गायिका सुनारको मृत्यु प्रकरण : बुबाद्वारा किटानी जाहेरी

काठमाडौं । काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै म्याद थपको तयारी रहेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सलसमेत समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका श्रेष्ठ उनका प्रेमी रहेको बुझिएको छ । शव परीक्षणको प्रतिवेदन आएपछि घटनाको वास्तविक कारण खुल्ने भन्दै प्रहरीले अहिलेसम्म केही भन्न नसकिने जनाएको छ । घटना हुनु अघिल्लो दिन गायिका सुनारको फेसबुक स्टाटस सार्वजनिक भएको थियो ।

त्यसमा उनले कुनै पनि बेला जे पनि हुन सक्ने र घटनामा कसैलाई दोष नदिन अनुरोध गरिएको थियो । उक्त स्टाटस दबाबमा लेखिएको आशंका गरिएको छ ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठले त्यसदिन उनको कोठामा गएको स्वीकारे पनि हत्या आरोप अस्वीकार गरेका छैनन् । सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेको जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ ।

गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाब दिइरहेका छन् । उनीहरुले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले सत्यतथ्य छानविनको माग गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन ।

प्रतिक्रिया