वन्यजन्तुलाई पानी खाने पोखरी !

म्याग्दी । वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष ०७८÷७९ मा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो । मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए ।

‘वन्यजन्तु पानी र आहारको खोजीमा मानव बस्तीमा नआउन भनेर जंगलमै पोखरी बनाइएको हो,’ उनले भने, ‘वनमै पानी र आहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।’ सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन कार्यालयमा १७ सामुदायिक वन समूहले प्रस्ताव गरेकोमा छनोट भएका १० वटै समूहले कार्य सम्पन्न गरेका हुन् । प्रतिपोखरी निर्माणका लागि एक लाख रुपैयाँका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर ९६ हजारका दरले भुक्तानी गरिएको हो ।

बेनी–९ को गलेश्वर ठूलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगंगा–२ को कृष्ण तालाबन्दी, मंगला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगंगा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पँधेरो देपुर्नेआटी, मंगला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताए ।

६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर छ । टाड बिसाउना सामुदायिक वन धापुङका दलवीर पुनले जंगलको बीचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर संकलन गरिएको जानकारी दिए । पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उनको विश्वास छ ।

घोर्लास सामुदायिक वन उपभोक्ता समूह तोरीपानीका ज्ञानबहादुर विकले पोखरीले जंगलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेकोे बताए । जंगलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा यसलाई निभाउन पनि सहज हुने उनले बताए । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् । आहार र पानीका लागि बस्ती नजिक आउने रतुवा, मृतलगायत वन्यजन्तु खोज्दै मानव बस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेकोमा स्थानीयको गुनासो छ ।

प्रतिक्रिया