बहुभाषिक नाट्य महोत्सव हुने

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी ‘बहुभाषिक नाट्य महोत्सव २०७९’ हुने भएको छ । राजधानीको थापागाउँस्थित गुरुकुलको नाटकघरमा आइतबारदेखि सुरु हुने महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको छ । महोत्सव संयोजक एवं प्रतिष्ठानकी नाट्य तथा रंगमञ्च विभाग प्रमुख प्राज्ञ निशा शर्माका अनुसार महोत्सवका लागि प्राप्त दुई दर्जन नाटकबाट उत्कृष्ट ७ नाटक चयन गरिएको छ ।

शर्माले महोत्सवका लागि चयन भएका नाटकमा खस, लेप्चा, तामाङ, थारु, वाम्बुले राई, पुमा राई भाषाका रहेको जनाइन् । पहिलो दिन लाप्चा उत्थान मञ्च इलामको प्रस्तुतिमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने सिँढी’ मञ्चन गरिने छ । दोस्रो दिन कुन्दन थारु निर्देशित रौतहटको थारु समुदायको नाटक ‘कनन लता’, तेस्रो दिन ओखलढुंगाबाट वाम्बुले राई भाषाको नाटक ‘सुम्निमा’ मञ्चन गरिने भएको छ । वाम्बुले राई समाज ओखलढुंगाको प्रस्तुति रहने यो नाटकलाई कविराज राईले निर्देशन गरेका छन् ।

महोत्सवको चौथो दिन रंगभूमि एकेडेमी धरानबाट विष्णु मोक्तानको निर्देशन रहेको तामाङ भाषाको नाटक ‘डम्फुला’ मञ्चन गरिने भएको छ । असार १६ गते पुमा राई भाषाको नाटक ‘होङछा’ मञ्चन हुनेछ । प्रवीण पुमाले निर्देशन गरेको यो नाटक पुमा राईको संस्कृतिमा आधारित छ । यसैगरी १७ असारमा इलामबाट प्रतिनिधित्व गर्दै चेतन आङथुपो र बनेम फागोको निर्देशनमा लिम्बू भाषाको नाटक ‘सुविउ चरी’ मञ्चन गरिने भएको छ । नाटकलाई चुलाचुली रंगमञ्च इलामले प्रस्तुत गर्दैछ ।

अन्तिम दिन दिपेन्द्र उपाध्यायको निर्देशनमा जुम्लाबाट खस भाषाको नाटक ‘कुटिरो’ मञ्चन गरिने भएको छ । नाटकलाई कर्णाली खस संस्कृति संरक्षण मञ्चले प्रस्तुत गर्ने भएको छ । महोत्सवमा सहभागी हुने नाटकलाई प्रतिष्ठानले मञ्चन खर्च स्वरुप प्रतिटोली ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । महोत्सवमा सहभागी नाट्य टोलीलाई काठमाडौंमा बस्ने र खाने व्यवस्थासमेत आफूहरुले गर्ने प्राज्ञ शर्माले जानकारी दिइन् । उनले महोत्सवको सहआयोजकमा आरोहण गुरुकुलसमेत रहेको शर्माले जानकारी बताइन् ।

प्रतिक्रिया