एनआरएनए यूकेकी महासचिव लिम्बु बर्खास्त

काठमाडौं । गैर आवासीय नेपाली संघ बेलायतले महासचिव खुशी लिम्बुलाई बर्खास्त गरेको छ । गत ६ अगष्टमा अल्डरसटमा सम्पन्न संस्थाको ११ औं वार्षिक साधारणसभाले लिम्बुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । साधारणसभाको निर्णय तथा घोषणापत्र सार्वजनिक गर्दै सोमबार संघका अध्यक्ष प्रेम गाहामगर उक्त जानकारी दिए ।

विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘महासचिव लिम्बुले संस्थाको विधि, विधान र आचरणविपरित कार्य गरेको भन्ने सम्बन्धमा अध्यक्ष प्रेम गाहामगरले विभिन्न प्रमाण, लिम्बुलाई सोधिएको स्पष्टीकरण र गठित छानविन समिति र सो समितिको प्रतिवेदनबारे अवगत गराउनु भएको थियो । सभाका प्रतिनिधिहरुको राय सल्लाहपछि अध्यक्ष मण्डलले खुशी लिम्बुलाई संस्थामा राखिराख्न उचित नभएको निष्कर्षसहित ११ औं साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभाले वर्खास्त (फायर) गर्ने निर्णय गरेको हो ।’

साथै, साधारणसभाले लिम्बुलाई दुई साताभित्र संस्थाको सबै प्रपर्टी, एक्सेस र जे जति छन् तिनीहरुलाई जस्ताको तस्तै (जस्तैः फेसबुक, इमेल, कागजात इत्यादि) फर्काउन निर्देशन दिने निर्णय गरेको विज्ञिप्तमा जनाइएको छ । बर्खास्त भएका लिम्बुले संस्थाका अध्यक्ष गाहा मगरलाई मानहानी हुनेगरी गतिविधि र सामाजिक रुपमा सम्प्रेषण समेत गरेकोमा लिखित रुपमा संस्थासमक्ष दुई हप्ताभित्र माफी मागेमा साधारण सदस्यता यथावत राखिने अन्यथा निजको सदस्यता समेत खोसिने (रिभोक) निर्णय गरेको विज्ञप्तिमा छ ।

साधारणसभा तथा संघसंस्थाको प्रतिनिधिसभाको यो निर्देशनलाई नमाने निज लिम्बुलाई अध्यक्ष र संघ समेतलाई मानहानी गरेको ठहर गर्दै संस्थागत खर्चमै कानूनी प्रक्रियामा जाने साधारणसभा तथा संघसंसथाको प्रतिनिधिसभाले निर्णय गरेको छ ।

उता, एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेलले संघका अध्यक्ष गाहामगरको जानकारी बिना विधान तथा बेलायतको च्यारिटी कमिसनको संहिताविपरीत सानिमा बैंक लिमिटेड, काठमाडौं नेपालको खातामा ३९ हजार २८५ पाउण्ड ७३ पेन्स (३९,२८५.७३) रकम संघको बैंक खाताबाट २८ जुलाई २०२२ मा पठाएकोमा सो रकम पब्लिक फण्ड भएकाले १४ दिनभित्र स्पष्टीकरण र रिफण्ड गराउन संघका कोषाध्यक्ष खरेललाई साधारणसभा तथा संघसंस्थाको प्रतिनिधिसभाले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवधिभित्र निज खरेलले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा र १४ दिनभित्र पैसा फिर्ता नगरेमा साधारणसभा र प्रतिनिधिसभाको म्यान्डेटअनुसार उनी स्वतः निलम्बनमा पर्ने निर्णय गरेको छ । उनी निलम्बन परेको खण्डमा संघका अध्यक्ष गाहा मगरलाई संघको आर्थिक जिम्मेवारी वहन गर्ने गरी कार्यवाहक कोषाध्यक्ष तोक्न अधिकार प्रत्यायोजन गर्ने सोही सभाले निर्णय गरेको छ ।

निज खरेलले बेलायतको च्यारिटी कमिसनको नियमविपरित र पब्लिकको म्यान्डेटबिना ‘पब्लिक फन्ड’ पठाएको हुनाले १४ दिनभित्रमा सो रकम फिर्ता नभए बेलायतको प्रचलित कानुनअनुसार प्रक्रियामा जाने निर्णय गरेको जनाइएको छ ।
साथै सो बारेमा सत्यतथ्य बुझी संस्थाको पैसा फिर्ता गर्न ११ औँ साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभाले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिको संयोजकमा एनआरएनए युकेका सल्लाहकार डा. भीम पुन, सदस्य सचिवमा पूर्व एनआरएनए आइसीसी सदस्य तथा एनआरएनए यूकेका सल्लाहकार विश्वासदीप तिगेला र सदस्यमा स्याङ्जा जिल्ला समाज यूकेका अध्यक्ष तथा एनआरएनए यूकेका सल्लाहकार शारदा गुरुङ छन् ।

गत निर्वाचनबाट निर्वाचित महासचिव खुशी लिम्बुलाई साधारणसभाले बर्खास्त गरेकाले बाँकी अवधिका लागि निर्वाचित सचिव नम्रता घले गुरुङलाई साधारणसभा तथा संघसंस्थाको प्रतिनिधिसभाले महासचिवको पदमा चयन गरेको पनि जनाइएको छ । साथै, रिक्त रहेको महिला सचिव पदपूर्ति गराउन साधारणसभा तथा संघसंस्थाको प्रतिनिधिसभाले समेत अध्यक्ष प्रेम गाहा मगरलाई अधिकार दिएको छ ।

सो समिति र कार्यसमिति अनि सम्बन्धित व्यक्ति समेतको समन्वय गर्न सहजकर्ता (मिडिएटर)का रुपमा एनआरएनए यूकेका पूर्व अध्यक्षहरु रिटायर्ड मेजर डमर घले (एमबीई), योगेन्द्र क्षेत्री र सल्लाहकार ओम थापालाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया