सत्ता गठबन्धनको भविष्य कांग्रेसको हातमा

धनराज वास्तविक

यदि कांग्रेसलाई आजको दिनमा पनि लोकतन्त्रको रक्षा र विकास गर्नुछ भने, संविधान र संसद्प्रति इमानदार बन्नुछ भने वर्तमान सत्ता गठबन्धनलाई व्यावहारिक बनाउनेमा पार्टीपंक्तिलाई क्रियाशील बनाउनुपर्छ । पाँच दलीय गठबन्धनको आवश्यकताबारे कांग्रेसले आफ्नो पार्टी पंक्तिलाई प्रशिक्षित नपारेसम्म केन्द्रबाट गरिने तालमेलको निर्णयले खासै अर्थ राख्दो रहेनछ । जुन कुरा स्थानीय निर्वाचनको परिणामले देखाइसके । ७ सय ५३ पालिकामध्ये करिब २ सय १० पालिकामा पाँच दलबीच तालमेल भएको थियो । जुन पालिकाहरू सबैभन्दा धेरै जनसंख्या भएका ठूला पालिकाहरू थिए । तर, ती पालिकामा गरिएको तालमेल कहीँ अत्यन्त राम्रो भयो कहीँ भद्दा मजाक जस्तो मात्रै भयो ।

वर्तमान सत्ता गठबन्धनको औचित्य र त्यसको पुष्टिबारे प्रायः मान्छेहरू जानकार छन् । ०७४ सालपछि विकसित राजनीतिक परिदृश्यलाई नजिकबाट नियालिरहेका आममानिसहरूलाई अहिलेको सत्ता गठबन्धनको जन्म कसरी भयो ? यसको कारक तत्व को हो ? वर्तमान गठबन्धन कहाँसम्म जानुपर्छ ? यो गठबन्धन टिक्नुहुन्छ कि हुँदैन ? जस्ता प्रश्नहरूको जवाफ दिइरहनुपर्ने जस्तो लाग्दैन ।

तर, भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा देखिएका केही दृश्य र प्रवृत्तिहरूलाई आधार मान्ने हो भने अहिलेको सत्तागठबन्धनका बारेमा गम्भीर र निर्मम समीक्षा हुन आवश्यक छ । यदि निर्मम समीक्षा र आत्मसमीक्षा नगरी गठबन्धनको गीत गाउन थाल्ने हो भने पुनः स्थानीय तहको हालत दोहोरिनेमा कुनै शंका छैन । स्थानीय तहको हालत दोहोरिन नदिनका निम्ति सत्ता गठबन्धनको नेतृत्व लिइरहेको नेपाली कांग्रेस इमानदार बन्नैपर्छ । कांग्रेसले गठबन्धनका दलहरूलाई विश्वासमा राख्नैपर्छ । गठबन्धन केबल सत्ताका लागि मात्रै हो कि ? अरू पनि उद्देश्य छन् ? भन्ने निक्र्यौल गर्नु जरुरी छ । सत्ताकै लागि गठबन्धन भएको हो भने त जे गरे पनि भयो । जो जो जस जससँग मिलेर समीकरण बनाउँदा सत्ता प्राप्ति हुन्छ त्यसै गरे भइहाल्यो । तर, लोकतन्त्रको संस्थागत विकास, समाजवादी आर्थिक दिशा, आर्थिक विकास तथा समृद्धि, राष्ट्रियताको संरक्षण र संवर्धन लगायतका मुद्दाका लागि पाँच दलीय गठबन्धन बनेको हो भने यो १० महिनाको अवधीको समीक्षा गर्नै पर्ने हुन्छ । उद्देश्य अनुरूप गठबन्धन अघि बढेको छ वा सत्ता स्वार्थमा मात्रै सीमित भएको छ ? भन्ने विश्लेषण नगरी गठबन्धनमा सामेल दलहरूले आफूलाई सुधार नगर्ने हो भने जनताले अवश्य पनि आउँदो आमनिर्वाचनमा मूल्यांकन गर्नेछन् ।

स्थानीय निर्वाचनबाट सिक्नुपर्छ पाठ

जग जाहेर छ, कम्तिमा पनि स्थानीय निर्वाचन र आमनिर्वाचनमा तालमेल गर्ने र त्यसपछि पनि सँगै मिलेर सत्ता सहकार्य गर्न घोषित उद्देश्यका साथ पाँच दलीय गठबन्धन बनेको हो । गठबन्धन भित्रको सबैभन्दा ठूलो र सत्ताको नेतृत्वसमेत प्राप्त गरेको दलको नाताले गठबन्धनको उद्देश्य पूरा गर्न पहल गर्ने पहिलो दायित्व नेपाली कांग्रेस हो ।

