‘कांग्रेस बेइमानी, हैसियतभन्दा बढी समाजावादीकाे दाबी’

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धनको एक घटक नेपाली कांग्रेससले स्थानीय चुनावमा बेइमानी गरेको र एकीकृत समाजवादीले हैसियत भन्दा बढि सिट मागेको आरोप लगाएको छ ।

सो पार्टीको जारी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले यस्तो अरोप लगाएका हुन् ।

उनले गाँउमा कांग्रेसभन्दा आफूहरु बलियो भए पनि शहरी क्षेत्रमा कमजाेर भएको स्वीकारेका छन् । उनले एमालेको भने गाँउ र शहरमा एकै अवस्था रहेको पेश गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले सरकारमा सहभागी दलहरूबीचको चुनावी गठबन्धनबारे नेतृत्व स्तरमा रहेको समझदारी स्थानीयस्तरमा कामय हुन नसकेको उल्लेख गरेका छन् । प्रतिवेदनमा खासगरी नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नपाइएको कुरा उल्लेख छ ।

प्रतिवेदनमा माओवादी केन्द्र बलियो रहेका रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा कांग्रेसले एमाले र अन्य दलहरूसँग गठबन्धन गरी माओवादी केन्द्रलाई कमजोर पार्न लागेको विषय उल्लेख छ ।

यस्तै गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँडमा ठाउँ–ठाउँमा समस्या देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘जसको परिणाम केही स्थानहरूमा गठबन्धन नै पराजित बन्न पुग्यो,’ प्रतिवेदनमा भनिएको छ ।

जनता समाजवादी पार्टीले आफ्नो आधार बलियो भएका तराई–मधेसका स्थानमा गठबन्धनका लागि अनिच्छुक हुँदा पनि समस्या पैदा भएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट भएका कमजोरीहरूलाई बुँदागत रुपमा समेटेका छन् । ती बुँदाहरूमा गठबन्धनमा बढी निर्भर हुनुदेखि लिएर पार्टीभित्रकै अन्तर्घातसम्मका बुँदाहरू छन् ।

पार्टी पंक्तिमा गठबन्धनप्रति आवश्यकताभन्दा बढी विश्वास गर्नाले आफ्नो तयारीमा फितलोपन देखिएको, गठबन्धन हुँदा उम्मेदवारका आकांक्षी बढी हुने र एकल प्रतिस्पर्धा गर्नपर्दा अरुची देखा पर्ने समस्या उत्पन्न भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

लोकप्रियलाई भन्दा आफूनिकटलाई उम्मेदवार बनाउन जोड गर्नु, आफू वा आफू निकटकाले नपाउँदा असहयोग गर्नु वा हराउन उद्दत हुनु, पैसा खर्च गरेर मतदाता किन्नेजस्ता प्रतिस्पर्धी दलहरूमा विकृतिका रुपमा देखा परेको प्रवृत्तिलाई रोक्न नसक्नु र कतिपय स्थानमा पार्टीभित्रको गुटबन्दी, असहयोग एवं अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटनाहरु देखा परे ।

त्यसका प्रकारका गुटबन्दी, असहयोग र अन्तर्घातजस्ता पार्टी विरोधी गतिविधिहरुको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने उल्लेख छ । प्रचण्डको राजनीतिक प्रतिवेदन माथि बोल्दै बैठकका सहभागिहरुले माओवादी आफैले आफ्ना कार्यकर्ता चुनावको बेला किन्न परेको, आफू निकटकालाई उम्मेदवार बनाउन अनेक लबिङ गरिएको लगायतका गुनासो गरेका थिए ।

प्रतिक्रिया