हडैया गाउँमा रेशम खेती अभियान

दाङ । दाङको गढवा यसै पनि गर्मी नै हुने ठाउँमा पर्छ । वरपरका गाउँका खेतबारी केही खाली छन् केहीमा धान रोपाइँ भइरहेको छ । त्यहीँबाट केही पर पुगेपछि भने हरियाली छ रेशम खेतीको । गढवा गाउँपालिका–४ हडैया गाउँको हो यो रेशम खेती । हडैया गाउँको करिब ६० बिघा जमिनमा फैलिएको छ यो खेती । जसले हरियालीसँगै गाउँको शोभा पनि बढाएको छ । विगतका केही वर्षदेखि हडैया गाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा रेशम खेती गर्ने अभियान नै सुरु भएको छ ।

यस अभियानका अगुवा मानिन्छन्, धादिङका किसान महेशदत्त अधिकारी । सो गाउँमा सबैभन्दा पहिले धादिङको गल्छी गाउँपालिका–४ भल्टारका किसान अधिकारीले रेशम खेती सुरु गरेका हुन् । उनले हडैया गाउँलाई रेशम खेतीबाट हरियाली बनाएपछि यसले अरु किसानलाई प्रेरणा दिएको हो । उनले सुुरुमा खाली रहेको १० बिघा जमिन भाडामा लिएर रेशम खेती थाले । अहिले पनि उनी यही खेतीमा रमाइरहेका छन् । गएको पाँच वर्षदेखि ३६ वर्षीय अधिकारी रेशम खेतीमै व्यस्त छन् । ‘बुबाले धादिङमा ३६ वर्षदेखि यही खेती गरिरहनुभएकोले बुबाकै प्रेरणाबाट यस खेतीमा लागेको हुँ अहिले धादिङमा पनि खेती छ,’ उनले भने ।

रेशम खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यही पेसा अपनाएको र आगामी दिनमा यसलाई अझै बढाउने योजना रहेको उनले सुनाए । अधिकारीले भने, ‘दाङमा यसको सम्भावना राम्रो रहेको र जमिन पनि पर्याप्त भएकाले यहाँ आएर खेती गरेको हुँ ।’ यहाँ आएर सुरुमा रेशम खेती गर्नुप¥यो भन्दा गाउँलेले विश्वास नगरेको अनुभव उनले सुनाए ।

डेढवर्षमा बाँझोबारी हरियो भयो । त्यसपछि रेशम कीराका लार्भा ल्याएर उनले पाल्न सुरु गरे । उनले भने, ‘राम्रो भएपछि सबै गाउँले छक्क परे । त्यसपछि किमुका पात टिप्दै रेशम कीराका लार्भालाई खुवाउँदै, हुर्काउँदै कोकुन उत्पादन गरेँ, यो प्रक्रियाले उनीहरूमा चाख पनि बढायो । कोकुन उत्पादन भएर त्यसबाट गाउँमै धागो उत्पादन गर्न थालेपछि किसान आकर्षित भए ।’

अधिकारीले अहिले कोकुनबाट धागो निकाल्ने कामका लागि गाउँका १५ जनालाई रोजगारीसमेत दिएका छन् । उनको काम देखेर हडैया र त्यस आसपासका अन्य गाउँका किसान पनि यस खेतीतर्फ आकर्षित भएका छन् । अहिले यहाँ विभिन्न ६ वटा समूह नै बनाएर सामूहिक र केही किसानले व्यक्तिगत रुपमा त्यहाँको ५० बिघा जमिनमा रेशम खेती गरेका छन् । दाङमा तयार भएको कोकुनबाट धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बनाउने काम भने धादिङबाट गर्दै आएको उनले बताए ।

आफनो उद्योग धादिङ र काठमाडौंमा रहेको उनले जानकारी दिए । अब केही समयपछि दाङबाट प्रशोधन गर्ने र कपडा बनाउने आफनो योजना रहेको उनले बताए । सबै खर्च कटाएर वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म बचत गर्न सफल भएको बताउने अधिकारी आफ्नो कमाइबाट सन्तुष्ट छन् । एक वर्षमा चारदेखि पाँच पटकसम्म कोकुन उत्पादन गर्न सकिने हुँदा आम्दानी पनि राम्रो लिन सकिने उनको अनुभव छ । रेशम खेती अन्य खेतीको तुलनामा महँगो पर्ने र रेशम कीराले उत्पादन गर्ने कोकुन प्रतिकेजी पाँच सय रुपैयाँ पर्ने उनले बताए । रेशम खेती सेतो सुनका रूपमा पनि लिने गरिन्छ ।

तैपनि केही समस्या छन् । उनले भने, ‘यहाँ सिँचाइको अभाव छ । त्यस्तै कीरापालन गर्ने घर पर्याप्त छैनन् ।’ त्यस्तै यहाँ उत्पादन हुने कोकुनको यही प्रशोधन र कपडा बुन्ने तान भए कपडा नै तयारी गर्न सकिने उनको अनुभव छ । त्यस्तै रेशम खेती हेर्ने विज्ञ र प्राविधिक, नहुँदा पनि समस्या पर्ने गरेको छ । प्रविधिको अभावले आफूले यहाँ उत्पादन गरेको कोकुनबाट धागो निकालेर धादिङमा लगेर कपडा बुन्ने गरेका छन् उनले ।

उत्पादित धागोमध्ये २० प्रतिशतबाट कपडा बनाएर बेच्ने गरेको र अरू सबै धागो अमेरिका, जापान, लगायतका देशमा नेपालका व्यापारीमार्फत बिक्री गर्ने गरेको उनले जानकारी दिए । दुई वर्षअघि उनले दाङमा उत्पादन भएको धागोबाट बनाइएका साडी काठमाडौंको भृकुटी मण्डपमा प्रर्दशनीमा लगेर पनि बिक्री गरेको उनले बताए । अहिले गढवा गाउँपालिका–४ हडैया गाउँमा मात्र ५० बिघा, गोबरडिहाको १० बिघामा सामूहिक र व्यक्तिगत रूपमा रेशमखेती गरिएको छ । त्यसैगरी सोही ठाउँका २९ वर्षीय रामलक्ष्मण शाहले पनि यसपटकदेखि आफ्नो दुई बिघा जमिनमा यसको खेती थालेका छन् । अधिकारीबाट आफूले प्रेरणा पाएर खेती गरिरहेको उनले बताए ।

त्यसैगरी गढवा ४ गोबरडिहाका ३२ वर्षीय अन्जीत चौधरीले पनि १० बिघा जमिन भाडामा लिएर सो खेती गरिरहेका छन् । परम्परागत धान मकै, गहँुखेतीभन्दा रेशमखेतीबाट मनग्य आम्दानी लिन सकिने भएकाले आपूmहरू यस खेतीतर्फ आकर्षित भएको यहाँका किसानले बताएका छन् । रेशम खेती गरेका किसानलाई प्रोत्साहन गर्न यसअघि लुम्बिनी प्रदेश सरकारले कीरा घर निर्माणका लागि साढे ११ लाख रुपैयाँ अनुदान पनि दिएको थियो । सो रकमबाट दुई वटा कीरा घर निर्माण भइरहेको अन्जित चौधरीले बताए । यस्तै, गढवा गाउँपालिकाले पनि यसपटक रेशम खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ भने लुम्बिी प्रदेश सरकारले रेशम खेती गर्ने किसानका लागि रकमसमेत विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया