स्रष्टा सम्मान

काठमाडौं । नेपाल सांगीतिक संघले विश्व संगीत दिवसको अवसरमा कला क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तिलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले ‘विश्व संगीत दिवस एवं सांगीतिक संघ राष्ट्रिय सम्मान’ मा विभिन्न ७ कलासाधक तथा पत्रकारलाई राष्ट्रिय सम्मान प्रदान गरेको संघका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । २५ हजार राशिको रहेको ‘अमर स्रष्टा शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार’ बाट कलाकार मुरलीधरलाई सम्मानित गरियो । त्यस्तै, २५ हजार राशि रहेको ‘अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार’ बाट अग्रज गायक कुमार बस्नेतलाई सम्मान गरिएको छ ।

‘फत्तेमान राजभण्डारी राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार’ बाट पपगायक धिरज राईलाई सम्मानित गरिएको छ । यस्तै, कलाकार विकास घले गुरुङले आमा तथा बुबाको नाममा स्थापना गरेको ‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान तथा पुरस्कार’ बाट महजोडीलाई सम्मानित गरियो । ‘नेपाल सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार’ बाट अग्रज नृत्य निर्देशक भैरवबहादुर थापालाई राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

यी सम्मान तथा पुरस्कारको राशि २५ हजार रहेको छ । पाँच हजार राशि रहेको ‘नेपाल सांगीतिक संघ राष्ट्रिय कला पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट पत्रकार शान्तिप्रियलाई सम्मानित गरियो । त्यसैगरी कार्यक्रममा विगतदेखि नै नेपाल सांगीतिक संघलाई सहयोग पुर्याउँदै आएका गायक गणेश पराजुली, गीतकार डब्बु क्षेत्री, कलाकार विक्रमजंग शाह, समाजसेवी विनोदकुमार तामाङ, रमन बस्नेत, नवराज तामाङलाई कदरपत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रमकै अवसर पारेर दश जना स्रष्टालाई आजीवन सदस्यता प्रदानसमेत गरिएको थियो । गीतकार किरण के. उप्रेती, गीतकार निरोज भट्ट, गायक सन्तु थापा, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, मोडल नारायण ढकाल, निर्देशक पूर्णबहादुर थापा, निर्देशक दीप गुरुङ, संगीतकार दिपक शर्मा, संगीत संयोजक आमोश तामाङलाई आजीवन सदस्यता प्रदान गरिएको संघले जनाएको छ ।

कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व संगीत दिवसको शुभकामना व्यक्त गर्दै कला र संस्कृति विकासमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले एकातिर विश्व संगीत दिवसको रुपमा मनाइरहँदा अर्कोतिर मुलुकभित्र रहेका कलाकारमा आपसी सद्भाव कायम गर्दै कला संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रम लाभदायी र फलदायी बन्दै आएको बताए ।

प्रतिक्रिया