एसपीपी सम्झौता ओलीकै पालामा भएको हो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भएको दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रममा सम्बोधन गर्दै नेपालले आफैले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो कुरा गरेको अध्यक्ष नेपालको जिकिर छ ।

अध्यक्ष नेपालले ओलीको चिन्तनमा नै कमजोरी भएको भन्दै सुधार गर्न सुझावसमेत दिए । ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा नै भएन भन्नुहुन्छ, कि चिन्तनमा कमजोरी कि काम गर्ने गलत छ यसमा सुधार गर्नु होला’, उनले भने ।

२०७४ मा पहिलो पार्टी रहेको एमाले अहिले कांग्रेसभन्दा पछाडी पुगेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीको कमजोरी औँल्याए । ओलीको कमजोरीले पार्टी कमजोर बनेको उनको भनाई छ । तर, ओलीले आफ्नो गल्ती लुकाउन आफूलाई दोषी देखाउने गरेको नेपालले बताए ।

एमसीसी सम्झौता संसदबाट जस्ताको तस्तै पारित गराउन खाजेको तर आफू र प्रचण्डले रोकेको उनको भनाइ छ । अध्यक्ष नेपालले महिला हिंसाका चर्चित मुद्दाहरूमा आफ्नो पार्टीको महिला संगठनले सक्रियता देखाउन नसकेको गुनासो गरे ।

उनले यस्ता मुद्दा आउनासाथ पत्रकार सम्मेलन गर्नेदेखि रत्नपार्कमा जुलुस निकाल्नेसम्मका गतिविधि गर्न महिला नेतृहरूलाई सुझाव दिए ।

प्रतिक्रिया