धनगढीमा सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन आग्रह

धनगढी । धनगढी उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै धनगढी उपमहानगरपालिका– १ कैलाली पुल देखि वडा नम्बर ८ क्याम्पस चौक हुलाकी सडकसम्मको मुख्य सडकको केन्द्रदेखि दायाँबायाँ १५–१५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन आग्रह गरेको हो ।

मुख्य सडकलाई चौडा पारी नयाँ निर्माण कार्यक्रम रहेको हुँदा उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भई रहेको र केही महिना भित्रै सडक निर्माण कार्यको बोलपत्र प्रकाशित हुने भएकाले सडकको दायाँबायाँ १५–१५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना असोजमसान्त भित्र हटाउन सम्बन्धि घर तथा जग्गा धनीलाई अनुरोध गरिन्छ सूचनामा भनिएको छ ।

तोकिएको समयमा त्यस्ता संरचना हटाउन अटेरी गर्ने घर जग्गा धनीलाई प्रचलित ऐन कानून अनुसार कारवाही गरिने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया