विश्वराज सम्मानित

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । विश्वराज कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हुन् । अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण र एक कांश्य पदक जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोले उनलाई सम्मान गरिएको डोजाङले जनाएको छ ।

विश्वराजले ब्रिसवेन खुला तेक्वान्दोमा दुईवटा स्वर्ण जितेका थिए । उनले क्योरोगीको ६८ केजीमुनि र स्पेशल फाइटमा स्वर्ण पदक जितेका थिए । यसैगरी सिड्नी तेक्वान्दो च्याम्पियनसिपमा उनले कांश्य पदक जितेका थिए ।

अध्ययनका सिलसिलामा विश्वराज सन् २०१८ मा अस्ट्रेलिया गएका थिए । त्यही दौरान उनले उक्त प्रतियोगितामा सहभागिता जनाएका हुन् । नेपाल आएका बेला कोटेश्वर तेक्वान्दो डोजाङले विश्वराजलाई सम्मान गरेको हो ।

तेक्वान्दोका मुख्य प्रशिक्षकसमेत रहेका कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले विश्वराजलाई दोसल्ला ओढ्याउनुका साथै प्रशंसापत्र प्रदान गरी सम्मान गरे । प्रमुख श्रेष्ठले आफ्ना डोजाङका खेलाडीले गरेको प्रगतिले डोजाङ परिवारले गर्वको अनुभूति गरेको बताउदै आगामी दिन अझ सफलताका लागि विश्वराजलाई शुभकामना दिए ।

सम्मानित भएपछि विश्वराजले भने, ‘सात वर्षदेखि तेक्वान्दो खेल्न सुरु गरेँ । तेक्वान्दोप्रतिको लगाव र मायाले गर्दा चटकै छाड्ना पनि गाह्रो छ । त्यसैले अध्ययनका लागि अस्ट्रेलिया गएपनि मौका पाउन साथ प्रतियोगितामा सहभागी हुन्छु । मेरो सफलताको कदर गर्दै सम्मान गर्नु भएकोमा कोटेश्वर तेक्वान्दो डोजाङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’ विश्वराजकी आमा लक्ष्मी पनि पूर्व तेक्वान्दो खेलाडी हुन् । बहिनी पनि तेक्वान्दो खेलिरहेकी छिन् ।

प्रतिक्रिया