आयआर्जनका माध्यम बन्दै ‘होमस्टे’

राँझा । बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार निवासी यज्ञबहादुर रानाको परिवारलाई हिजोआज पाहुना रेखदेख गर्न भ्याइनभ्याइ हुन थालेकोे छ । घरमा सञ्चालित खड्कवार नमुना सामुदायिक घरबास ‘होमस्टे’मा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा उनको परिवारको दिन बित्ने गरेको छ । ‘होमस्टे सञ्चालन भएपछि घरको सबै परिवार यसैमा व्यस्त हुने गरेका छौँ,’ घरबास सञ्चालक रानाले भने, ‘घरका सबै परिवारलाई काम पुग्ने गरेको छ, अलिअलि कमाइ पनि हुन थालेको छ ।’ रानाको परिवार जस्तै अहिले जिल्लाका ग्रामीण क्षेत्रमा खुलेका घरबास स्वरोजगारीसँगै आयआर्जनका माध्यम बनेको छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् ।

आफ्नो ठाउँ, परिवेश र माटो सुहाउँदो र आफ्नै मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएको होमस्टे महासंघका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । उनका अनुसार पहिलो होमस्टे सञ्चालन गर्दै आएका परिवार स्वरोजगार हुनाका साथै गाउँमा रोजगार पनि सिर्जना भएको छ । गाउँमा उत्पादन हुने स्थानीय जातका मासु र दुधसँग सम्बन्धित पदार्थको खपत पनि गाउँमै हुन थालेकाले गाउँका युवाले पनि गाउँमै काम पाउने वातावरण सिर्जना भएको छ ।

काम गर्न चाहने युवा गाउँमै रोजगारमा सम्लग्न हुने वातावरण बन्दै गएको छ । जिल्लाभरिका होमस्टेमा वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको महसचिव चौधरीले सुनाए । ‘हामीले केबल जीविकोपार्जनमा मात्रै नभई आयआर्जन, संस्कृति प्रवद्र्धन, प्रकृति संरक्षण र पर्यटनको अवधारणा अघि सारेका छौँ,’ खड्कवार नमुना सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर रानाले भने, ‘गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचालीमा परिवर्तन हुनाका साथै रहनसहनदेखि आर्थिक स्रोतमा पनि उल्लेख्य वृद्धि भएको छ ।’

बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको खड्कवारमा ‘संस्कृति र प्रकृति’ को संरक्षण, सम्वद्र्धन र विकासका लागि घरबासले अभियान सञ्चालन गरेको उनले सुनाए । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ । थारु, जनजाति, बाहुन र क्षेत्रीको मिश्रित बस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाँच देखाइने गरिएको अध्यक्ष रानाले बताए । स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र लोकल कुखुरा तथा खसीको मासु मात्रै प्रयोग गरिनु खड्कवार होमस्टेको विशेषता हो ।


लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट सहजै पुग्न सकिने भएकाले बाँकेका सामुदायिक होमस्टेमा आन्तरिक पाहुनाको चहलपहल बढ्दो छ । यहाँ लगानीसँगै होमस्टे र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको महासचिव चौधरीले बताए । उनका अनुसार गाभर भ्याली सामुदायिक होमस्टेकै च्यामा क्षेत्रका रुपमा अहिले च्यामामा पनि घरबास विस्तार भएका छन् । च्यामामा करिब एक करोडको लगानीमा गणेश चौधरीले सुविधा सम्पन्न रिसोर्ट प्रकारको घरबास सञ्चालनमा ल्याएका छन् । घरबासभन्दा अलि फरक तरिकाले अझ सुविधा सम्पन्न होटलका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । २०७० सालमा सुरु भएको बाँकेको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जनका लागि मात्रै नभई आयआर्जनका माध्यम बनेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया