मुसाले सुन लुकाएपछि …

नयाँ दिल्ली । भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा मुसाले लुकाएको झोलाबाट पाँच लाख भारतीय रुपैयाँ मूल्य बराबरको पाँच सय ग्राम सुन बरामद गरेको छ । घरेलु कामदारको रूपमा काम गर्ने ४५ वर्षीया महिलाले आफुले लिएको ऋण तिर्न सुन धितो राख्न जाँदै गर्दा आफ्नो गहनाको झोला हराएको प्रहरीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।

पीडित महिला सुन्दरी प्लानिबेलका अनुसार घटना गोरेगाउँको गोकुलधाम कोलोनीमा भएको हो । उनले बाटोमा केही केटाकेटीलाई देखेपछि आफुसँग रहेको खानेकुरा दिएकी थिइन् । सुन राखेकै झोलामा उनले केटाकेटीलाई खानेकुरा दिएकी थिइन् ।
बैंकमा पुगेपछि मात्रै उनले आफ्नो गल्ती महसुस गरेकी थिइन् । तत्काल उनले बैंकबाट फर्किएर बालबालिकालाई खोज्ने प्रयास गरिन् । तर, उनले ती बालबालिकालाई फेला पार्न सकिनन् । ती महिला त्यसपछि प्रहरीकहाँ पुगिन ।

प्रहरी र स्थानीयको सहयोगमा ती बालबालिका पनि फेला पारे । महिलाले दिएको खानेकुरा धेरै सुख्खा भएको भन्दै आफुहरुले सबै खानेकुरा फोहर फाल्ने ठाउँमा फालिदिएको जानकारी ती बालबालिकाले प्रहरीलाई दिए ।
तर, प्रहरीले फोहर फाल्ने ठाउँमा पनि गहना फेला पार्न सकेन । सीसीटीभी फुटेजमा हेर्दा केही मुसाले फोहरको थुप्रोबाट सुनको झोला बोकेको देखियो । प्रहरीले तत्कालै ढल खोलेर हेर्दा त्यहाँ ती महिलाको सुनको झोला भेटियो । प्रहरीले तत्कालै महिलालाई त्यो झोला बुझाएको थियो ।

प्रतिक्रिया