भेलोसिटीमा गाईजात्रा

काठमाडौं । मुलपानीमा रहेको द भेलोसिटी स्कुलले आयोजना गरेको गाईजात्रा विशेष कार्यक्रम विभिन्न प्रस्तुतिका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा अभिनेत्री रेखा थापा उपस्थित भएकी थिइन् । थापाले आफू स्कुल पढ्दाको बाल्यकालका दिनको स्मरण गर्दै बालबालिकालाई पढाइ र सिकाइप्रति लाग्न अभिप्रेरित गरिन् ।

सो कार्यक्रममा अभिनेत्री थापासँगै हाँस्यकलाकार घनश्याम गौतम र सुरेश तिमल्सिनाले प्रचण्ड र केपी ओलीको क्यारिकेचर गरेर राजनीतिक व्यंग्य गरेका थिए । नेताको कुर्सीको लडाइँले जनताले दुःख पाएकाले अबको चुनावमा भोट हाल्दा विचार गर्नुपर्ने सन्देश भएको गाईजात्रे नाटकमा कलाकार सानू घायल, सरिता राजोपाध्याय, अनिल गुरुङ, दीपक दुलालले उनीहरुलाई साथ दिएका थिए । कार्यक्रम सुरु हुनुअघि बाजागाजासहित लाखेनाच र विद्यार्थीलाई विभिन्न भेषभूषामा विद्यालय परिसर परिक्रमा गराइएको थियोे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्याब्सन काठमाडौंका सदस्य महेन्द्रराज घिमिरेले गाईजात्राको महत्वबारेमा बताएका थिए । साहित्यकार डम्बर घिमिरे, कवि पशुपति दंगाल, कलाकार कुमारमणि गजुरेल लगायतले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए । भेलोसिटी स्कुलका विद्यार्थीको गायन तथा नृत्य प्रस्तुत गरे । स्कुलका प्रिन्सिपल रेखा खनालले नेपालको मौलिक संस्कृति जोगाउन स्कुलले कार्यक्रमको आयोजना गरेको बताइन् । सभापति रेखा खनालले गरेकी थिइन् । सञ्चारकर्मी एवं रङकर्मी मोहन अभिलाषीले कला र संस्कृतिको जर्गेना गर्ने दायित्व सबै नागरिकको भएको बताए ।

प्रतिक्रिया