कृषि क्षेत्रमा कालोबजारीविरुद्ध आन्दोलनको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । अखिल नेपाल किसान महासंघले आन्दोलनको घोषणा गरेको छ । किसानले मल नपाएको, कृषि क्षेत्रमा कालोबजारी र सरकार मौन बसेको भन्दै आन्दोलन को घोपणा गरेको हो । सो संघका अध्यक्ष डा. प्रेम दंगालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको जानकारी दिए ।

उनले यतिवेला मुलुकको अर्थतन्त्र संकटको अवस्थामा पुगेको, अर्थतन्त्रका सबैजसो सूचकहरु नकारात्मक देखिन थालेको, दैनिक उपभोग्यवस्तु, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीमा चरम मूल्यबृद्धि भएको कारण अनियन्त्रित ढंगबाट महंगी बढेको, कृतिम अभाव सिर्जना भएको र महंगिले उपभोक्ता मारमा परेको भन्दै आन्दोलनमा जान बाध्य भएको बताए ।

अध्यक्ष दंगालले पहिलो चरणमा प्रधानमन्त्री, कृषिमन्त्री, प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीले प्राप्त गर्ने गरी ज्ञापनपत्र बुझाउने बताए । साथै, उनले मलको चरम अभाव र मूल्यवृद्धिको विषय तथा यसको प्रभावको बारेमा आम जनतालाई सुसूचित गर्नुपर्ने बताए ।

त्यसैगरी दोस्रो चरणमा सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गर्ने, विरोध र्याली र आमसभाहरुको आयोजना गर्ने उनको भनाइ छ ।

त्यस्तै, अध्यक्ष दंगालले मल आपूर्ति गर्ने नेपाल सरकारका निकायहरु साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनीका डिपोहरुमा तालाबन्दी गर्ने र स्थानीय समस्याहरु समेत उठाउँदै रचनात्मक ढंगले आन्दोलन गर्ने जानकारी दिए ।

प्रतिक्रिया