पछाडिबाट छोएको भन्दै चिनियाँ महिलाले पुरुषलाई धकेलेपछि…

बेइजिङ । चीनको ताङ्सान सहरमा पुरुषहरूको एउटा समूहले महिलामाथि गरेको क्रुर आक्रमणको भिडियो भाइरल भएपछि ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसले सामाजिक सञ्जालमा आक्रोश निम्त्याएको छ र चीनमा लैंगिक हिंसाको बारेमा पुनः बहस सुरु भएको छ ।

एउटा रेस्टुरेन्टमा एक जना पुरुषले आफ्नो हात महिलाको पछाडि राख्दा महिलाले घचेटेपछि विवाद निम्तिएको थियो । ती व्यक्तिले महिलालाई निरन्तर हानेको र महिला भुइँमा ढलेको देखिन्छिन् । मानिसहरूको समूहले रेस्टुरेन्टमा सँगै खानेकुरा खान आएका ती महिलाका साथीहरूलाई पनि कुटेको भिडियोमा देख्न सकिन्छ ।

आक्रमणका कारण गम्भीर घाइते दुई महिलालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था स्थिर रहेको प्राप्त विवरणमा जनाइएको छ । अन्य दुई महिलालाई भने सामान्य चोट लागेको छ ।

आक्रमणमा संलग्न नौ जनालाई पक्राउ गरेको ताङ्सान प्रहरीले जनाएको छ । हमलाले शनिबार चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्चा भएको थियो । सरकारी टेलिभिनले दोषीलाई कडा सजायको माग गरेको छ ।

‘यस्तो घटना ममाथि पनि हुन सक्छ । हामीमध्ये कसैलाई पनि हुन सक्छ’, एक टिप्पणीकर्ताले पोस्ट गरेका छन्, उनको पोस्टमा १ लाखले लाइक गरेका छन् ।

प्रतिक्रिया