ । मानिसले गरेका जीवन सङ्घर्ष, उत्पादन सङघर्ष र वर्ग सङ्घर्षका यावत् गतिविधिलाई कलात्मक प्रतिबिम्बन गर्ने भएकाले साहित्यको पठनले संस्कृति र इतिहास–बोधमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । इतिहास प्रायः शासक र जित्नेहरुकै लेखिने भएकाले लेखिन नसकिएका तथ्यहरुलाई साहित्यको माध्यमबाट व्यक्त गरिएको हुन्छ । ‘महाभारत’ को अध्ययनबाट शासकहरुको तहमा नै भए पनि तत्कालीन समाज, संस्कृति, जनअपेक्षा, आकाङ्क्षा र मनोविज्ञानलाई धेरै हदसम्म बोध गर्न सकिन्छ, जुन अन्य स्रोतबाट पाउन सकिँदैन । यसैले इतिहास र संस्कृति बोधका लागि साहित्य–पठनको महत्व रहेको हुन्छ ।

० साहित्यमा केन्द्र (राजधानी) र मोफसल भन्ने गरिन्छ, यसप्रति यहाँको बुझाइ के हो ?

सिद्धान्ततः साहित्यमा केन्द्र र मोफसल भन्ने हुँदैन । साहित्य सिर्जनाको लागि शहर र गाउँले कुनै तात्विक अर्थ राख्दैन । लेखक जुन ठाउँमा बसेर साधना गर्छ त्यही नै उसको लागि केन्द्र हो । तर नेपालको सन्दर्भमा यो कुरा राजनीतिबाट साहित्यमा सरे जस्तो लाग्छ । शासकको भक्ति गर्ने, उसकै वरिपरि बस्ने अनि स्तुति र प्रशंसाका भक्ति–रचना गर्दै शासकहरुबाट मान, पदवी र पुरस्कारहरु बटुल्ने परिपाटीले गर्दा त्यस्ता कवि लेखकहरु केन्द्रमा बस्ने र बाहिर बस्नेले त्यस्तो अवसर नपाउने हुनाले यस्तो भनाइ आएको हो । नेपालको केन्द्रिकृत र एकात्मक शासन व्यवस्थाले त्यस्तै परिपाटीको विकास ग¥यो । विभिन्न विद्यालय, कलेज र पुस्तकालयहरु पनि आफ्नै निगरानीमा खोल्ने र त्यहाँ सामान्य व्यक्तिको पहुँच नपुग्ने हुनाले पनि केन्द्र र मोफसलको धारणा जन्मेको हो । शासक वा सरकारको दृष्टि केन्द्र वा राजधानीमा बस्नेमाथि पर्ने र अन्य लेखन–पठनका सुविधाहरु पनि केन्द्रमै सीमित हुने तर बाहिर वा मोफसलमा बस्नेहरू त्यस्तो सुविधा र अवसरबाट बञ्चित हुने भएकाले पनि यो मान्यताको विकास भएको हो । व्यवहारतः यस्तो देखिन्छ पनि । तर संघीय राज्य–व्यवस्था र जनचेतनाका कारण अहिले त्यो मान्यता विस्तारै भत्किँदैछ ।

० नेपालमा भाषा, साहित्य र संस्कृतिको उन्नयनमा लागेका संस्थाहरुको स्थिति कस्तो पाउनु भएको छ ?

भाषा, साहित्य र संस्कृतिको उन्नयनमा लागेका भनिए पनि सबै संस्थाहरु उस्तै प्रकृतिमा पाइँदैनन् । कुनै संस्थाहरु व्यक्ति विशेषले वैध–अवैध तरिकाले कमाएको अकूत सम्पत्तिलाई चोखो ठह¥याउन त्यसको सानो अंश साहित्यिक संस्था स्थापनामा लगाएका हुन्छन् भने कोही भाषा–साहित्यको सेवा गरेको देखाउनकै लागि केही रकम आफ्नो वा परिवारको नाउँमा प्रतिष्ठान स्थापनामा लगाउँछन् । यस्ता संस्थाहरु वास्तवमै साहित्य सेवाको उद्देश्यले नभई स्थापनाकर्ताको नाम र प्रतिष्ठा कायम गर्नका लागि गठन भएका हुन्छन् । यसैले यस्ता संस्था वा प्रतिष्ठानमा सदस्यहरु पनि आफ्ना परिवार र नातागोतालाई राखिएको हुन्छ भने पुरस्कार पनि आफ्नो चाहना अनुरुप प्रदान गरिएको हुन्छ ।

सरकारी लगानीमा स्थापना भएका संस्थाहरुमा पनि सत्ता राजनीतिको छाया पर्दै आएको पाइन्छ । पार्टीको सिफारिसमा पदाधिकारी र सदस्यहरु नियुक्ति गरिने हुँदा भाषा–साहित्य वा कला–संस्कृतिको क्षेत्रमा योगदान गरेकाप्रति कसैको दृष्टि पुग्न सक्दैन । वाङ्मय सेवीभन्दा पार्टीका कार्यकर्ताहरु नियुक्ति गरिने भएकाले यस्ता संस्थाहरु पनि प्रायः वाङ्मयिक क्षेत्रको उन्नयन र विकासभन्दा पार्टीका रोजगारदाता संस्था बन्न थालेको पाइन्छ ।

यसका अतिरिक्त भाषा–साहित्य वा कला–संस्कृतिको उन्नयन र विकास गर्ने उद्देश्यले जनस्तरबाट खुलेका र आफ्नो छाक कटाएर भाषा–साहित्यको उत्थानका लागि व्यक्ति विशेषको सक्रियतामा खोलिएका कतिपय संस्थाहरुले स्रोत–साधनको अभावमा अपेक्षित काम गर्न सकिरहेका छैनन् । यस्ता संस्थाहरुप्रति न सरकारी निकायको ध्यान पुग्छ न त अन्य क्षेत्रको । स्रोत–साधनको अभावका बाबजूद पनि यस्ता संस्थाहरुले केही न केही योगदान गर्दै आएको पाइन्छ ।

० नेपालमा सरकारी र निजीस्तरबाट वितरण गरिने पुरस्कारप्रति तपाईको धारणा के रहेको छ ?

