‘मौद्रिक नीतिले पुँजी बजारका गुनासो सम्बोधन गर्छ’

पुँजी बजार अध्ययन गर्न समिति गठन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका गुनासाहरु मौद्रिक नीतिले सम्बोधन गर्ने बताएका छन । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले मौद्रिक नीतिको बारेमा केही गुनासो र समस्या रहेको भन्दै त्यसलाई यथोचित सम्बोधन गर्ने बताएका हुन । उनले सेयर धितो कर्जाको लािग आवश्यक व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । बजार विकासको लागि नियमनकारी संस्थाबीच समन्वयनको खाँचो औल्याउदै अर्थमन्त्री शर्माले भने,‘नेपाल राष्ट्र बैंक, बोर्ड र बिमा समितिको समन्वयात्मक अन्तरसम्बन्ध हुनुपर्छ ।’

कार्यक्रममा पुँजी बजारको बर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको जानकारी पनि अर्थमन्त्री शर्माले दिए । ‘पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर चार सदस्यीय सुझाव समिति गठन गरेका छौं’ उनले भने ।

धितोपत्रबोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंक एक/एक जना प्रतिनिधि एवं बोर्डकै एक प्रतिनिधि सदस्य सचिव रहने गरी समिति गठन

बुधबार बिहान मन्त्रालयमा भएको छलफलपछि धितोपत्रबोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंक एक–एक प्रतिनिधि तथा धितोबार्ड बोर्डको एक प्रतिनिधि सदस्य सचिव रहने गरी समिति बनाइएको हो । सो अध्ययन समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पुँजी बजारमा देखिएको समस्या हल हुने अपेक्षा राखिएको छ ।

बोर्डको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक बर्ष ०७९–८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरेको स्मरण गराए । आगामी आबको बजेट बक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ नम्बर बुँदामा धितोपत्र सुधार, नियमन र सुपरिवेक्षणका बिषयहरु उल्लेख गरेको पनि मन्त्री शर्माले जानकारी दिए ।

धितोपत्रको दोस्रो बजारमा गैरआवासिय नेपालीलाई लगानी खुल्ला गर्न कानूनी व्यवस्था गर्ने, बैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने, एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काश गर्ने गरी सुचिकृत हुन लगाउनेलगायतको व्यवस्था बजेटमार्फत गरिएको छ ।

उनले पुँजीबजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए । उनले पुँजीबजारका बारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायलाई निर्देशन पनि दिए । ‘पुँजीबजार सम्बन्धि ज्ञान र बित्तीय साक्षरता हुनुपर्यो । तालिम दिन जनशक्ती परिचालन गर्नुपर्यो’ उनले भने,‘अहिले यो अपर्याप्त भएको छ । गाउँ गाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पुँजीबजारका बारेमा बुझाउने कुरामा कमी भएको छ ।’

पुँजीबजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधा गर्नुपर्ने, नविन प्रविधिको प्रयोग गरी सेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार संचालन हुनुपर्नेलगायतका बिषयमा उनले जोड दिए ।

कार्यक्रममा बोर्डका अध्यक्ष रमेश हमालले बोर्डले लगानीकर्ताको समस्या बुझेको बताएका थिए । उनले लगानीकर्ताको मनोविज्ञान उकास्न समेत आवश्यक रहेको बताएका थिए । लगानीकर्ताको समस्या बोर्डले बुझेको छ । हाल सेयर कर्जामा रहेको व्यवस्थाको विषयमा लगानीकर्ताबाट आइरहेको गुनासो मनन गरेको पनि उनले बताए । उनले अबको चार महिनामा साना तथा मझौला कम्पनीलाई छुट्टै कारोबार प्लेटफर्म तयार गरिने जानकारी दिए । अब आउने असोजसम्म वैदेशिक रोजगारीमा गएकालाई प्राथमिक सेयरमा छुट्याइएको १० प्रतिशत सेयर पाउने अवस्था बन्ने र गैर आवासीय नेपालीलाई यही अवधिभित्र बजारमा प्रवेश गराउने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया