रुपन्देहीमा डेंगुको संक्रमण बढ्दै

रुपन्देही । रुपन्देहीमा डेंगुको संक्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा दुई सय ६९ डेंगुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए । जिल्लामा २०६७ देखि डेंगुको समस्या देखिएको हो । २०६७–०६८ मा दुई सय ९० जनामा डेंगुको संक्रमण देखिएको थियो । आव २०७६–०७७ मा यो संख्या बढेर दुई हजार ९ सय ३० पुगेको थियो ।

यो संख्या गत वर्ष घटेर ४६ मा झरेको थियो । अहिले पुनः बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाहले बताए । डेंगुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उनको भनाइ छ ।

डेंगुको संक्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा डेंगुको वस्थाबारे जानकारी गराउँदै शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रुप लिन सक्ने बताए ।

‘खोप छैन, त्यसैले जोखिम छ । घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नुपर्छ’, उनले भन्नुने । डेंगुको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकले अभियान सुरु गरेको छ ।

उपमहानगरका सबै वडामा डेंगु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए । अभियानअन्तर्गत समूह–समूहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उनको भनाइ छ ।

विपद् व्यवस्थापन समितिको अगुवाइमा स्वास्थ्यकर्मीको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको उपप्रमुख सावित्रादेवी अर्याल बताइन् । यो एक सरुवा रोग भएकाले महामारीको रुप लिन नदिननन सबै सचेत हुनुपर्नेमा उनको जोड छ ।

यसको संक्रमणले ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा माँसपेशी दुख्ने, आलस्य हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेजस्ता लक्षण देखा पर्छन् ।

एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । डेंगुको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ ।

डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र विरामी अझै कमजोर हुने गर्दछन् । तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्ने निरीक्षक शाहले बताए ।

प्रतिक्रिया