उकालो लाग्दै साइबर अपराध

अपराधको फेरिँदो स्वरूप

काठमाडौं । भक्तपुरकी एक युवतीले इन्टाग्राममार्फत एक युवकलाई फलो गर्न थालिन् । नाम चलेकै एयरलाइन्स कम्पनीमा काम गर्ने ती युवतीले सुरुमा आफ्नो सबै पारिवारिक रहस्य पनि युवकसामु खोलिन् । ह्वाट्सएपमा पनि ती युवती अन्जान एकाउन्टसँग जोडिइन् ।

उनी जोसँग जोडिइन्, उसैले ह्वाट्सएपमा उनको नम्बर तर, नाम अर्कै राखेर अन्य साथीहरूसँग गफ गर्न थाले । एकाएक ती युवकले ती युवतीको इन्ट्रामा सन्देश पठाएर भने, ‘यो केटी ऋण लिएर तिर्दिनँ, अरूको पैसामा रमाउँछे । यस्ती केटीलाई किन काम गर्न दिएको ।’ उक्त सन्देश एयरलाइन्स कम्पनीमा पनि भाइरल भयो ।

इन्ट्राग्राममा पनि युवतीसँग युवकले गफ गर्न थाले । १२ लाख रुपैयाँ नदिए युवतीको परिवारलाई नै घरबाटै उठाइदिने धम्की आएपछि भने ति युवती यतिबेला प्रहरीसम्म पुगेकी छन् । साउनको दोस्रो साता प्रहरीको साइबर ब्युरोमा उजुरी दिन पुगेकी ती युवती प्रहरीसँग धेरै रोइन् । उनले जसरी पनि आपूmलाई दुःख दिने ती युवकलाई कारबाही गर्न प्रहरी गुहारिन् ।

साउनमै ब्युरोमा अर्को घटना दर्ता भएको छ, फेसबुक एकाउन्टका सम्बन्धमा । लाजिम्पाटका एक युवकलाई फेसबुकमा साथी बन्न एक युवतीको रिक्वेस्ट आयो । ती युवकले नचिने पनि अनुहार राम्रो देखेर सहजै रिक्वेस्ट एसेप्ट गरे ।

तर, फेसबुकमा युवतीको तस्बिर भए पनि रिक्वेस्ट पठाउने व्यक्ति भने पुरुष थिए । उनले आफ्नो प्रोफाइलमा युवतीको तस्बिर राखेर ती युवकलाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । तर, यो कुरा फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्ने युवकलाई थाहा थिएन ।

त्यसपछि एकाएक ती युवकलाई म्यासेन्जरमा भिडियो कल आयो । उनले भिडियो कल रिसिभ गर्दा एउटी युवती निर्वस्त्र भएर नाचिरहेको देखियो । ती युवकले पनि निसंकोच भिडियो हेरिरहे । भिडियोको बीचमा ती युवतीले युवकलाई पनि निर्वस्त्र नाच्न आग्रह गरिन् ।

उत्तेजनामा रहेका ती युवक पनि निर्वस्त्र भएर नाच्न थाले । तर, भिडियोमा प्रत्यक्ष नाचिरहेकी ती युवतीको आवरणमा अर्का युवकले भिडियो रेकर्ड गरिरहेका थिए । पीडित युवकको नाच सकिएको एक घण्टापछि म्यासेन्जरमा सन्देश आयो ।

उक्त सन्देशमा लेखिएको थियो, ‘१० लाख रुपैयाँ दिने भए देउ नभए यो भिडियो फेसबुक र युट्युबमा हालेर तिम्रो बेइज्जत गरिदिन्छु ।’ त्यसपछि मात्रै ती युवक तनावमा परे । सुरुमा एक लाख हुँदै चार लाखसम्म एकाउन्टमा जम्मा गरिदिए । फेरि पनि थप पैसाको माग भएपछि पीडित युवकले साइबर ब्युरो पुगेर प्रहरीमा उजुरी दिएका छन् । यो घटनामा पनि ब्युरोले अनुसन्धान गरिरहेको छ ।

यसैगरी गत शुक्रबार एक युवती उजुरी लिएर ब्युरोमा पुगिन् । उजुरी देखेर प्रहरी पनि छक्क परे । युवतीले लिएर गएको उजुरीमा उनै युवती निर्वस्त्र भएर नाचिरहेकी थिइन् । त्यो पनि अन्तर्राष्ट्रिय मोडलिङको नाममा ।

