मौद्रिक नीति पछि सेयर बजारमा सुधार

नेप्से ६१ अंकले बढ्यो

काठमाडौं । मौद्रिक नीति सेयर बजार प्रति केही लचिलो भएको कारण नीति सार्वजनिक पछिको पहिलो सेयर कारोबारमा ६१ दशमलव शुन्य ५ अंकले बढेर २०७८ दशलमव ५१ अंकमा पुगेको छ । अन्य क्षेत्रका लागि निकै कसिलो नीति आएको भए पनि पुँजी बाजरमा भने केही खुकुलो देखिएको कारण लगानीकर्ताको आत्मवलमा देखिएको सुधारले नेप्से बढेको आकलन गरिएको छ । नीतिले सेयर धितो कर्जामा ४–१२ को सीमा लगाइएकोमा ४ करोडलाई हटाइएको छ । यसैगरी, कर्जा प्रवाह गर्दा लागू गरिएको १ सय ५० प्रतिशतको जोखिमभारमध्ये २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिमभार १ सय प्रतिशतमा झारिएको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको मर्जर–एक्विजिसनमा केन्द्रीय बैंकको तर्फबाट कारोबार रोक्का गरिने र फुकुवाको अनुमति पनि त्यहीँँबाट लिनुपर्ने झन्झटिलो प्रावधान पनि खारेज गरेको छ । यी प्रावधानहरुले पुँजी बजारलाई केही राहतको संकेत मात्रै दिएको हुदा बजार धेरै माथी जान सक्ने अवस्थामा देखिदैन ।
मौद्रिक नीतिले घरजग्गाको लगानीमा कडाई गरेको छ । अरु क्षेत्रहरुमा पनि मौद्रिक नीति कडा नै रहेको छ । तर पुँजी बजारमा भने केही लचक देखिएको कारण लगानीकर्ताहरु उत्साहित बनेका आकलन गरिएको छ । यता लगानीकर्ताहरुले नीति सामान्य भए पनि राहत मिलेको बताएका छन् । तर अझै पनि पुँजी बजारका नीतिगत बाधा–अड्चन धेरै रहेको उनिहरुको भनाई छ । यी व्यवधानहरुलाई पनि विस्तारै खुकुलो पारिने आशा लगानीकर्ताले गरेका छन् । यसैगरी, अहिलेको मौद्रिक नीतिले अझै तरलता अभाव र ब्याजदर वृद्धि गर्ने हो कि भन्ने आशंका पनि उत्तिकै रहेको छ । यसतर्फ पनि ख्याल गर्नुपर्ने हुन्छ ।

आइतबार कारोबारमा आएका २ सय १९ वटा धितोपत्र तथा ऋणपत्रको दुई अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पस फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ । उक्त तीनवटै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढेको छ ।

सेन्ट्रल फाइनान्सको सेयर मूल्य ३६८ रुपैयाँ, समृद्धि फाइनान्सको सेयर मूल्य २४७ रुपैयाँ र मल्टिपर्पस फाइनान्सको सेयर मूल्य २७६ रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्य घट्नेमा एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको ऋणपत्र रहेको छ । बैंकको ऋणपत्रको मूल्य १.५२ प्रतिशत र ग्लोबल आइएमई बैंकको ऋणपत्र १.०६ प्रतिशतले घटेको छ ।

एनएमबि बैंकको ऋणपत्रको मूल्य ९ सय रुपैयाँ र ग्लोबल आइएमई बैंकको ऋणपत्रको मूल्य ९ सय ३५ रुपैयाँ कायम भएको छ । उक्त दिन सर्वाधिक सेयर खरिद–बिक्री शिवम सिमेन्टको भएको छ । कम्पनीको ३९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो । सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ८९ रुपैयाँ कायम भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८ सय ६० रुपैयाँमा ६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको पनि नेप्सले जनाएको छ ।

आइतबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । वित्त समूहको परिसूचक सर्वाधिक ७.२२ प्रतिशतले बढेको छ । त्यस्तै, दोस्रोमा अन्य समूहको परिसूचक ६.९३ प्रतिशतले बढेको छ । विकास बैंक समूहको परिसूचक ५.१ प्रतिशत, व्यापार समूहको परिसूचक ४.४४ प्रतिशत र लघुवित्त समूहको परिसूचक ३.९१ प्रतिशतले बढेको पनि नेप्सले जनाएको छ ।

प्रतिक्रिया