बासस्थान साँघुरो हुँदा हात्तीको आक्रमण

दोधारा चाँदनी । कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ ।

जङ्गल नजिकै मावनबस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ । सोमबार मात्रै शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा ६ जनाले ज्यान गुमाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

विसं २०७८ मा शुक्लफाँटा–१ वन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भएको हो । लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो ।

यसवर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गत साता मात्रै बेदकोट नगरपालिका हात्तीथालाकी एक महिला हात्तीको आक्रमणबाट घाइते भएकी छन् ।

हात्तीको आक्रमणबाट मानिस मात्रै होइन किसानको अन्नबाली र घरमा क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले हात्तीको बासस्थान साँघुरिँदै गएपछि हात्तीको आक्रमण बढ्न थालेको बताए । ‘दुई तीन वर्षयता हात्तीको आक्रमण बढेको छ’, उनले भने, ‘पहिला सिजनमा आउने हात्ती छोटो समयमा फर्किन्थ्यो अहिले दुई–तीन महिनासम्म यहाँ बस्ने गरेको पाइन्छ ।’ हात्ती प्रायः एउटै ठाउँमा नबस्ने र घुमफिर गरिरहने भएकाले हात्ती हिँड्ने बाटोमा पनि आक्रमण हुने गरेको छ ।

‘हात्ती एउटै स्थानमा बस्दैन एकै रातमा पाँच–सात किलोमिटर हिँड्छ’, उनले भने, ‘हाम्रो यहाँ वनजङ्गल कम ६ वटा हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन त्यो बीचमा धेरै बस्ती छन् ।’

उनका अनुसार हात्ती हिँड्ने बाटोमा बस्ती भएका कारणले पनि मानिसमाथि हात्तीको आक्रमण बढेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मौसमी रुपमा ५०–६० को बथान भारतीय दुधुवा नेसनल पार्कबाट आउने गरेका छन । यी हात्तीको वथान कहिले नेपाल कहिले भारततर्फ आउजाउ गरिरहेको हुन्छन् ।

‘बच्चाको साथमा आएको हात्तीले आक्रमण गर्दैन’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘५– वटा भाले अधबैंसे हात्ती बथानबाट एक्लिएका छन् उनीहरुले बथान खोज्दै हिँड्छन्, ती हात्ती नडराउने र छिटो आक्रमण गरिहाल्ने हुन्छन् ।’

उनका अनुसार ती अधबैसे हात्ती अहिले स्थायी रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बस्न थालेपछि बस्तीमा आक्रमण हुन थालेको हो । कञ्चनपुरमा मध्यवर्ती क्षेत्रमा शिविर धेरै छन् विशेषगरी हात्ती हिँड्ने बाटोमा बस्ती विस्तार भएका कारण हात्तीले अन्नबाली र घरमा क्षति पुर्याउने गरेको छ ।

प्रतिक्रिया