काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको लागि असोज २३ गते उम्मेदवारी दर्ता कार्यक्रम तय गरेको छ । सोही दिन प्रदेशसभाका लागि पनि उम्मेदवारी दर्ताको कार्यक्रम राखेको निर्वाचन आयोगले जनाएको छ ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३ सय ३० स्थानका लागि चुनाव हुने कार्यक्रम छ । सरकारले यस अघिनै निर्वाचनको मिति घोषणा गरीसकेको छ।
आयोगको आइतबार बसेको बैठकले आगामी मंसिर ४ का लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेकाे छ। । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको हो । सो कार्यतालिका बुधबार राजपत्रमा प्रकाशित गर्न लागेको आयोगले जनाएको छ । प्रकाशन गरेपछि कार्यतालिकाले पूर्ण रुपमा कानूनी मान्यता पाउने छ ।
आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ ।
त्यसैगरी समानुपतिकको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने छ । संघतर्फ १ सय १० जनाले समानुपातिक प्रतिनिधित्व गर्ने छन् । उम्मेदवारी दर्तासँगै संसदको अवधी समेत असोज २२ सम्म हुने छ ।
प्रतिक्रिया