विजय जुलुसको भिडियो माग्दा पोर्न भिडियो पठाएपछि…

काठमाडौं । ५ जेठमा दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीसँग गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् ।

काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र) का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर – ६ मा पनि सोही पार्टीबाट विजयी राजेन्द्रसिंह बोहरालगायतका भिडियो फुटेज म्यासेन्जरमै पठाए । विजय जुलुसको भिडियो फुटेज पठाउँदा उनले झुक्किएर एउटा पोर्न भिडियो पनि पठाए ।

उक्त पोर्न भिडियो थियो गाउँकै १७ वर्षीया युवतीको । जुन युवती पूर्णसिंहले नचिन्‍ने कुरै भएन ।

त्यसपछि उनले गाउँका अन्य युवाहरूलाई सोही भिडियो फरवार्ड गरे । अनि, उक्त पोर्न भिडियो भाइरल भएपछि रामसिंह र ती युवतीबीचको शारीरिक सम्बन्धबारे पोल खुल्यो ।

रामसिंह गाउँकै मालिकार्जुन आधारभूत विद्यालयमा कार्यरत छन् । ती युवती पनि सोही विद्यालयको पूर्वविद्यार्थी हुन् ।

तर, उनीहरूको पोर्न भिडियो सार्वजनिक भएपछि युवतीको बुबाले प्रहरीमा बलात्कारसम्बन्धी मुद्दामा ११ जेठमा उजुरी दिए । जाहेरीका अधारमा सोही दिन रामसिंह पक्राउ पनि परे ।

प्रहरीले घटनाबारे अनुसन्धान सकेर बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाले मङ्‍गलबार जिल्ला अदालतमा अभियोग पत्रसहित बलात्कार (जबर्जस्ती करणी) मुद्दा दर्ता गरेको छ ।

सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले अभियोगपत्र दर्ता गराउँदै रामसिंहविरुद्ध सजायको माग दाबी पनि गरेका छन् ।

तर, अभियोग पत्रमा जबर्जस्ती करणी नभई सहमतिमै करणी भएको आरोपी रामसिंहको जिकिर छ । उनका अनुसार कहिलेकाहीँ हेर्न भनेर पोर्न भिडियो पनि सहमतिमै खिचिएको हो ।

बयानमा उनले गाउँ नजिकैको रानी वनमा गत वर्षको मंसिरमा दुई दिन र पछिल्लो पटक ७ फागुन २०७८ मा गाउँकै एक जनाको गोठमा करणी गरेको बताएका छन् । युवतीले भने खेतबारीमा मल लगेर गएको अवस्थामा काम छ भन्दै रामसिंहले केही पर तान्दै गोठमा लगी बलात्कार गरेको बताएकी छन् ।

युवतीले बलात्कार भने पनि रामसिंहले चाहिँ युवतीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र फोनमा कुराकानी गरिरहने तथा भेट भएको मौकामा सहमतिमै शारीरिक सम्पर्क हुने गरेको बयान दिएका छन् ।– न्युज कारखाना

प्रतिक्रिया