वाल्मीकि प्राध्यापक संगठनको अध्यक्षमा अधिकारी 

काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठन वाल्मीकि विद्यापीठको अध्यक्षमा तेजविलास अधिकारी निर्विरोध निर्वाचित भएका छन् । पाँचौ एकाइ सम्मेलनले अधिकारीको अध्यक्षतामा सात सदस्यीय समिति सर्वसम्मत  चयन गरेको हो । सम्मेलनले समितिको उपाध्यक्षमा डा.बिपिराज न्यौपाने, सचिवमा सोमनाथ शर्मा, कोषाध्यक्षमा शालिकराम ढकाल तथा सदस्यहरुमा यतिराज भट्टराई, पदमबहादुर महत, एलमिरा रिसाल निर्वाचित गरेको छ । 

सम्मेलनको उद्घाटन गर्दै संगठनका बागमती प्रदेश अध्यक्ष भीम रेग्मीले गुणस्तरीय शिक्षामा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयलाई खोज अनुसन्धानको केन्द्रका रुपमा विकास गर्दै राष्ट्र निर्माणमा लगाउनुपर्ने धारणा व्यक्त गरे । डा. विष्णु दाहालले माटो सुहाउँदो शिक्षामा ध्यान दिनुपर्ने बताए । उनले नेपाल दर्शन, ज्ञान, सीप आदिको केन्द्र भएकाले यसको सही ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रा.डा. काशीनाथ न्यौपानेले ज्ञान र विज्ञानको विकासमा विश्वविद्यालयले विशेष ढंगले काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष डा.भोलानाथ भट्टराईले संगठनले शैक्षिक बहसलाई व्यवस्थित ढंगले अगाडि बढाउन विश्वविद्यालयलाई अभिप्रेरित गर्ने  बताए । यस्तै, डा. बिपिराज न्यौपाने नेपाल संस्कृत विश्वविद्यालयले पूर्वीय ज्ञानलाई गहन ढंगले अगाडि बढाउने अपेक्षा राख्दै संगठनले यस कार्यमा विश्वविद्यालयलाई सधैं घच्घचाइरहने विश्वास व्यक्त गरे ।


यस्तै, सो कार्यक्रममा डा.तिलक केसी, डा.प्रेमराज न्यौपाने, प्रकाश सापकोटा, हरि न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनले डा. विष्णु दाहाल, प्रा.डा. काशीनाथ न्यौपाने र डा. भोलानाथ भट्टराई रहेको सल्लाहकार समितिसमेत बनाएको छ । नवनिर्वाचित अध्यक्ष अधिकारीले शैक्षिक गुणस्तर निर्माण र बौद्धिक बहस विमर्शमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘विश्वविद्यालयलाई व्यवस्थित ढंगले सञ्चालन गर्नमा संगठनले सकारात्मक पहलकदमी लिन्छ । साथै नेपालमा विकास भएका ज्ञान, विज्ञान, सीप लगायतका विविध पक्षमा खोज अनुसन्धान गर्नका लागि संगठनले सक्दो सहयोग गर्नेछ ।’ 

प्रतिक्रिया