अझैं हुने सकेन राँके–रवि सडकमा कालोपत्र

राष्ट्रिय गौरवको सडक लथालिंग

मिक्लाजुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको राँके–रवि–बुधबारे सडकको काम लथालिंग अवस्थामा छ । भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन । पाँचथरको राँकेदेखि रवि–६ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १ सय ३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएको चार वर्षे अवधिको म्याद गुज्रेको सात महिना बितिसकेको छ । उक्त काम हालसम्म अगाडि बढ्न सकेको छैन । काम सुरु भएको पाँच वर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको छ ।

‘सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ । मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था छैन’, कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले भने । ३ करोड २६ लाख १८ हजार डलर लागत रहेको उक्त सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग ०७५ सालमा सम्झौता गरेको थियोे । काम ०७८ मंसिरसम्म सक्नुपर्नेछ । सडक निर्माणका लागि सहयोग भारतीय एक्जिम बैंकले गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता लगत्तै ०७५ पुस २१ गते कालोपत्र गर्न उद्घाटन गरेका थिए । म्याद गुज्रेको सात महिना बितिसक्दासम्म कामको प्रगति १९ प्रतिशतमा सीमित छ । निर्माण कम्पनीले श्रमिकलाई नियमित पारिश्रमिक दिएको छैन । इन्जिनियर महर्जनका अनुसार निर्धारित समयमा काम नसकिए पहिलोपटक थप्न ३० प्रतिशत काम गरेकै हुनुपर्छ । पूर्ण एकाइको ३० प्रतिशतभन्दा कम मात्रै काम गरेकाले म्याद थप्दा दैनिक शून्य दशमलव एक प्रतिशतका दरले जरिवाना नेपाल सरकारलाई तिर्नुपर्छ । एप्को इन्फ्रान्टका सञ्चालक जरिवाना तिरेर म्याद थप्ने मानसिकतामा देखिएका छैनन् ।

एप्को इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंह काममा ढिलाइ हुनुको कारक कोभिड–१९ र झरी भएको दाबी गर्नुहुन्छ । कालोपत्र गर्न जिम्मा लिएको उक्त कम्पनीले १ सय ३ किलोमिटर लामो सडक प्रदेश–१ का पाँचथर, इलाम, मोरङ र धनकुटालाई सडक मार्गसँग जोड्ने उद्देश्यअनुसार तीन दशकअगावै सुरु भएको अभिलेख सडक डिभिजन इलामसँग छ ।

उक्त सडक मेची राजमार्गअन्तर्गत इलाम–फिदिम खण्डमा पर्ने राँके बजारबाट सुरु भएर देउराली, घुर्विसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाउँ, ६ नम्बर बुधबारे, सौरे, मुढेवास, समिया, चौकीभञ्ज्याङ, राजारानी, डाँडाबजार, ओख्रे र नाम्जे हँुदै कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डमा पर्ने भेडेटार पुगेर टुंगिन्छ ।

प्रतिक्रिया