तर, भर्खर सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण गर्ने हो भने त्यो दायित्व पूरा गर्न नपाली कांग्रेसले सकेन । लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसले स्थानीय निर्वाचनमा केन्द्रीय गठबन्धनको निर्देशन विपरीत उम्मेदवार खडा गर्यो । जसको असर परिणाममा देखियो । साथै, गठबन्धनका अन्य दलहरूले पनि कांग्रेसको दोहोरो चरित्रलाई ग्रहण गरेको पाइयो ।

खासगरी संसद्को हत्या गर्ने पार्टी एमालेसँग तालमेल गर्ने अवस्थामा कांग्रेस र माओवादी किन पुगे ? यसको स्पष्ट जवाफ नमागी एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले गठबन्धनको गीत गाउनु व्यर्थ हुन्छ । व्यावहारिक हुँदैन र छैन । कांग्रेस इतरका दलहरूले स्थानीय तहको परिणामबाट पाठ सिकेर मात्र अघि बढ्नुपर्ने आजको आवश्यकता हो । खासगरी स्थानीय निर्वाचनमा केवल भोटरका रूपमा उपभोग भएको एकीकृत समाजवादी र जसपाले सोच्नुपर्न बेला छ । चुनाव जित्नकै लागि पार्टी गठन गरिएका हुन् भने जे गरे पनि हुन्छ । तर, पार्टीको सिद्धान्त, विचार, आस्था र अवस्थालाई दृष्टिगत गर्ने हो भने यो समयमा गम्भीर समीक्षा गर्नैपर्छ । विगतको पाठ सिक्न लायक छ ।

लोकतन्त्रप्रति कांग्रेस–माओवादी अनुदार

सत्ता गठबन्धनका हरेक नेता कार्यकर्ताहरूले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लोकतन्त्र, संविधान, विद्यमान व्यवस्थाका विरोधी र प्रतिगामी व्यक्तिका रूपमा सम्बोधन गर्ने गरेको पाइन्छ । लोकतन्त्र, संविधान, संसद् र प्रगतिशील व्यवस्थामाथि नराम्रोसँग खेल्ने शक्तिसँग चुनाव जित्नकै लागि स्थानीय चुनावमा तालमेल कसरी सम्भव भयो ? त्यो पनि कांग्रेस र माओवादीबाट ? यो सोचनीय विषय हो । साथै गम्भीर राजनीतिक प्रश्न पनि हो । समाजवादीहरूले यस विषयलाई गम्भीर रूपमा लिनुपर्दछ । मुलुकलाई समाजवादको यात्रामा लैजाने जस्तो क्रान्तिकारी मुद्दालाई कमजोर बनाउने खालका यस्ता हर्कतहरूबाट सतर्क रहनुपर्छ । गल्तीहरूलाई समयमै सच्याउनुपर्छ । वर्तमान व्यवस्थाका विरुद्धमा अनेक शक्ति क्रियाशील छन् ।

गैरराजनीतिक व्यक्ति र प्रतिगामी शक्तिहरू जनताको अवस्थालाई देखाउँदै पुनर्दोयको बाटो खोजिरहेको देखिन्छ । खासगरी स्थानीय निर्वाचनको पहिलो कार्यकाल (२०७४) बाट दलीय व्यक्ति र शक्तिहरूबाट जनता रुष्ट बनेको देखिन्छ । २१औँ शताब्दिको निर्विकल्प शासन व्यवस्था हो लोकतन्त्र । यस प्रणालीमा दलीय व्यवस्था नै अन्तिम शक्ति हो । दलीय व्यवस्थाको विकल्प कुनै व्यक्ति हुन सक्दैन । अभिजात्य वर्गहरू लोकतन्त्र कमजोर बनिरहेको बेला शीर उठाउन खोज्छन् । आज ठीक यस्तै भइरहेको छ । तसर्थः स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र लोकतन्त्रप्रति इमानदार बनेको भए सायद बजारमा आएका दृश्य देख्न पर्ने थिएनन् । गठबन्धनलाई मजबुद र व्यावहारिक बनाउने काममा सत्ता गठबन्धनको नेतृत्व चुकेकै हो ।

खैर, यस घडीमा प्रगतिशील शक्तिहरू वर्तमान अवस्थाको ठोस विश्लेषण गरेर अघि बढ्नुको विकल्प छैन । विगतका संघर्षलाई नभुल्ने संकल्प गर्नुपर्छ । व्यवस्था बदल्ने हामी हौँ, अवस्था बदल्न सक्ने तागत पनि हामीसँगै छ भनेर जनतालाई भन्नुपर्छ । हामी सच्चिन्छौँ भन्न सक्नुपर्छ । परिणाममा देखिनेगरी काम गर्नुपर्छ । सार्वजनिक संस्थानहरूलाई जनमुखी बनाउनुपर्छ । जनतासँगको दुरीलाई घटाउनुपर्छ । राजनीतिमा पुस्तान्तरण र हस्तान्तरणको अभियान चलाउनुपर्छ । जनताहरूले राजनीति सुधारिएको देख्न चाहेका छन् । स्वतन्त्र व्यक्ति रोजाइ रहर होइन, बाध्यता हो । दलहरूले उचित पात्र जनताको बीचमा खडा नगरिदिँदा यस्तो भएको हो भन्ने कुरा स्वीकार गर्नुपर्छ ।

