पूर्वी नाकाबाट ४६ करोडको फलफूल आयात

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै ४६ करोड रुपैयाँको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा ४५ करोड ९७ लाख २७ हजार रुपैयाँबराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो । आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरबापत मात्र १२ लाख रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए ।

उनका अनुसार २९ करोड ७३ लाख सात हजार रुपैयाँ मूल्यबराबरको चार हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ । यो नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र चार करोड ५१ लाख १० हजार रुपैयाँबराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ ।

त्यसैगरी, १२ लाख ८० हजारको ४६ मेट्रिक टन केरा, ७९ लाख ५१ हजारको नरिवल, ६७ लाख ७० हजारको जुनार, ४९ लाख ४९ हजारको आप, दुई करोड ९७ लाखको अनार, ७७ लाख ६१ हजारको अंगुर, एक करोड ७८ लाख ७८ हजारको सुन्तला, ३६ लाख ७३ हजारको नासपाति, पाँच लाख ९८ हजारको अम्बा र ९३ लाख ८४ हजार रुपैयाँबराबरको खर्बुजा आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । रासस

प्रतिक्रिया