एक युवकसँग फेसबुकमा साथी बनेपछि उनलाई मोडलिङ गर्ने अफर आयो । ती युवकले थुप्रै अन्य युवतीको निर्वस्त्र फोटो मोडलिङ गरेको भन्दै पठाएपछि ती युवतीले पनि निर्वस्त्र भएर फोटो र भिडियो पठाएकी थिइन् ।

पोजपोजका फोटो र भिडियो पठाएकी ती युवतीलाई केही समयपछि एकाएक फेसबुकमा सन्देश आयो, ‘पहिला खिचेर पठाएका फोटो र भिडियो डिलिट गर्ने भए १० लाख रुपैयाँ देउ ।’ ती युवतीले सुरुमा फोटो र भिडियो डिलिट गर्न अनुरोध गरिन् । तर, युवतीलाई बार्गेनिङ गर्ने ती युवकले उनको कुरा मानेनन् । पैसा मागेको माग्यै गरे । त्यसपछि युवती अहिले ब्युरोमा पुगेकी छन् । यो घटनामा पनि ब्युरोले अनुसन्धान गरिरहेको छ ।

यसैगरी राजधानीमा नाम चलेकै एक विद्यालयकी शिक्षिकाले बेलायत जाने नाममा ४० लाख रुपैयाँ गुमाएको घटना पनि निकै रोचक छ । फेसबुकमै चिनजान भएको एक युवकसँग लगातार गफ गर्ने क्रममा ती शिक्षिकाको खातामा दुई लाख रुपैयाँ आउँछ ।

एकाएक दुई लाख रुपैयाँ आफ्नो खातामा आएपछि उनले सोही रकमबाट सपिङ पनि गर्छिन् । दोस्रो दिन युवकले पैसा नपुगे अरू पनि पठाइदिने आश्वासन दिएर उनको पारिवारिक अवस्थाको बारेमा खोधखोज गर्छन् । युवतीले पनि सजिलै सबै कुरा बताइदिन्छिन् ।

उनले आफ्नो बाबु नेपाल सरकारको सचिवबाट अवकाशप्राप्त भएको, दाजु अमेरिकामा रहेको र आपूmु राजधानीको नाम चलेकै एक विद्यालयमा मासिक ४० हजार रुपैयाँमा काम गरिरहेको सबै यथार्थ ती युवकलाई बताउँछिन् ।

त्यसपछि ती युवकले पुनः दोस्रोपटक युवतीको खातामा पाँच लाख रुपैयाँ पठाइदिन्छन् । युवतीले आश्चर्य मान्दै सोध्छिन्, ‘यत्रो पैसा किन पठाएको ?’ युवकले पनि सहजै जवाफ दिन्छन्, ‘म काठमाडौं आउँदै छु । त्यसपछि हामी विवाह गर्र्छौं । यता कमाएको पैसा पठाएको हो । विवाह गरेर हामी दुबै जना फेरि बेलायत जाने हो ।’

युवकको प्रस्तावलाई युवतीले सहजै स्वीकार्छिन् । एकाएक युवकले एक भारतीय नम्बरबाट फोन गरेर युवतीलाई ४० लाख रुपैयाँ पठाउन आग्रह गर्छन् । आपूmले धेरै डलर बोकेकाले भारतीय प्रहरीले पक्राउ गरी जेलमा राखेको र हिरासतबाट छुट्न ४० लाख नेपाली रुपैयाँ प्रहरीले मागेको भन्दै ती युवकले युवतीलाई फोनमा सम्झाउँछन् ।

