संरक्षण गरिँदै ऐतिहासिक च्यांग्रे पोखरी

भोजपुर । पौवादुङमा गाउँपालिकाको प्रमुख सौन्दर्यको रूपमा रहेको च्यांगे्र पोखरी संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर आर्थिक स्रोतका रुपमा जोड्न दुई करोड रुपैयाँभन्दा बढी लागतमा संरक्षण गर्न लागिएको होे । सिंगोे गाउँपालिकाको आकर्षण केन्द्रको रूपमा रहेको यो पोखरीलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मान्न सकिन्छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर थप विकास गरिरहेको छ ।

पोखरीको मौलिकतालाई यथावत राख्दै आधुनिक प्राविधि प्रयोग गरेर विकासको काम गरिरहेको गाउँपालिकाले जनाएको छ । क्रमागत योनजाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पोखरी थप विस्तार तथा संरक्षणको काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । सम्झौताअनुसार ०८० को चैत महिनासम्म पूर्णपमा सम्पन्न गर्ने गरी दुई करोड १९ लाख ९९ हजार २ सय २४ रुपैयाँमा काम भइरहेको उनले सुनाए । यो काम थालनी भएको दोस्रो वर्ष हो । हालसम्म ४० प्रतिशत काम सकिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘मन्त्रालयसँगको लागत साझेदारीमा पोखरी संरक्षणको काम भइरहेको छ । हालसम्म ४० प्रतिशत काम सकिएको छ । पोखरीे संरक्षणको काम तीव्रगतिमा गरिरहेका छौँ । ०८० सम्ममा सक्ने सम्झौता छ ।’ धरै मिहिनेतपछि केन्द्रीय सरकारबाट बजेट विनियोजन भएपछि काम गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । अहिले पोखरीलाई पर्खालले घेर्ने, वरिपरि पाँच मिटरको बगैँचा निर्माण गर्ने, बालबालिकाका लागि पार्क बनाउने, बीचमा पानीको फोहोरा (माउटेन्ड फल्स) राख्ने र बोटिङ गर्न सक्ने गरी संरचना बनाइने उनले बताए ।

‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्धरूपमा लागेका छौँ,’ अध्यक्ष राईले भने, ‘यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपिआर बनाइसकेका छौँ तर स्थानीय सरकारलाई आएको बजेटबाट काम गर्न निकै समस्या छ । त्यसैले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ । यस्ता क्षेत्रको विकासले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने हामीले आशा लिएका छौँ ।’

गाउँपालिकाको अर्को पर्यटकीयस्थल अरुणडाँडाको विकासका लागि पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । यस्ता क्षेत्रको विकास तथा प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई बढाउने लक्ष्य लिइएको छ ।

यो पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेको छ । पोखरीको प्राकृतिक सुन्दरता अवलोकन गर्न आन्तरिक पर्यटकहरू पुग्न गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् ।
परापूर्वकालमा यहाँ च्यांग्रा आएर पोखरीको पानी खाने, दिनभर त्यतै आराम गर्ने भएकाले ‘च्याग्रे पोखरी’ नामाकरण गरिएको स्थानीयको कथन छ । पोखरी बनेदेखि नै पानी जुनसुकै खडेरीमा पनि सुकेको छैन । स्थानीय चन्द्रबहादुर खत्रीले भने, ‘एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो तर प्रचार नहुँदा छायाँमा परेको छ । गाउँपालिकाले यसको विकासका लागि काम थालनी गरेकामा हामी खुसी छौँ ।’
यही पोखरीको नामबाट यहाँ च्यांग्रेबजारसमेत लाग्ने गरेको छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारका रूपमा विस्तार भएको छ । च्यांग्रे घुम्न आउने जोकोहीको गन्तव्य नै यो पोखरी हो । विश्राम गर्ने, घुम्ने, डुल्ने, तस्बिर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक त्यहाँ पुग्छन् । विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुन्छ । ऐतिहासिक र धार्मिक महत्वको पोखरीमा पर्यटन प्रवद्र्धन गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीय बताउँछन् । स्थानीय लीला सुनारले भने, ‘यो महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो । यहाँ विभिन्न समयमा मेला लाग्छ ।

मानिसहरूको आवतजावत वृद्धि हुँदा व्यापार व्यवसायमासमेत टेवा पुग्छ ।’ पोखरीमा बिहान, दिउँसो र साँझ फरक–फरक रङ देख्न सकिने स्थानीयले बताए ।
पोखरीलाई विशेष आकर्षण दिएर पर्यटकको आवागमन बढाउनका लागि संरक्षणको काम थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् । ‘यसको विकास तथा प्रचारमा गाउँपालिका लागिपरेको छ । उनले भनिन्, ‘बृहत्तर विकासका लागि डिपिआरअनुसारको काम गर्छौँ । यसलाई जिल्लाको एक आर्कषण केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य छ ।’

प्रतिक्रिया