अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद घरमै पुगेर नागरिकता प्रदान गर्दै

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले महाकाली नगरपालिका वडा नम्बर ३ बाजका ६६ जयसिंह महरा र महाकाली नगरपालिका वडा नम्बर ७ का ४९ वर्षिया रामदत्त जोशीलाई घरमै गएर नागरिकता प्रदान गरेका हुन् ।

महरा लामो समय देखि विरामी भई हिडडुल गर्न नसक्ने भएका थिए । भने जोशी विगत १५ वर्षदेखि प्यारालाइसिस भएर थला परेका थिए । नागरिकताका लागि प्रशासनसम्म आउन सक्ने अवस्था नभएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिनका लागि सहजीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।

महराले २०३८ सालमा नागरिकता बनाएको र नागरिकता नष्ट भएको हुदाँ प्रशासन सम्म आउने अवस्था नभएकाले अशक्त व्यक्तिलाई सहज रूपमा नागरिकता प्रदान गर्न र नागरिकता पाउनबाट वञ्चित नहुन भनेर भाद्र १५ गते घरमै गएर औँठाछाप लगाएर नागरिकता प्रदान गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद घरमै पुगेर नागरिकता प्रदान गर्दै

जोशी अपाङ्ग छँदा नै नागरिकता प्राप्त गरेका जोशीले प्यारालाइसिसपछि नागरिकता नष्ट हुँदा नयाँ बनाउन सकेका थिएनन् । अशक्त व्यक्तिलाई सहज रूपमा नागरिकता प्रदान गर्न र नागरिकता पाउनबाट वञ्चित नहुन भनेर भाद्र ७ गते घरमै गएर औँठाछाप लगाएर नागरिकता प्रदान गरिएको सहायक प्रजिअ साउँदले बताइन् ।

अति अशक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयसम्म आउन निकै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि घरदैलोमा नै सेवा दिन प्रशासन तत्पर रहेको जनाएको छ ।

प्रतिक्रिया