युवतीले पनि परिवारका सदस्यलाई थाहै नदिई आफ्नो गरगहना बेचेर ४० लाख रुपैयाँ युवकको खातामा जम्मा गरिदिन्छन् । पैसा खातामा जम्मा गरेको भोलीपल्टैदेखि युवक सम्पर्कविहीन हुन्छन् । फेसबुकमा समेत युवतीलाई अनफ्रेन्ड गर्छन् । त्यसपछि मात्रै ती युवती ब्युरोमा उजुरी दिन पुग्छिन् । प्रहरीले अहिले पीडकको खोजी गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरिएका माथिका घटनाहरूले समाजमा बढ्दै गएको साइबर अपराधको प्रवृत्तिलाई छताछुल्ल पारेको छ । अझ भनौँ, फेसबुकमा चिनजान भएकै भरमा विश्वासमा परेर ठगिने युवा पुस्ताले यस्ता घटनाबाट बेलैमा शिक्षा लिएर आफ्नो मनःस्थिति फेर्नु जरुरी छ ।
अब स्कुले विद्यार्थीतिर जाउँ । अहिले अधिकांश विद्यार्थीहरू ‘पबजी’ नामक मोबाइल गेममा झुम्मिरहेको देखिन्छ । तर, त्यही पबजीले धेरै विद्यार्थीको भविष्य अन्धकार बनाइरहेको छ । विद्यार्थीका अभिभावकसमेत आजित बनेका छन् ।

लुम्बिनी प्रदेशबाट ब्युरोमा एउटा घटना अनुसन्धान गर्न पत्र आएको छ । मोबाइलमा पबजी खेलेका एक किशोरलाई ‘युसी कोड’ हाल्न अनुरोध आउँछ । ती किशोरले सहजै कोड नम्बर दिन्छन् । अरू त अरू फेसबुकका आइडी र पासवर्डसमेत दिन्छन् ।

तर, जसले ती किशोरलाई फसाउन चाहेका हुन्छन्, उनैले फेसबुक ह्याक गरेर अन्य साथीहरूलाई जथाभावी सन्देश पठाइदिन्छन् । जब साथीहरूबाट ती किशोरलाई गालीको वर्षा हुन थाल्छ त्यसपछि मात्रै उनी झस्यांग हुन्छन् । अनि ती किशोर प्रहरीसमक्ष पुग्छन् । अहिले ब्युरोले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

यसैगरी ब्युरोमा साइबरमार्फत हुने नयाँ अपराधको उजुरी पनि आएको छ, क्रिप्टो करेन्सी स्क्यामको विषयमा । धनुषा जिल्लाका एक युवकले दर्ता गरेको उजुरी अनुसार, उनलाई ‘विन्टरस्नोएफएक्स’ नामको एक वेबसाइटमार्फत ग्राहक बन्न जिमेल एकाउन्टमा रिक्वेस्ट आउँछ । ती युवक पनि सहजै ग्राहक बनिदिन्छन् ।

उनी आफ्नो एकाउन्टमा भएको डलर साट्ने धाउन्नमा हुन्छन् । एकाउन्टमा भएको डलरमध्ये ४ हजार ८ सय डरल साट्न खोजेका ती युवकलाई डलर साट्दा १० प्रतिशत कर लाग्ने जनाउ वेबसाइटले दिन्छ । एफएफसी (फिनान्स फ्यूचर कन्ट्याक्ट) मार्फत डलर सटही गर्ने उक्त वेबसाइटले भने अनुसार ती युवकले डलर साट्न खोज्छन् ।

तर, डलर पठाएपछि सटही गर्ने त परै जाओस, वेबसाइटबाटै ती युवकको सबै विवरण हराउँछ र वेबसाइट पनि खुल्न छाड्छ । त्यसपछि मात्र ती युवकले आपूm ठगिएको कुरा थाहा पाउँछन् र उजुरी लिएर ब्युरोसमक्ष पुग्छन् ।

ब्युरोका प्रवक्ता एसपी पशुपति रायका अनुसार एफएफसी नामक मुद्रा सटही वेबसाइटले एकअर्कालाई अझै नचिनेका पक्षहरूबीच भविष्यमा निदृष्ट रूपमा डेलिभरीका लागि पूर्वनिर्धारित रूपमा केही किन्न वा बेच्न एक मानकीकृत कानुनी सम्झौता गर्दै आएको देखिन्छ । ब्युरोले ती वेबसाइट खोल्ने र कारोबार गर्ने व्यक्तिको खोजी भइरहेको बताएको छ ।

ब्युरोका अनुसार पछिल्लो समयमा ह्वाट्सएपमार्फत धेरै मानिस ठगिएका छन् । नेपाल सरकारका उच्चपदस्थ अधिकृतदेखि विश्वविद्यालयमा पढाउने प्राध्यापक र मिडियाकर्मीसम्म विभिन्न बाहनामा ठगिएका उजुरी ब्युरोमा परेका छन् ।

