बेलायतमा सिर्जित तीन कृति प्रकाशित

काठमाडौं । नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरले एकै पटक तीन कृति प्रकाशन गरेको छ । बेलायतलाई कर्मभूमि बनाइरहेका सर्जक हरिसिंह थापाका दुई र डा.सुधा श्रेष्ठको एक कृति प्रकाशित भएको हो । चार दशकभन्दा लामो समयदेखि बेलायतमा बसोबास गरिरहेका थापाले रचना गरेको लघुउपन्यास ‘पद्मिनी’ र कविता संग्रह ‘थेम्स नदीका नागबेलीहरु’ प्रकाशित भएको हो । साहित्यकार थापाले आप्mना कृतिमा कर्मभूमि बेलायत भए पनि नेपाल, नेपाली र यहाँको जीवनशैली तथा संस्कृतिलाई भरपूर रुपमा उपन्यास र कवितामा अभिव्यक्त गरेका छन् ।

पद्मिनी लघुउपन्यासमा थापाले नेपालको ग्रामीण परिवेशको अवस्थालाई सरल ढंगले प्रस्तुत गरेका छन् । त्यहाँको जीवनशैली, चेतना, सहयोगी भावना, अभाव, गाउँलेको सरलपन, जान्ने सुन्ने भइटोपलेकाका गल्ती, सामान्य चेतना भएकाको बुद्धिमता लगायतका विविध विषयलाई कृतिमा प्रस्तुत गरिएको छ । बेलायती हावापानीमा लामो समय बसे पनि उनले उपन्यास पद्मिनीमा पूर्णतः नेपालीपनलाई झल्काएका छन् ।


यस्तै, ‘थेम्स नदीका नागबेलीहरु’ कविता संग्रहमा थापाले जीवनका उतारचढाव, स्वदेशको माया र बेलायतले दिन नसकेको सन्तुष्टि जस्ता विषय उठान गरिएको छ । स्वदेशको मायालाई कलात्मक रुपमा उधिनिएको यस संग्रहमा झण्डै चार दर्जन कविता, तीन दर्जन गीत मुक्तक र गजल समेटिएका छन् । एउटा परदेशीलाई देशको माया कति लाग्छ भन्ने प्रमाणको रुपमा पनि यो संग्रहलाई लिन सकिने सर्जक थापाले बताए ।

उनको कविता संग्रहका बारेमा साहित्यकार गोपाल पराजुली भन्छन्, ‘हरिसिंहको बेलायतदेखि नेपालसम्म बगेको भावनाको नागवेलीमा कहिले सत्लुङ्मा हिडाउँछ । कहिले ब्ल्याकवाल टनेलमा आँखा पु¥याउँछ । कतै उठ्छन् शब्दहरु । कतै खस्छन् । पृथ्वीका दुवै भाग टेकेका स्मृतिहरु स्थापित छन् यहाँ । सतहमा । परिधानमा ।’

त्यस्तै, बेलायतलाई नै कार्यक्षेत्र बनाइरहेकी सर्जक डा. सुधा श्रेष्ठको पहिलो प्रकाशित कृतिको रुपमा ‘थेम्स नदीका दुई किनारा’ आएको छ । यसमा कवयत्रीले जीवनको भोगाई र मोडलाई विशेष महत्व दिएको पाइन्छ ।

प्रतिक्रिया