नेपालको सेमिफाइनल प्रतिद्वन्दी युएई

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बलियो टोली युएईको सामना गर्ने भएको छ । युएईले समूह ’ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो । नेपाल समूह ’बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ४ खेलमा ६ अंक जोडेको थियो । नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँडा हङकङसँग पराजित भएको थियो । यस समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बन्यो । अब नेपालले सेमिफाइनलमा युएईसँग शुक्रबार खेल्नेछ ।

यस्तै अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

प्रतिक्रिया