कोभिडले सौराहाका जनशक्ति पलायन

चितवन । तीन दशकभन्दा बढी समय सौराहाका होटल व्यवस्थापनमा बिताएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित भए । सौराहामा ३२ वर्षसम्म विभिन्न होटलको व्यवस्थापन हेरेका उनी कोभिडले होटल बन्द भएपछि पेसा नै छाडेर गाउँ फर्कन बाध्य भएको हो । ०४७ सालमा बाघमारा वाइल्डलाइफ रिसोर्टबाट व्यवस्थापनको काम थालेका देवकोटा सोही होटलमा २० वर्ष, रोयल टाइगर र होटल जंगल क्राउनमा पाँच/पाँच वर्ष व्यवस्थापकको भूमिकामा रहे ।

कोभिड बढेसँगै युनिक वाइल्ड रिसोर्टबाट ३२ वर्षको अनुभव अन्त्य गर्दै आफ्नै गाउँ गोरखामा फर्किएर कृषि काम थालेको उनले बताए । ‘अहिले म गोरखाको पालुंगटारमा भँैसी, बाख्रा र खेतीपातीमै भुलिरहेको छु ।’ देवकोटाजस्तै धेरैको रोजगारी कोभिडले खोसेको थियो । लामो समयसम्म अनुभव बटुलेका दक्षजनशक्ति विस्थापित हुँदा अहिले होटल सञ्चालनमा कठिनाइ भएको छ ।
क्षेत्रीय होटल संघका जिल्लाअध्यक्ष दीपक भट्टराईले ४० प्रतिशत दक्ष जनशक्ति कोभिडसँगै विस्थापित भएको बताए । कतिपय विदेशिएका छन् भने कतिपय स्वरोजगारीमा लागेका छन् ।

उनले भने, ‘काम गर्ने दक्षजनशक्ति पाउनै मुस्किल भयो ।’ अनुभवी कुक, वेटर, हाउस किपिङ, म्यानेजर, मालीजस्ता महत्वपूर्ण पदका कर्मचारी र मजदुर नपाउँदा होटल सञ्चालनमा नै कठिन भएको अध्यक्ष भटृराईले बताए । विभिन्न देशबाट आउने पर्यटकका लागि त्यसैअनुसारको खाना खुवाउनुपर्ने हुन्छ । भाषा पनि बुझ्नुपर्ने हुनाले सामान्य कर्मचारीलाई काम गर्न होटलमा कठिन हुन्छ । संघका पूर्वअध्यक्ष सुमन घिमिरेले धेरैले पेशा नै परिवर्तन गरेको बताए ।

उनले भने, ‘आवश्यकताअनुसार जनशक्ति पाउनै मुस्किल छ ।’ धेरैले स्वरोजगारका काम थालेका छन् । कतिपय कृषिमा लागेका छन् । गल्फ र अन्य देश जानेको संख्या पनि ठूलै रहेको घिमिरेले सुनाए । सौराहाको स्थानीय एक विद्यालयमा सिटिइभिटीको डिप्लोमास्तरको होटल म्यानेजमेन्टको पढाइ हुँदै आएको छ । केही होटलले त्यही जनशक्तिबाट काम चलाएका छन् । संघकै पहलमा कुक, वेटर, वेट्रेस, हाउस किपिङको पनि तालिम दिन लागिएको छ । सबैभन्दा ठूलो समस्या कुकको भएको व्यवसायीहरू बताउँछन् । पूर्णरुपमा काम जानेका जनशक्ति पाउन नै कठिन हुने गरेको सबैको गुनासो छ ।

संघका महासचिव गुणराज थपलियाले राम्रो जनशक्तिलाई जति रकम दिन्छुभन्दा पनि पाउन कठिन भएको बताए । बीचको समयमा फेरि कोभिड आउँछ कि भन्ने डरमा व्यवसायी रहेका थिए । अबका दिनमा होटल चल्छ भन्नेमा सबै पुगेका छन् । उनले भने, ‘काम गर्ने जनशक्ति हराए । खोज्दा पनि पाउन मुस्किल भयो ।’ पहिले होटलमा काम गर्नेहरू दुई वर्षसम्म बेरोजगार हुँदा फरक फरक पेशामा लागिसकेकाले फर्कन तयार नभएको महासचिव थपलियाले बताए । – रासस

प्रतिक्रिया