मल र खेताला अभावमै रोपाइँ गर्दै किसान

उन्नाइसौँ धान दिवस

दाङ । ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला,
लगाइ पानी बनाइ कुलो आएर गोडौला’
यो गीतमा भनेझैँ किसान ‘छुपुमा छुपु’ गरेर धान रोप्ने समयमा मलका लागि सरकारी संस्थामा धाउन बाध्य छन् । नेपाली कृषकका लागि असार १५ एउटा मौलिक पर्व नै हो । हिलोलाई छुने, दही चिउरा खाने दिनको छुट्टै महत्व रहेको छ । उन्नाइसौँ धान दिवस मलबिनाको रोपाइँ गरेर किसानले मनाएका छन् । ‘दिवस त मनाउनुप¥यो, बिनामल दिवस मनाउन बाध्य भयौँ’, कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेले भने । नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने युरिया मलको अभाव भएपछि किसानले मल नछरेरै धान रोपाइँ गर्न थालेका छन् ।

यसरी खेती गर्दा धान उत्पादन घट्ने हो कि भन्ने चिन्ता किसानलाई परेको छ । राप्ती गाउँपालिका–३ का प्रविन चौधरीले यसपालि मल नछरी धान रोपेका छन् । सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि मलबिनै धान रोप्नुपरेको उनले बताए । ‘मलका लागि धेरै ठाउँ धाइयो, तर पाइएन । मल नपाए पनि तयार भएको धानको बीउ खेर जान दिन भएन’, उनले भने, ‘यसपालि मलै नछरी धान रोपियो, उब्जनी त के हुने हो’, धानखेती सुरु हुँदा दाङका किसानले यस वर्ष अनुदानको रासायनिक मल पाउन सकेका छैनन् ।

अधिकांश किसानले मल नपाउँदा रोपाइँ गर्न गाह्रो परेको छ । ‘मानो रोपेर मुरी फलाउने समय हो, सप्रियो भने त ठिकै छ । सप्रिएन भने वर्षभरि के खाने भन्ने समस्या पर्ने भयो’, लमही–३ का कमल चौधरीले भने, ‘पानी पर्न थाल्यो । धानको बीउ रोप्नलाई तयार भइसक्यो, मल छैन । मल नछर्दा उब्जनी हुँदैन’, उनले भने ।

दाङका किसानले धानखेतीका लागि चाहिने रासायनिक मलको अभावमा धानखेती गर्दैछन् । किसानलाई सरकारले अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको थियो । यस वर्ष किसानले युरिया मल पाएका छैनन् । डिएपी र पोटास थोरै मात्रामा पाएका छन् । जिल्लामा करिब ३९ हजार ५०० हेक्टरमा धान रोपाइँ हुने ज्ञान केन्द्रको भनाइ छ ।

बुधबारसम्म जिल्लाभर करिब १० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ भने देउखुरी क्षेत्रमा मात्रै रोपाइँ सुरु भएको कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । नेपालमा २०६१ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।

जिल्लामा अहिले मल मौज्दात छैन । केही मात्रामा मल ल्याएको र त्यो पनि सहकारीमार्फत वितरण गरिएको साल्टट्रेडिङ कर्पाेरेशनका प्रमुख रामबाबु गुप्ताले जानकारी दिए । सरकारले समयमा मल उपलब्ध नगराउँदा समस्या भएको उनले बताए । कृषि सामग्री कम्पनी लिमिटेडसँग रासायनिक मल नभएको कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख टोपाराम गौतमले बताए, ‘युरिया मल २० वा २५ दिनमा आउँछ कि भन्ने लागेको छ ।’ यो समयमा जिल्लामा एक हजार ५०० मेट्रिक टन युरिया र एक हजार मेट्रिक टन डिएपी आवश्यक रहेको लिमिटेडले जनाएको छ ।

खेताला पाउनै मुस्किल

अधिकांश स्थानमा बर्खेधानको रोपाइँ सुरु भइसकेको छ । खेत रोप्दै गरेका भने खेतीपानी गर्नका लागि खेताला नपाउने समस्या रहेको बताउँछन् । प्रविधिको विकाससँगै खेतबारीमा राँगा र गोरुले जोत्ने चलन हराइसक्यो ।

इन्धनको मूल्यवृद्धि भएसँगै ट्र्याक्टरको प्रयोग अत्यधिक महँगिएको किसानहरुले अनुभूति गरेका छन् । पछिल्लो समय कृषकहरुलाई खेती गर्नका लागि झन् भन्दा झन् गाह्रो हुँदै गएको कावासोती–१७ का कृषक पिताम्बर सुवेदी बताउँछन् । ‘अहिले खेतबारीमा काम गर्ने खेतालाहरु पाउनै मुस्किल छ । खेताला पाइहाले पनि रोपाइँका लागि आवश्यक पर्ने सिँचाइको असुविधा छ,’ उनी भन्छन्, ‘महँगीका कारण सबै कुराको भाउ अत्यधिक बढ्यो । अब खेती किसानी गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था बिस्तारै हराउन थालेको छ ।’

गाउँघरका युवाहरु विदेसिने क्रम बढेकाले समेत कृषि कर्मका लागि खेतालाहरु पाउनै कठिन भएको मध्यविन्दु–३ का कृषक जुगतराम थनेतको भनाइ छ । ‘धान खेतीका लागि आधुनिक प्रविधि भित्रिएको भए पनि ती प्रविधिहरु सबै कृषकको पहुँचमा छैनन्,’ उनी भन्छन्, ‘प्रविधिबाट रोपाइँको काम सुरु भए पनि केही कामका लागि भने मानिसको श्रम नै आवश्यक पर्छ तर काम गर्ने युवाहरु तथा जनशक्ति नै छैनन् ।’

गाउँघरमा बूढाबूढी र केटाकेटी तथा महिला मात्रै भेटिने गरेका भन्दै थनेतले आवश्यक पर्ने बेलामा बाउसे र रोपाहारहरु पाउनै नसकिने बताए । मुस्किलले पाउने खेतालाको ज्याला र धान रोप्दा लागेको खर्च जोड्ने हो भने आम्दानीभन्दा खर्च बढी लाग्ने गरेको थनेतको भनाइ छ । उन्नत जातको धान रोपेर धेरै उत्पादन गर्ने अभिलाषा पालेका उनले धान बेचेर नै वर्षभरिको खर्च धान्ने गरेका छन् ।

तर सबै क्षेत्रमा महँगी बढेसँगै खेती गर्न गाह्रो भएको थनेतले गुनासो गरे । ‘खेताला महँगिएका छन् । ट्र्याक्टर भाडा उस्तै महँगो छ । उत्पादनभन्दा खर्च बढी भएको छ । अब कसरी खेतीपाती गरेर जीविका चलाउने हो ?,’ उनले भने, ‘एकजना खेतालाले प्रतिघण्टा १२० का दरले ज्याला लिन्छन् । अनि ट्र्याक्टरले जोतेको प्रतिमिनेट ४५ लिने गरेको छ ।’

धान रोपाइँका लागि खेताला नपाउने समस्या एकतिर हुँदाहुँदै अर्कोतिर धानबालीमा हाल्ने मलको अभावसमेत कृषकहरुले खेप्नु परेको उनको भनाइ छ । धान रोप्ने समयमा कहिल्यै पनि रासायनिक मल नपाउने गरेको जनाउँदै उनले सहकारीमा गएर घण्टौँ लाइन बस्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया