आठ सर्जकलाई प्रज्ञा पुरस्कार

काठमाडौं । नेपालको भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान दिएका आठ स्रष्टा पुरस्कृत हुने भएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रदान गर्दै आएको प्रज्ञा पुरस्कारबाट रुपन्देहीका रामचन्द्र भट्टराई, दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पा, कञ्चनपुरकी शर्मिलाकुमारी चौधरी, भोजपुरका प्रा डा प्रेमकुमार खत्री, काठमाडौंका प्रा विद्यानाथ उपाध्याय, काठमाडौंकै डा नयनाथ पौडेल, भारतको दार्जिलिङका नरबहादुर दाहाल र झापाका प्रा डा गोविन्दराज भट्टराईलाई सम्मान गर्ने निर्णय गरिएको हो ।

प्रतिष्ठानको गत साउन ३० गते सम्पन्न प्राज्ञ सभाको ३७औँ बैठकले २०७९ सालका लागि भट्टराईलाई ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’, पहाडी–हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि शेर्पालाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ तथा मधेश–तराईमा बोलिने मातृभाषाको साहित्यका लागि चौधरीलाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ दिने निर्णय गरेको हो । यी पुरस्कारको राशि जनही एक लाख रहेको छ ।
यसैगरी, प्रा.डा खत्रीलाई ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’, प्रा. उपाध्यायलाई ‘नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार’ र डा पौडेललाई ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए । यी पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ । यस्तै, २०७८÷७९ का लागि दार्जिलिङका दाहाललाई दुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ र प्रा.डा भट्टराईलाई दुई लाख राशिकै ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । यी पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छन् ।

प्रत्येक चार वर्षमा प्रदान गरिने नेपालकै सर्वोच्च र विशिष्ट पुरस्कार चार लाख राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ र तीन हजार अमेरिकी डलर राशिको ‘नेपाल प्रज्ञालङ्कार’ दुई वर्षअघि नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र चीनका प्राध्यापक वाङ हङ्वेईलाई प्रदान गरिसकिएको छ ।

प्रतिक्रिया