राम्री युवतीले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउने बित्तिकै साथी बन्ने र ती युवतीले नै पछि पैसाको बार्गेनिङ गरेर दुःख दिएको उजुरी लिएर उच्चपदस्थ कर्मचारीहरू समेत ब्युरोमा पुग्ने गरेको जानकारी एसपी रायले दिए ।

‘जो धेरै समाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्ट्राग्राममा झुम्मियो, उनीहरू नै पीडित हँुदै आएका छन् । हाम्रोमा अहिले सरकारका उच्चपदस्थदेखि सुरक्षाकर्मी र मिडियाकर्मीहरू समेत पीडित बनेर उजुरी दिन आइरहेका छन्,’ एसपी रायले सौर्यसँग भने, ‘अन्जान व्यक्तिले फेसबुक वा ह्वाट्स एपमा जोड्न खोज्यो भने इन्कार गर्नुस्, अन्यथा त्यसले समस्या निम्त्याउन सक्छ ।’

ब्युरोमा आर्थिक वर्ष ०७६÷७७ मा २ हजार ३ सय १, ०७७÷७८ मा ३ हजार ९ सय ६ र ०७८÷७९ मा ४ हजार ६ सय ८६ वटा उजुरी दर्ता भएका थिए । उजुरीअनुसार ०७६÷७७ मा ५० वटा, ०७७÷७८ मा ७६ वटा र ०७८÷७९ मा १ सय ३० वटा घटनाको विद्युतीय अपराधमा मुद्दा दर्ता भएको थियो ।

‘प्रायः उजुरी लिएर आउनेले आफ्नो घरपरिवारमा बेइज्जती भएको, कसैले धम्की दिएको र ठगी गरेको भन्दै आउँछन्,’ एसपी रायले भने, ‘हामी सकेसम्म दुवै पक्षलाई राखेर उनीहरूबीच देखिएको असमझदारीलाई हटाउने प्रयास गर्छौं । तर, कानुनले मिल्दै नमिल्ने अस्वस्थामा भने मुद्दा दर्ता गरेर प्रक्रियामा जान्छौँ ।’

ब्युरोका अनुसार मौजुदा कानुनका कारण पनि मुद्दा चलाउनै पर्ने धेरै पीडक छुटिरहेका छन् । विद्युतीय कारोबार ऐन–०६३ मा विद्युतीय अपराध थिएन । जब विद्युतीय अपराधका घटना बढ्यो, तब कानुनले उनीहरूलाई कारबाही गर्ने मापदण्ड पुग्दैन । सरकारले ०७५ सालमा विद्युतीय ऐन संसद्मा दर्ता गरेको थियो । तर, अहिलेसम्म पनि संसद्बाट त्यो ऐन पारित भएको छैन । त्यो ऐन अहिले पारित भए पनि पछिल्लो समय साइबर अपराधको फेरिँदो स्वरूपका कारण अझै कारबाहीको मापदण्ड अपुग हुने ब्युरोको दाबी छ ।

खासगरी ०७५ सालको ऐनमा नेपालमा विशेषगरि सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, इन्टाग्राम र ह्वाट्सएपको सूचना आदानप्रदान गर्ने सम्पर्क कार्यालय स्थापना गर्ने विषय उल्लेख थियो । अहिले कोही व्यक्ति फेसबुक ह्याक गर्न पुग्यो भने ब्यूरोले अमेरिकास्थित कार्यालयमा निवेदन पठाएर मात्रै गर्नसक्छ । तर, सम्पर्क कार्यालयहरू नेपालमै भए सहज हुने विश्वास ब्युरोको छ । त्यसो त ब्युरोमा दक्ष प्राविधिक कर्मचारीहरूको पनि अभाव छ ।

ब्युरोका एक अधिकृतले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग दिनप्रतिदिन बढ्दो छ । यसको नियमन गर्न हामीसँग मौजुदा स्रोतले पुग्दैन । आवश्यक स्रोत साधन र दक्ष प्राविधिक कर्मचारी पूर्तिबारे सरकारले बेलैमा सोच्नु जरुरी छ ।’

प्रतिक्रिया