साग खेलकुद गर्न पाकिस्तानको सक्रियता

काठमाडौं । सरकार परिवर्तनसँगै १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि पाकिस्तान सक्रिय देखिएको छ । कोभिडका कारण गतवर्ष प्रतियोगिता आयोजना गर्न नसक्ने बताएको पाकिस्तानले सरकार परिवर्तन भएसँगै साग खेलकुद आयोजनालाई लिएर सक्रियता बढाएको हो ।
पाकिस्तान ओलम्पिक कमिटीको इमरान खान नेतृत्वको सरकारसँग सम्बन्ध राम्रो नभएका कारण प्रतियोगिता आयोजनाले गति लिन सकेको थिएन । खान नेतृत्वको सरकार परिवर्तन भएसँगै पाकिस्तान ओलम्पिक कमिटीले साग खेलकुदमा सक्रियता बढाएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्र राज श्रेष्ठले साग खेलकुद आयोजनाका लागि पाकिस्तान ओलम्पिक कमिटीले सक्रियता बढाएको बताउँछन् । ‘सरकार परिर्वतन भएसँगै पाकिस्तानको ओलम्पिक कमिटीको सक्रियाता बढेको छ । प्राय शान्त रहेका पदाधिकारी नयाँ सरकार आएसँगै प्रतियोगिताको आयोजनालाई लिएर संवादलाई तिव्रता दिएका छन् ।’ उनले भने ।
सोमबार मात्र दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक बसेको थियो । बैठकले प्रतियोगितामा समावेश हुने खेल र नयाँ मितिको सन्दर्भमा छलफल गरेको छ ।
नेपालमा आयोजना भएका २८ खेलमा तीन खेल थपेर आयोजक राष्ट्र पाकिस्तानले छलफललाई अघि बढाएको छ । पाकिस्तानले १४ औं सागमा रग्बी, बेसवल, जिन्म्याष्टिक गरि तीन खेललाई प्रतियोगितामा समावेश गर्न प्रस्ताव गरेको छ ।

‘सहभागी देशले छलफल गरेर प्रस्तावको टुङ्गोमा पुग्ने निर्णय भएको छ । सम्बन्धित खेलमा कम्तिमा चार देशले खेल्नुपर्ने भएकाले टुङ्गो लाग्न बाँकी छ । दुई दिनमा छलफल गरेर सबै देशले टुङ्गो लगाउने सहमती बनेको छ ।’ एनओसीका महासचिव श्रेष्ठले भने ।

पाकिस्तानको सरकार र त्यहाँको ओलम्पिक कमिटीको दुरीका कारण साग खेलकुदको आयोजना अन्यौलमा परेको थियो । पाकिस्तानको खेलकुद क्षेत्र सरकारी हस्तक्षपका कारण समस्या छ । फिफाले पाकिस्तानको फुटबललाई प्रतिबन्ध लगाएको छ भने पाकिस्तानी ओलम्पिक कमिटीले जुडो, साइक्लिङ र एथलेटिक्स खेललाई निलम्बन गरेको छ ।

पाकिस्तानमा साग खेलकुद आयोजनामा अन्यौलता देखिएपछि दक्षिण एसियाली देशका ओलम्पिक कमिटीबीच अन्य देशमा प्रतियोगिता आयोजना गर्ने गरी छलफल अघि बढेको थियो । बंगलादेशलाई प्रतियोगिता आयोजनाको जिम्मेवारी लिन सागका ओलम्पिक कमिटीका सदस्यले लबिङ गर्न सुरु गरेका थिए ।

पाकिस्तानले सन् २०२३ को मार्चमा साग खेलकुद आयोजनाको मिति प्रस्ताव गरेको थियो । तर देश निर्वाचनमा जान लागेका कारण मार्चको समय परिवर्तन हुन सक्ने पाकिस्तानी अधिकारीले सागको बैठकमा जानकारी गराएका छन् । उनीहरु अक्टोबरमा साग खेलकुद आयोजनाका लागि आफुहरु तयार रहेको संकेत गरेका छन् । तर आसन्न एसियन गेम्स समेत सेप्टेम्बर, अक्टोबरमाको मितिमा आयोजना गर्ने गरि तयारी अघि बढिरहदाँ साग खेलकुद प्रभावित हुने दक्षिण एसियाली ओलम्पिक कमिटीका सदस्य राष्ट्रको भनाई छ ।

‘एसियन गेम्सको तीन महिना अघि साग खेलकुद आयोजना गर्न सकेको खण्डमा सोही खेलनै एसियन गेम्सका लागि छनोट प्रतियोगिता पनि हुने र तयारीपनि राम्रो हुने सुझाव राखेका छौं । हप्ता, १० दिनमा साग खेलकुदको मितिको विषयमा समेत टुङ्गो लाग्नेछ’ श्रेष्ठले भने ।

प्रतिक्रिया