भाषा–साहित्य तथा कला–संस्कृतिका लागि दिइने सरकारी पुरस्कारको रकम बढ्दै गए पनि तिनको वजन र महत्व घट्दै गएको छ । केही अपवादबाहेक प्राज्ञिक योगदानभन्दा पार्टी योगदान वा नेता–भक्तिलाई आधार मानेर दिइने यस्ता पुरस्कारले स्वाभिमानी लेखक–कलाकारका लागि गर्वबोधभन्दा हीनताबोध गराउने स्थितिमा पु¥याउने हो कि भन्ने आशङ्का उठ्न थालेको छ ।

निजी क्षेत्रमा स्थापित अधिकांश पुरस्कारहरु संस्थापकको रुचि र चाहना बाहिर पुग्न सकेका हुँदैनन् । तर सबैलाई एउटै तराजुमा राख्नु भनेको जनस्तरबाट स्थापित र केही निजी स्तरमै स्थापित राम्रो काम गर्दै आएका संस्थाहरुका लागि भने अन्याय हुन जान्छ । विशुद्ध वाङ्मय सेवाको भावले स्थापना भएका संस्थाको पुरस्कारलाई बर्षे च्याउझैं उम्रिएका बाक्ला पुरस्कारहरुले ओझेल पारिदिएका छन् ।

० पालिकादेखि प्रदेश र केन्द्रीय प्रतिष्ठान वा सांस्कृतिक संरचनाको आवश्यकता किन प¥यो ?

देश सङ्घीय संरचनामा गएपछि अन्य संस्थाहरु झैं राजधानी केन्द्रित वाङ्मयिक प्रतिष्ठानहरुलाई पनि विकेन्द्रित गर्नु आवश्यक हुन्छ । देशभित्रका विभिन्न भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि हरेक प्रदेशमा प्रतिष्ठान गठन गरिनुलाई स्वाभाविक मान्न सकिन्छ । तर प्रतिष्ठान सम्बद्ध प्रदेशको कला–साहित्य र संस्कृतिको विकासमा भन्दा बेरोजगार पार्टी कार्यकर्तालाई रोजगारी दिन संस्थाका रुपमा विकास गरियो भने त्यसको औचित्य रहँदैन । अहिले गठन भएका कतिपय प्रदेश र पालिकाका प्रतिष्ठानलाई हेर्दा त्यस्तो स्थिति देखिन्छ । यसलाई सच्याउँदै प्रतिष्ठानलाई उद्देश्यमूलक वा कार्यमूलक संस्थामा परिणत गरिनुपर्छ ।

समालोचक तथा संस्कृतिकर्मी डा. कृष्णराज अधिकारी

० एउटा असल साधक र उसको जीवनीबीच कस्तो सम्बन्ध हुनुपर्छ ?

लेखक–कलाकारलाई समाजको एउटा आदर्श व्यक्तिका रुपमा लिइने हुनाले उसको जीवन–चरित्र पनि आदर्शमय हुनुपर्छ । शब्द र कर्मबीच एकत्व वा मेल भएमा मात्र उसको व्यक्तित्व इमानदार र अनुकरणीय हुन्छ । एउटा कुरा लेख्ने तर व्यवहार त्यसको उल्टो गर्ने लेखक ढोंगी र पाखण्डी हुन्छ । त्यस्ता लेखक–कलाकारका कृति जति नै उत्कृष्ट भए पनि समाजमा तिनको सम्मान रहँदैन ।

० अबको साहित्य कस्तो लेखिनु पर्दछ ?

सञ्चार र प्रविधिले विश्व नै एउटा गाउँ जस्तो भएको आजको विश्व–व्यवस्थामा एकातिर वर्गीय विभेद झन् झन् विकराल बन्दै गइरहेको छ भने अर्कातिर शक्तिराष्ट्रहरुको प्रतिस्पर्धाबाट प्रकृतिमाथिको अतिसय दोहनले पृथ्वी र सिङ्गो मानव जातिको भविष्यमाथि नै चुनौती थपिदिएको छ । यसैले आजको साहित्यले एकातिर वर्गीय लगायत हरेक विभेदको अन्त्यका लागि आफ्नो लेखनलाई प्रभावकारी बनाउनु आवश्यक छ भने अर्कातिर सिङ्गो मानवजातिको हित र संरक्षणका लागि शक्तिराष्ट्रको युद्ध–उन्मादका विरुद्ध पनि सशक्त रूपमा कलम चलाउनु आवश्यक भएको छ । त्यसको लागि साहित्यमा विभिन्न विधा र शैली अपनाउँदै आम जनताले पढ्न र बुझ्न सक्ने सरल र प्रभावकारी भाषा र नयाँ शैलीको प्रयोग गरिनु आवश्यक हुन्छ ।

प्रतिक्रिया