सारेगामा म्युजिक अवार्डको तयारी पूरा

काठमाडौं । सारेगामा म्युजिक अवार्डको लागि सम्पूर्ण प्रक्रिया पूरा भएको छ । आगामी मंसिर २ गते अवार्ड वितरण गर्ने योजना अनुसार गत साउन १ गतेबाट आवेदन फाराम खुलेको थियो । तर, हालसम्म पनि अनलाइन आवेदन फाराम भर्ने क्रम जारी रहेको सारेगामा स्टुडियोका प्रबन्ध निर्देशक विजय गुरुङले जानकारी दिए ।

नेपालकै पहिलो अपोलो ८ साउण्ड कार्डबाट राम्रो क्वालिटीको गीत रेकर्ड गर्दै आइरहेको अत्याधुनिक प्रविधिको स्टुडियो सारेगामा प्राइबेट लिमिटेडले पहिलो कार्यक्रममार्फत गीत संगीतमा योगदान दिएका विभिन्न कलाकारहरुलाई प्रोत्साहनको लागि अवार्ड प्रदान गर्न लागेको प्रबन्ध निर्देशक गुरुङले बताए ।

उक्त अवार्ड वितरण अन्य संघ–संस्थाहरुको भन्दा फरक तथा निष्पक्ष तवर र आधुनिक भोटिङ सिस्टमबाट हुने संस्थाकी अध्यक्ष तृप्ति खड्का गुरुङले बताइन् । ‘हाम्रो अवार्ड वितरण फरक ढंगबाट तथा निष्पक्ष तवर र आधुनिक भोटिङ सिस्टमबाट हुन्छ’, उनले भनिन्, त्यसरी जाँदा कलाकार तथा सर्जकलाई मर्का पर्दैन ।’

बजारमा आएका २०७८ देखिका गीतहरु मान्य हुने तृप्तिको भनाइ छ । ‘अहिले बजारमा अवार्ड वितरण गर्ने संस्थाहरु च्याउ उम्रेको जस्तै उम्रेका छन्’, उनले भनिन्, यस प्रविधिलाई मध्यनजर गर्दै हामीले केही नयाँ र फरक ढंगबाट अवार्ड वितरणको तयारी गर्दै छौँ, यहाँसम्म दुःख गरेर निर्माता, गाएक, गायिका, मोडेल आउनुहुन्छ, उहाँहरुलाई सारेगाम अवार्डले निष्पक्ष तरिकाबाट सानो प्रोत्साहन दिने प्रतिबद्धता गरेको छ ।’

नेपाली मौलिक गीत संगीतमा योगदान दिएका कलाकारहरुलाई अवार्डमार्फत सम्मान गर्न लागेको उनको भनाइ छ । सारेगामा रेकर्डिङ स्टुडियो सामाखुसीस्थित सरकारी धारामा रहेको छ ।

प्रतिक्रिया