नवलपुर । कावासोती नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयको विद्यालय सुधार योजना निर्माण तथा नेतृत्व विकाससम्बन्धि दुईदिने कार्यशाला आजदेखि सुरु भएको छ ।
कावासोती नगरपालिकाकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुको क्षमता विकासका लागि नेतृत्व विकास र विद्यालय सुधार योजना निर्माणसम्बन्धि कार्यशाला सुरु भएको हो ।
बिट्रीश काउन्सिल र कावासोती नगरपालिकाको साझेदारीमा सञ्चालित होल स्कूल डेभलपमेन्ट प्रोग्राम परियोजनाअन्तर्गत कार्यशालाको आयोजना गरिएको छ ।
आजदेखि दुई दिनसम्म चल्ने कार्यशालामा पालिका भित्रका ४० वटा सामुदायिक विद्यालयका विद्यालय व्यस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरु गरि १ सय २० जनाको सहभागिता रहेको छ । कार्यशाला प्रावि, निमावि र मावि तहको छुट्टाछुट्टै समूहमा सञ्चालन हुनेछ ।
परियोजनाले विगत दुई वर्षदेखि कावासोती नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरूको क्षमता विकास तालिमलगायतका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
यसैगरी कार्यशालाको एक समारोहका बीच आज उद्घाटन गरिएको छ । उदघाटन कार्यक्रम कावासोती नगरपालिका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको अध्यक्षता एवं कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख फूलकुमारी थनेत, कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ, बिट्रीश काउन्सिलको नेपालस्थित कार्यालयका कन्ट्री डाइरेक्टर साहिदा म्याक्डोल र ४० वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कावासोती नगरपालिकाका शाखा अधिकृत राजन पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण कावासोती नगरपालिकाका स्रोत शिक्षक एवं परियोजना संयोजक तिर्थराज कँडेलले गरेका थिए ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया