एउटै अटो रिक्सामा २७ जना यात्रु !

नयाँ दिल्ली । एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक–टुक (अटो–रिक्सा) रोक्दा त्यसभित्र २७ जनालाई फेला पारेको थियो । सानो अटो रिक्साभित्र त्यति ठूलो संख्यामा मानिसहरु देखेर प्रहरी छक्क परेका थिए ।

अटोरिक्साबाट बालबालिका र बृद्धबृद्धासहित २७ जना ओर्लेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा प्रत्येक यात्रुलाई गाडीबाट बाहिर निस्किँदा गणना गरिरहेको देख्न सकिन्छ । सामान्यतया अटोरिक्सामा तीन जना मानिस अट्छन् ।

तर, केहीलाई ६ जनासम्म यात्रु अट्ने गरी मोडिफाई गरिएको हुन्छ । भीडभाड भएको गाडीको घटना भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशको फतेहपुर शहरको हो ।

मिडिया रिपोर्ट अनुसार प्रहरीले अटोरिक्सालाई धेरै तीव्र गतिमा चलेको भन्दै रोक्न खोज्दा चालकले तीव्र गतिमा भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले पछ्याएर जबरजस्ती रोक्न लगाएको थियो ।

‘रिक्साभित्र दुई दर्जनभन्दा बढी यात्रुहरू देखेर प्रहरी छक्क परेको थियो’, फतेहपुरका प्रहरी उपरीक्षक राजेश कुमारले भारतीय समाचार माध्यम टाइम्स अफ इन्डियालाई भने ।

तीब्र गतिमा चलाएको र ओभरलोड गरेको अभियोगमा प्रहरीले अटोरिक्सा नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा हजारौँ पटक हेरिएको छ ।

धेरै ट्विटर प्रयोगकर्ताहरूले हास्यास्पद प्रतिकृया दिएका छन् । कतिपयले यो घटना विश्व रेकर्डका लागि योग्य बताएका छन् भने अरूले यसलाई भारतमा अपर्याप्त सवारी साधनको परिणामको रूपमा लिएका छन् ।

अटोरिक्सा भारतमा यातायातको लोकप्रिय माध्यम हो । सर्वव्यापी भए पनि तिनीहरू महँगो छन् र बसले भन्दा धेरै गुणा बढी भाडा लिएका छन् । केही वर्षअघि भारतका लागि मेक्सिकोका राजदूत दिल्लीमा यात्रा गर्दा कारको सट्टा अटो रिक्सा प्रयोग गरेपछि चर्चामा आएका थिए ।

प्रतिक्रिया