प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । शनिबारको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममाथि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो । त्यसक्रममा सांसद्हरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारकै दोस्रो बैठकमा जवाफ दिएका थिए । त्यसपछि सांसद्हरुले सोधेको स्पष्टीकरणको पनि जवाफ दिएका थिए ।

शनिबार नीति तथा कार्यक्रममाथि सांसद्हरुले राखेका संशोधन प्रस्ताव पनि निर्णयार्थ पेश भएको थियो । तर कुनै पनि संशोधन प्रस्ताव पारित हुन सकेका थिएनन् । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश भएको थियो । राष्ट्रिय सभाबाट शुक्रबार नै नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

प्रतिक्रिया