वि.सं. १९९० को दशकबाट नेपालमा लोकतान्त्रिक आन्दोलनको प्रारम्भ भएको हो । आजका दिनसम्म विभिन्न आन्दोलन र जनसंघर्षहरू भएका छन् । वर्तमान व्यवस्था कमजोर जगमा उभिएको छैन । यो त विशाल आन्दोलन र संघर्षको जगमा उभिएको घर हो । हजारौँ सहिदहरूको बलिदानी र जनसंघर्षबाट प्राप्त भएको जनताको व्यवस्था हो । परिवर्तनलाई संस्थागत गर्न र मुलुकको आगामी भविष्यलाई सुनिश्चित गर्नुपर्ने दायित्व सत्ता गठबन्धनको हो । गठबन्धनको औचित्य पुष्टि नहुँदै बाटो बिराएको सत्ता गठबन्धनको भविष्यलाई लिएर अनेक टीकाटिप्पणी भइरहेका छन् । जो स्वभाविक पनि छ । स्थानीय चुनावमा कांग्रेस र माओवादी लोकतन्त्र, संविधान, संसद् र व्यवस्थाप्रति जिम्मेवार बनेका देखिएनन् । कांग्रेस माओवादीले एकतिर गठबन्धनको गीत गाइरहे भने अर्कातिर आपैmँले प्रतिगामी भन्दै हिँडेको एमालेसँग लसपस गरिरहे । यस्तो दोहोरो चरित्रले गठबन्धनको भविष्यलाई बलियो बनाउँदैन ।

यदि कांग्रेसलाई आजको दिनमा पनि लोकतन्त्रको रक्षा र विकास गर्नुछ भने, संविधान र संसद्प्रति इमानदार बन्नुछ भने वर्तमान सत्ता गठबन्धनलाई व्यावहारिक बनाउनेमा पार्टीपंक्तिलाई क्रियाशील बनाउनुपर्छ । पाँच दलीय गठबन्धनको आवश्यकताबारे कांग्रेसले आफ्नो पार्टी पंक्तिलाई प्रशिक्षित नपारेसम्म केन्द्रबाट गरिने तालमेलको निर्णयले खासै अर्थ राख्दो रहेनछ । जुन कुरा स्थानीय निर्वाचनको परिणामले देखाइसके । ७ सय ५३ पालिकामध्ये करिब २ सय १० पालिकामा पाँच दलबीच तालमेल भएको थियो । जुन पालिकाहरू सबैभन्दा धेरै जनसंख्या भएका ठूला पालिकाहरू थिए । तर ती पालिकामा गरिएको तालमेल कहीँ अत्यन्त राम्रो भयो कहीँ भद्दा मजाक जस्तो मात्रै भयो । पोखरा महानगरपालिका हेटौंडा उपमहानगर पलिकामा उदाहरणीय ढंगले तालमेल कार्यान्वनमा आयो, तर काठमाडौं महानगरपालिकामा कन्तविजोग देखियो । विराटनगर, इटहरी, धरान लगायतका केही पालिकाहरूमा पनि त्यस्तै अवस्था देखियो ।

यसैगरी वर्तमान सत्ता गठबन्धनले ध्यान दिनुपर्ने मुख्य मामिला भनेको भूराजनीतिक यथार्थतालाई आत्मसात गर्नु हो । अन्तर्राष्ट्रिय परिस्थितिमा आमूल परिवर्तन आइसकेको यथार्थतालाई बिर्सन मिल्दैन । भू–राजनीतिसँगै देशभित्रका परिवर्तन विरोधी शक्तिहरूको सक्रियतालाई ध्यान दिनुपर्छ । यी तमाम कारण र वर्तमान अवस्थाका आधारमा गठबन्धनको भविष्य नै कांग्रेसमा निर्भर देखिन्छ । तत्काल गठबन्धनमा सिट बाँडफाँड गरेर चुनावी मैदानमा ओर्लिनुपर्छ । यति गर्न सकिँदैन भने गठबन्धनको गीत गाइरहनुको के अर्थ ? स्थानीय तहकै हालत हुने हो भने प्रचण्ड, माधव र उपेन्द्रहरूले गठबन्धनको मन्त्र किन जपिरहने ? विचार मिल्नेसँग चुनावी मोर्चा बनाएर अघि बढ्न किन नसक्ने ?

प्रतिक्रिया